• डा शिवशङ्कर यादव

औषधि त्यसलाई भनिन्छ, जसले शरीरभित्र गएपछि एक वा बढी अङ्गको कार्यमा परिवर्तन ल्याइदिन्छ । मनोप्रभावी औषधि ती हुन्, जसले मस्तिष्कको कार्यलाई कम वा बेसी मात्रामा प्रभावित गर्छन् । यो औषधि नै हो, जसको उचित मात्राको प्रयोगले रोगलाई निको पार्छ र यो औषधि नै हो, जसको जथाभावी प्रयोगले जहरको काम गर्छ । त्यसैले त भनिन्छ कि औषधि नै विष र विष नै औषधि हो । सर्पदंशको उपचार त सर्पको विषबाट नै गरेको दिनहुँ हामीले देख्छौं । यो विष शरीरमा चार प्रकारले परिलक्षित हुन्छन्– १. एक्युट इन्टोक्सिकेशन अथवा औचक विषाक्तता, यो एक्कासि भएको विषाक्तता हो, जो एकैपटक धेरै मात्रामा मनोप्रभावी औषधि लिएपछि मानिसको चेतनाशक्तिमा प्रभाव पार्छ । यो उपचार अथवा औषधि लिन बन्द गरेपछि मानिस फेरि पूरै ठीक हुन्छ अथवा पछिसम्म पनि केही असर छाडेर जान सक्छ । २. विथड्रवल स्टेट अथवा औषधि छाडेमा हुने अवस्था, यो त्यो अवस्था हो, जो मानिसले खाइरहेको औषधि छाडेपछि देखिन्छ, जसमा हातखुट्टामा कम्पन, चक्कर आउने, भोक नलाग्नेदेखि छारेरोगसमेत देखिन सक्छ । ३. डिपेन्डेन्सी अथवा निर्भरता ः जब मानिसले साइकोएक्टिभ औषधि लामो अवधिसम्म खाइराखेको हुन्छ, तब उसको त्यस औषधिमा निर्भरता यति विघ्न बढ्छ कि मानिसले त्यसलाई नखाई रहनै सक्दैन । मानिस त्यसलाई खोज्न जस्तोसुकै उपाय गर्छ । ४. हार्मफुल प्रयोग ः तपाईंलाई केही समयपछि कार चलाउनु छ । तापनि तपाईंले पार्टीमा इच्छाभरि रक्सी खान छोड्नुहुन्न । नतीजा दुर्घटना हुन्छ । यही हार्मफुल युज अथवा जानीजानी नोक्सानदेह प्रयोग हो ।

अब कुरा उठ्छ कि यस्ता साइकोएक्टिभ औषधि कुन कुन हुन ताकि हामी सावधानी अपनाउन सकौं । ती हुन्– अल्कोहल अथवा रक्सी, ओप्वायड अथवा अफिमले बन्ने औषधि, कानाविन्वायड अथवा गाँजा र भाङ्गले बनेका औषधि, कोकेन, एम्फेटामिन, एलएसडी, सिडेटिभ र हिप्नोटिकहरू अर्थात् शान्त पार्ने र मोहित पार्ने औषधि, भोलाटाइल घोलहरू, निकोटिन तथा अर्का उत्तेजकहरू जसरी कैफिन आदि ।

अल्कोहलको स्थान सर्वप्रथम आएको छ किनभने अल्कोहल मात्र यस्तो विष हो, जसले दुनियाँभरिमा सामाजिक स्वीकृति पाएको छ । हाम्रो नेपालमा त यो उखान प्रचलित छ– ‘सूर्य अस्त, नेपाल मस्त ।’ अमेरिकाको पानपसलमा जसरी बन्दुक पाइन्छ, त्यसरी नै हामीकहाँ रक्सी पाइन्छ । मेरो गाउँँका प्रत्येक पसलमा नवयुवक सामान लिन आउँछन् र एक पाउच त्यहीं गटकेर जान्छन् । रोचक त यो छ कि दुनियाँका प्रत्येक महान् पुरुषले यसको विरोध गरेका छन् तर यसको लत दिनदिनै बढि नै रहेको छ । गाँधीको नक्शे कदममा चलेर नितीश कुमारले शराबबन्दी गरेका छन् तर त्यसै बिहारमा विषाक्त रक्सी खाएर दिनहुँ मानिस मरि रहेका छन् । एक त रक्सी आफैं विष हो । त्यसमा पनि विषाक्त रक्सी कस्तो होला कल्पना गर्न सकिन्छ । आज यसै रक्सीको बारेमा विस्तृत वर्णन गरौं । रक्सीले मस्तिष्कमा मात्र होइन, शरीरका अन्य अङ्गमा पनि नराम्रो असर पार्छ । यो लेख केवल मनोरोगसम्बन्धी भएपनि अल्कोहलका सबै आयामको यहाँ वर्णन गरिनेछ । अल्कोहल औषधि कसरी हो भन्ने कुरा त यसैले थाहा हुन्छ कि प्रायः औषधिहरू अल्कोहल बेसमा बनाइन्छन् अर्थात् लगभग सबै औषधिमा अल्कोहल हुन्छ, जसलाई एक शाकाहारीले पनि खुशी खुशी खान्छ । मैले विगतमा विवरण दिनुभन्दा पहिले उदाहरण दिएर सम्झाउने कोशिश गरेको थिएँ । अतः यसमा पनि एउटा उदाहरणले नै शुरू गरौं ।

