प्रस, वीरगंज, २९ असार/

नारायणी अस्पतालमा रहेको अस्पतालको फार्मेसीले स्वास्थ्य बीमा गराएका व्यक्तिलाई बिक्री गर्ने औषधिमा ठगिरहेको समाचार छ ।

स्वास्थ्य बीमा गराएका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार औषधि खरीद गर्न फार्मेसीमा जाँदा बजार मूल्यभन्दा दोबरमा फार्मेसीले बिक्री गरेको पाइएको छ । अस्पताल हाताभित्र रहेको फार्मेसी, साझा औषधिपसल र अस्पतालबाहिर रहेका निजी औषधिपसलमा एउटै औषधिको मूल्य फरकफरक भेटिएका छन् ।

केही वर्षअघि निजी औषधिपसलेले सर्वसाधारणलाई ठगेको गुनासोको आधारमा नेपाल सरकारले साझा औषधिपसल खोल्न लगाएको थियो । त्यसपछि देशभरिका अस्पताललाई फार्मेसी सञ्चालन गर्न अधिकार दिएको थियो । बिरामीहरू पनि ढुक्क भएर अस्पतालकै फार्मेसीबाट औषधि किन्ने गरेका छन् तर सुपथ मूल्यमा गुणस्तरीय औषधि बिक्रीको लागि खोलिएको अस्पतालको फार्मेसीबाट नै बिरामीहरू ठगिन थालेका छन् ।

अस्पतालको फार्मेसीमा आइआरएल ५०० एमएलको मूल्य प्रतिबोतल रु ६३ पर्छ भने साझा स्वास्थ्य सेवा पसलमा रु ६१ पर्ने गरेको छ । त्यस्तै, सोही औषधि निजी औषधिपसल विवेक मेडिकल हलमा रु ५३ पर्ने गरेको छ ।

निजी पसलमा केनुलाको मूल्य रु २० पर्छ भने साझाको पसलमा रु ३३ तथा नारायणीको फार्मेसीमा रु ४५ मा बिक्री भइरहेको बिरामीहरूले बताएका छन् ।

यस प्रकार सबै औषधिमा मूल्य बढाएर अस्पतालको फार्मेसीले बिरामीहरूलाई ठगिरहेको छ । अस्पतालको विकास र बिरामीहरूलाई थप आर्थिक भार नपरोस् भनेर खोलिएको अस्पतालको फार्मेसीले ठगीधन्दा शुरू गर्दा पनि सरोकारवाला निकाय मौन देखिएका छन् । ठगीबाट उठेको रकममा चिकित्सक र कर्मचारीहरूले भागबन्डा पाउने गरेको स्रोतले जनाएको छ ।

स्रोत अनुसार फार्मेसीमा काम गर्ने कर्मचारीहरूले बाहिरबाट लाखौं रुपियाँका औषधि आफैंले किनेर ल्याउने, प्रणालीमा प्रविष्ट नगर्ने, बिल पनि नदिने तर औषधि बिक्रीको रकम आफ्नो गोजीमा राख्ने गरेका छन् ।

हतारमा आएका बिरामीका कुरुवाले पैसा दिई औषधि लैजान्छन् तर कर्मचारीले बिल पनि दिंदैनन् ।

फार्मेसीका कर्मचारीहरूले दैनिक हजारौं रुपियाँ अवैध तरीकाले कमाइरहेको स्रोतको भनाइ छ ।

यस विषयमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले भने फार्मेसीमा औषधिको मूल्य फरक नरहेको बताए ।

फार्मेसीबाट स्वास्थ्य बीमा गराएका व्यक्तिलाई औषधि दिंदा नेपाल सरकारले बनाएको मापदण्ड तथा मूल्यसूची अनुसार औषधि बिक्री हुने गरेको दाबी गरे । उनले औषधिको मूल्य फरक भएको खण्डमा समस्या समाधानतर्फ लाग्र्ने बताए ।

1 COMMENT

  1. नेपाल सरकार विमा तोके मूल्य अनुसार विलिङग हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here