- राजेश मिश्र
“हेलो, भैया पानी के जार ले के हम आइल बानी, काँहवा राखाई ?” जवाफमा, “हम विवाह भवन में अभी नइखीं, बाजार में सामान किने आइल बानी, ओतही एक आदमी बाटे, रह उनकरा के हम फोन कर दे तानी ।” फोन राखेसँगै पुनः फोनको घण्टी बज्छ । हेलो भन्ने बित्तिकै उताबाट आवाज आउँछ, “दाजु हम बाँस आ खर ले के आवतानी । अपने के घर केने ओरी बाटे ?” वर्तमान समयमा फोनको सुविधा भएकोले माङ्गलिक कार्यहरूको व्यवस्थापन निकै सहज भएको छ ।
तिलक संस्कार, कथा मटकोर र विवाह गरी तीन चरणमा वैवाहिक संस्कार सम्पन्न हुन्छ । तिलक भनेको विवाहपूर्व बेहुली पक्षद्वारा बेहुलाको पूजापाठ गरी तिलक (चन्दन) लगाइन्छ । यद्यपि तिलक संस्कारको मर्म दाइजोजन्य संस्कारको रूपमा सामाजिक मनोविज्ञान स्थापित छ । तर यस्तो मनोविज्ञान किन स्थापित छ ? किनभने बेहुला पक्षद्वारा बेहुली पक्षसँग माग गरिएका सामग्री तिलकोत्सवमा दिनुपर्छ । तिलकोत्सवमा सहभागी मानिसहरूको ध्यान कथा पूजामा कम र सामग्रीतर्फ बढी केन्द्रित रहन्छ । त्यस कारण तिलकोत्सवको मूल तत्व दाइजोमा विलीन भएको छ ।
कथा मटकोरको दिन माडो (मडवा) छाउने र त्यसपछि सोही माडोमा साँझपख सत्यनारायण भगवान्को कथापूजा हुन्छ । कथापूजा सम्पन्न भइसकेपछि मटकोर हुन्छ । अघि–अघि तासा (स्थानीय लोकबाजा) बजाउँदै पेशाकर्मीहरू र पछिपछि गीत गाउँदै महिलाहरू जान्छन् । मटकोरमा माङ्गलिक गीतगारीसँगै महिलाहरूले विधिपूर्वक माटो खन्ने चलन छ । सत्यनारायण भगवान्को कथा र महिलाहरूद्वारा माटो खन्ने लोकपरम्परालाई संयुक्तरूपमा ‘कथा मटकोर’ भनिन्छ । कथा र मटकोर विवाह संस्कारभन्दा एक/दुई दिन अघि गरिन्छ ।
विवाहको हप्तौंअघिदेखि व्यवस्थापकीय व्यस्तता चुनौतीपूर्ण हुन्छ । वैवाहिक कार्यक्रम नितान्तरूपमा अभिभावकको चिन्ता र चासोको विषय हो । यद्यपि विवाह तय हुनुपूर्व र पछि गरी थुप्रै प्रकारका जिम्मेवारी निर्वाह गर्नुपर्छ । ती जिम्मेवारीहरू परिवार, आफन्तजन तथा समाजको भूमिकाविना पूरा हुन सक्दैन । सबैको साथ, सहयोग र भूमिकाले जीवनको नितान्त महत्वपूर्ण जिम्मेवारी सम्पन्न हुन्छ ।
टेन्ट, बत्ती, हलुवाइ, पुरोहित, बैन्डबाजा, सवारीसाधन, पूजन तथा खाद्यान्न सामग्रीका साथै डोम समुदायद्वारा निर्माण गरिएको बाँसका विविध उपक्रम तथा चमार समुदायको अति महत्वपूर्ण स्थानीय लोकबाजा ‘तासा’को संयोजन सनातन विवाह संस्कारको महत्वपूर्ण पाटो हो । विवाह संस्कारमा हुने आर्थिक गतिविधि समाजका विभिन्न तहतप्कासम्म पुग्छ । यसको अलावा विवाह संस्कारमा निमन्त्रण ग्रहण गरी सहभागिता जनाउने विभिन्न जातजातिका इष्टमित्रहरूले आशीर्वचन प्रदान गर्ने चलन साक्षीको रूपमा समुदायको उपस्थितिलाई दर्शाउँछ ।