मेरो गाउँको एक नवयुवक धेरै कुशाग्र थियो । उसको बिहे भयो र दुर्दिन शुरू भयो । फ्रस्टेसनले उसले रक्सीलाई अँगाल्यो । भनिन्छ कि पहिले मानिसले रक्सीलाई खान्छ पछि रक्सीले मानिसलाई खान्छ । नवयुवक अब रक्सीविना रहन नै नसक्ने स्थितिमा पुग्यो । हुँदाहुँदा खाली पेट बिहानै रक्सी खान शुरू गर्यो । केही दिनमा उसको कलेजो खराब भयो । लिभर सिरोसिसले पहिले पेट र फेरि पूरै शरीर नै बीभत्स तरीकाले पानी भरिएर फुल्यो । त्यस्तोमा हतपत सबैलाई चढाउने रगत पनि चढाउन सकिंदैन । त्यसको उपचार लिभर ट्रान्सप्लान्टेशन हो, जुन नेपालमा उपलब्ध थिएन । एक चिकित्सकले साधारण रोगको जस्तो रगत चढाइदियो । नवयुवक जो स्पेशल रगतले केही दिन बाँच्न सक्थ्यो, मर्यो ।

रक्सी निम्नलिखित प्रकारका हुन्छन्ः अब्सोल्युट अल्कोहल, जसलाई शुद्ध अल्कोहल पनि भनिन्छ, यसमा ९९.९५ अल्कोहल हुन्छ । त्यस्तै, रेक्टिफायड स्प्रिटमा ९५ प्रतिशत, ह्वीस्कीमा ४० देखि ५० प्रतिशत, रममा ५१ देखि ५९ प्रतिशत, ब्रान्डीमा ४० देखि ५० प्रतिशत र बियरमा दुईदेखि छ प्रतिशत अल्कोहल हुन्छ ।

अल्कोहलले गर्दा विश्वमा तीन मिलियनभन्दा बढी मानिसको मृत्यु हुन्छ । जुन क्षयरोग, एड्स र मधुमेहबाट हुने मृत्युभन्दा पनि बढी हो । अल्कोहलले गर्दा २८.५ प्रतिशत दुर्घटनाले, २१.३ प्रतिशत पेटको रोगले र १९ प्रतिशत कार्डियोभास्कुलर रोगले मृत्यु हुन्छ । विश्वमा करेन्ट अल्कोहोलिकको सङ्ख्या २.३ मिलियन छ भने परकैपिटा अल्कोहलको खपत ५.५ लिटर छ । अमेरिका र युरोपमा दुनियाँमा हुने खपतको आधाभन्दा बढी खपत हुन्छ ।

एक्युट अल्कोहोलिक इन्टोक्सिकेशनः  यसको मतलब कोही मानिस जो सिकारु छ र कम अन्तरालमा कम्ती मात्रामा लिए पनि बढी भएको हुनाले वा एकैचोटि आवश्यकताभन्दा बढी मात्रा पिएपछि हुने अवस्था हो यो । यसमा सर्वप्रथम मानिसलाई खुशी, आत्मसन्तुष्टि र फुर्ती जस्तो महसूस हुन्छ । मुख र छालाको फ्लसिङ हुन्छ तथा मानिस अत्यधिक स्वतन्त्र व्यवहार गर्न पुग्छ । त्यसपछि बिस्तारै आत्मनियन्त्रण समाप्त भई मानिस धेरै बोल्न थाल्छ, जुन बढ्दै गएर रूखो व्यवहार, उदासी हुने, क्रोधित हुने, वादविवादमा परिणत हुन्छ । त्यसपछिको अवस्थामा भ्रम, सुस्त ग्रहणशक्ति, मांसपेशीको तारतम्य नमिलेको, मधुरो आवाज, अस्पष्ट दृष्टि र एक प्रकारको मूर्छा हुन्छ । यो अवस्था रक्सी बन्द गरेपछि केही समयमा ठीक हुन्छ, जुन बान्ताको रूपमा देखा पर्छ । त्यसलगत्तै निद्रा लाग्छ, तीव्र टाउको दुखाइ र ग्यास्ट्रिक गडबडीले समात्छ । यो त भयो ठीक हुने कुरा तर ठीक नहुन पनि सक्छ ।

