प्रस, वीरगंज, २७ असार/

ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरूले तेस्रो वर्षको परीक्षाको क्रममा रामराजा बहुमुखी क्याम्पस, कलैया र सिमरा कलेजमा भइरहेको परीक्षाको बहिष्कार कार्यलाई निरन्तरता दिएका छन् ।

स्नातक तहको परीक्षा ठाराब क्याम्पसमा हुनुपर्ने माग राख्दै आएका विद्यार्थीहरूको माग यस वर्ष पनि सम्बोधन भएको थिएन ।

त्रिविवि केन्द्रीय परीक्षा समितिले ठाराब क्याम्पसको आग्रहलाई नजरअन्दाज गरेको र कलैया तथा सिमरामा सेन्टर राखिएको अवस्थामा यस वर्ष परीक्षाको पहिलो दिन नै बिएड तेस्रो वर्षको परीक्षा दिएर फर्कने क्रममा पर्सा जिल्लाका ठाराब क्याम्पसमा अध्ययनरत विजय शर्माको नितनपुरमा मोटरसाइकल दुर्घटना भएर निधन भएको थियो ।

सोको विरोधमा पर्सा जिल्लाका संयुक्त विद्यार्थी सङ्गठनले विरोध गर्दै आएको छ र परीक्षा बहिष्कार गरेको छ । घटनाको दिन वीरगंजमा प्रदर्शन गरेको र घटनाको भोलिपल्ट यहाँका शैक्षिक संस्था बन्द गराएको संयुक्त विद्यार्थी सङ्गठनले हिजो र आज कलैया र सिमरामा परीक्षा बहिष्कार गरेको छ ।

परीक्षा बहिष्कारको क्रममा हिजो मङ्गलवार ८० जना परीक्षार्थी अनुपस्थित रहेका र आज सो सङ्ख्यामा वृद्धि भएको ठाराब क्याम्पस नेविसङ्घका पूर्व एकाइ अध्यक्ष मनोज साहले बताए । उनले हिजो संयुक्त विद्यार्थी सङ्गठनका सातजनालाई परीक्षा बहिष्कार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, सिमराले पक्राउ गरी चार घण्टापछि रिहा गरेको तथा आज रामराजा बहुमुखी क्याम्पस, कलैयामा परीक्षा बहिष्कार गर्ने क्रममा सङ्गठनका दुईजनालाई जिल्ला प्रहरी कार्यालय, बाराले पक्राउ गरेको बताए ।

यसैबीच, ठाराब क्याम्पसका प्रमुख रञ्जीतप्रसाद यादवले आज विज्ञप्ति प्रकाशित गरेर केन्द्रीय परीक्षा समितिलगायत जिल्लास्तरका सबै निकायलाई वीरगंजमा नै ठाराब क्याम्पसको परीक्ष्Fा सञ्चालन गर्न दिगो र सुनिश्चित समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् । उनले विद्यार्थीहरूको माग केन्द्रीय परीक्षा समितिलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

क्याम्पस प्रमुख यादवले आफू क्याम्पस प्रमुख हुनुअगावै ठाराब क्याम्पसको परीक्षा बाहिरी जिल्लामा हुँदै आएको र होम सेन्टरका लागि आफूले पटक–पटक प्रयास गर्दै आएको बताए । उनले ठाराब क्याम्पसको परीक्षाको लागि वीरगंजमा रहेका कुनै पनि निजी तथा सामुदायिक क्याम्पसले जिम्मेवारी नलिएको र ठाराब क्याम्पसले नै होम सेन्टरमा परीक्षा लिन तत्परता देखाउँदा पनि केन्द्रीय परीक्षा समितिले बेवास्ता गरेको बताए ।

स्नातक तहको परीक्षा कलैया र सिमरामा भइरहे पनि स्नातकोत्तर तह अन्तर्गतका एमबिएस, एमएड र एमएस सोसलोजीको परीक्षा भने ठाराब क्याम्पसमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here