स्त्री–पुरुषबीच विवाह संस्कार नितान्त प्राकृतिक सम्बन्ध हो । समाजलाई सुव्यवस्थित बनाउने उद्देश्यका साथ हाम्रा ऋषिमुनिहरूले नरनारीबीच विवाह संस्कार स्थापित गरेका थिए । त्यसअघि यौन दुराचार व्याप्त थियो । सदियौंदेखि स्थापित यस परम्परा अनुसार वैवाहिक लगनका महीनाहरूमा कतै छोरीको रूपमा घरबाट बिदाइ गरिन्छ भने कतै बुहारी/लक्ष्मीको रूपमा घरमा भिœयाउने क्रम निरन्तर छ ।
बच्चाहरू लड्दा वा सामान्य चोटपटक लाग्दा ह्दयमा आघात पुग्ने आमाबुबाहरूले काखी च्यापेर, औंला समातेर हुर्काएको छोरीलाई अर्काको हातमा सुम्पिदिनु चानचुने कुरा होइन । प्रकृतिको उद्देश्यपूर्ति तथा सामाजिक परम्परा निर्वहनको क्रममा उमेर पुगेपछि छोरीको विवाह र बिदाई गर्नै पर्छ । यो नितान्त प्राकृतिक र सत्यापित मार्ग हो ।
अपवादबाहेक बहिनीको विवाह र बिदाइ गरेको अनुभवभन्दा छोरीको विवाह र बिदाइ गर्नु फरक कुरो रहेछ । किनभने बहिनीको विवाहमा आर्थिक प्रबन्धनको जिम्मेवारी पूर्णरूपेण अभिभावकमा केन्द्रित रहन्छ । युवावर्ग खासगरी किनमेल वा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्छ ।
वैवाहिक संस्कार सम्पन्न गर्नेले थुप्रै प्रकृतिका जिम्मेवारी पूरा गर्नुपर्छ । विवाहको बन्दोबस्त गर्दागर्दै कसरी समय बित्छ भन्ने पत्तै हुँदैन । प्रथमतः बेहुला पक्षलाई बेहुली र बेहुली पक्षलाई बेहुला मन पर्नुपर्यो । दुवै पक्षबीच सहमति भइसकेपछि वैवाहिक क्रियाकलाप अघि बढ्छ । ब्राह्मणको सहभागितामा विधिवत्रूपमा विवाहको दिन तय हुन्छ । त्यसपछि दुवै पक्ष विवाहको तयारीमा जुट्छन् । बेहुली पक्षतर्फ बढी जिम्मेवारी हुन्छ । किनभने विवाह बेहुली पक्षको द्वारमा हुन्छ र वैवाहिक समारोहको सम्पूर्ण तयारी बेहुली पक्षको काँधमा हुन्छ ।
छोरीलाई पराया धन भन्ने गरिन्छ । किनभने एक न एक दिन छोरीको विवाह गर्नै पर्छ । कन्यादान गरी बिदाइ गर्नै पर्ने हुन्छ । छोरीको जन्मथलो र कर्मथलो फरक–फरक हुन्छन् । छोरीका लागि उपयुक्त बेहुला खोज्न धेरै अनुसन्धान गरिन्छ । त्यसपछि विवाहको निधो गरिन्छ । सनातन संस्कृतिमा वैवाहिक संस्कारको सन्दर्भमा थुप्रै प्रकारका नियम, विधि र व्यवस्था रहेका छन् । बेहुला र बेहुलीको कुण्डली र त्यसमा ग्रह–गोचरको अवस्था अध्ययन गरिन्छ । विशेषगरी मङ्गलदोष, दाम्पत्य सुख र सन्तान सुखबारे निक्र्योल गरिन्छ । सनातन संस्कृतिमा विवाहका प्रत्येक चरण ज्योतिष विद्यामा आधारित छन् ।
उहिले विवाह संस्कारमा नियम र विधि पूर्णरूपेण ग्राह्य थियो । समयको गतिसँगै मानिसहरू व्यस्त हुँदै गइरहेका छन् र शास्त्रहरूमा उल्लिखित विधि र नियमहरू कोरम पु¥याउने कार्यमा सीमित हुँदै गइरहेका छन् । एउटा प्रचलित हिन्दी लोकोक्ति नै छ– मानो तो देव नहीं तो पत्थर । आजभोलि अध्ययनविनाका विश्लेषण गर्ने वैज्ञानिक र वकीलतुल्य कुरा काट्ने मानिसहरूको समाजमा कमी छैन । हिन्दू धर्म अन्तर्गत विधि र नियमपूर्वक हुने विवाह अद्भुत मात्र होइन, वैज्ञानिकतामा आधारित छ ।
विवाह संस्कारमा बेहुलीको कन्यादान गरी बेहुलालाई सुम्पिइन्छ । रीतपूर्वक बेहुलीको बिदाइ गरिन्छ । त्यसपछि सवारीसाधनमा सवार भई बेहुलासँगै बेहुली ससुराघर जान्छिन् । जन्मदेखि बिहेसम्म आफ्नो हरेक दुःख–सुख, तीता–मीठा अनुभवहरू साझा गर्ने गरेकी छोरीको जस्तोसुकै समस्यामा निस्स्वार्थ भावका साथ परिवारले ख्याल राख्छ । एकअर्काबीच अनन्त माया प्रवाहित भइरहन्छ । तर विवाहसँगै अभिभावक र परिवारलाई छाडेर अपरिचित घरमा जीवन निर्वाह गर्ने अवस्था आउँछ । भनिन्छ, छोरी मान्छेको तीन प्रकारले जन्म हुन्छ– (१) आमाको गर्भबाट जब जन्म हुन्छ, (२) विवाहपश्चात् जब दाम्पत्य जीवन शुरू हुन्छ र (३) स्वयम् जब आमा बन्ने समय आउँछ ।
विवाह संस्कारको सबैभन्दा भावविह्वल पल हो, बेहुलीको बिदाइ । आफ्ना आमाबुबाको असीम माया पाएकी छोरी, जसविना विवाहसम्म बाँच्न शायद असम्भव थियो । आफू जन्मेको, हुर्केको र आफ्नो जीवनको महत्वपूर्ण अंश बिताएको घर छोडेर जानुको पीडा एउटी छोरीले मात्र बुझ्न सक्छिन् । यही कारण हो कि बिदाइको बखत छोरीहरूको आँखा छल्किन्छ । छोरीको आँखाको अश्रुधाराको तरङ्ग त्यहाँ उपस्थित आमाबुबा, परिवार, आफन्तजनसम्म पुग्छ । कसैले आफ्नो आँखाको अश्रुधारा रोक्न सक्दैन । छोरीको बिदाइको बखत माहोल भावविह्वल बन्छ ।
एकातिर बेहुलीमा जीवनसाथी पाउन र घर सजाउने भावना हुन्छ भने अर्कातिर आफ्ना आमाबुबा र परिवारका सदस्यहरूको माया, स्नेह र प्रेमको कारण बिदाइको समयमा मनको दुःख आँसुको रूपमा निस्कन्छ । अवस्था जस्तोसुकै भए तापनि विवाह र जीवनको नयाँ सुरुआत प्रकृतिप्रदत्त नियम हो । अन्ततः समयक्रमसँगै माइतीभन्दा पतिको घर आफ्नो लाग्न थाल्छ ।
“बाबुल की दुवाएँ लेती जा, जा तुझको सुखी संसार मिले …” यो सुमधुर गीत सन् १९६८ मा रिलिज हिन्दी फिल्म ‘नीलकमल’को हो । वैवाहिक समारोहको अत्यन्तै कारुणिक परिदृश्य हो, छोरीको बिदाइ कार्यक्रम । उपरोक्त गीतमार्फत आमाबुबाद्वारा छोरीलाई असीम आशीर्वचनका साथ बिदाइ गरिएको परिदृश्य दर्शाइएको छ । झन्डै साढे पाँच दशकअघिको यस गीतमा छोरीप्रति आमाबुबा तथा घरपरिवारको स्नेह जोडिएको छ । लोक परम्परा, संस्कार र संस्कृतिलाई फिल्म, गीत, आलेख वा विभिन्न माध्यमबाट जीवन्तता प्रदान गर्ने गरिन्छ ।
२०८० जेठ १८ गते जेठी छोरीको विवाह गरी जीवनको अति महत्वपूर्ण जिम्मेवारी निर्वाह गरियो । कन्यादान गरियो । यससँगै असीमित जिम्मेवारीहरूसँग सूक्ष्मताका साथ साक्षात्कार गर्ने अवसर जु¥यो । घरपरिवार, आफन्तजन तथा इष्टमित्रहरूको साथ र सहयोगले छोरीको विवाह संस्कार सुव्यवस्थित तरीकाले सम्पन्न भयो । छोरीको दाम्पत्य जीवन सदा सुखमय र खुसमय रहोस् ।