त्यस्तो अवस्थामा मानिस बिस्तारै बेहोश हुन्छ, कहिलेकाहीं हाइपोग्लासिमियाँ, खास प्रकारको श्वासप्रश्वास, धडकन बढ्दै जाने, सासबाट अल्कोहलको दुर्गंन्ध आउने, आँखाको नानी पहिले त फैलिने तर पछि सङ्कुचित हुने हुन्छ । यदि लाइट आँखामा बालियो र नानीमा प्रतिक्रिया आयो भने यो राम्रो लक्षण हो तर प्रतिक्रिया नआए हालत नाजुक छ भने बुझिन्छ । यसको अलावा सिर जता घुम्छ, त्यतै आँखा पनि घुम्छ, जसलाई अल्कोहोलिक गेज निस्टेग्मस भनिन्छ । मृत्यु भयो भने त्यो रेसपिरेटरी मांसपेशीको पारालिसिस भएर एसफिक्सियाले हुन्छ । अति धेरै मात्रा खाएपछि मृत्यु एक्कासि पनि हुन सक्छ । कहिलेकाहीं मृत्युभन्दा पहिले कपकपी हुन्छ, जसलाई मानिसले बाँच्ने आशाको रूपमा लिन्छ तर मानिस त्यसपछि शान्त हुन्छ अथवा मृत्यु हुन्छ । अक्सर एकजना मानिसले १५० देखि २०० मिली शुद्ध रक्सी लिएपछि त्यो मृत्युकारक हुन्छ, जुन १२ वर्ष कम्ती उमेरमा ६० मिलीमा नै देखिन्छ । तापनि यो बानी उमेर र मात्रामा निर्भर गर्छ । मृत्यु अक्सर १२ देखि २४ घण्टामा हुन्छ अथवा कहिलेकाहीं मिनेटमा वा कहिलेकाहीं पाँच दिनसम्ममा हुन्छ । यसको उपचारको लागि पेटमा भएको सबै खानालाई लभाज अथवा बाहिर निकालिन्छ पाइपद्वारा तर यसमा बान्ता गराउने औषधि दिएर खाना निकाल्ने प्रयास बिल्कुल गर्नुहुँदैन । यसमा शरीरको तापक्रम कम भएर जान्छ र सोको लागि कम्बल ओढाएर शरीरको तापक्रम बढाइन्छ । त्यसपछि स्ट्रङ कफी मुख अथवा एनिमाले दिइन्छ । यसमा एसिडोसी हुन्छ, त्यसलाई रोक्न सोडिवाइकार्ब चार ग्राम मात्रामा दिइन्छ । १० प्रतिशत ग्लुकोजको १००० मिलीमा १५ युनिट इन्सुलिन, २०० मिलीग्राम भिटामीन बी१ र नियासिनामाइड तथा १००० मिलीग्राम भिटामीन सी मिलाएर दिइन्छ । यसको अलावा निरन्तर आक्सिजन दिनुपर्छ । यदि मानिसमा बेचैनी छ भने मिफेन्सिन नामक औषधि र ब्रेनमा सुजन छ भने मैनिटोल नामक औषधि नसाबाट दिइन्छ । याद राख्नुपर्ने कुरा यो पनि छ कि यस्ता रोगीको उपचार सधैं आइसियूमा राखेर गर्नुपर्छ ।

क्रोनिक इन्टोक्सिकेशन ः यस्तो रक्सीको बानी परेको मानिसमा हुन्छ र भित्रैभित्र मानिसमा मानसिक गडबडी गराएको देखिन्छ । यस्तो मानिसले रक्सी त तनाव कम गर्नको लागि लिन्छ तर त्यही उसको बानीमा परिणत भएर छाडन नसकिने नोक्सानदायक रूप लिन्छ । अक्सर यस्तो मानिसको पूर्वइतिहास र वैवाहिक जीवन सुखद हुँदैन । । क्रोनिकमा मानिसमा भोक कम लाग्ने, बिहानैबिहान बान्ता वा बान्ता होला जस्तो हुने, पखाला चल्ने, निद्रा नलाग्ने, स्मरणशक्ति र निर्णय क्षमता कमजोर हुने, हात र जिब्रोमा कम्पन हुने, रगतमा प्रोटिनको मात्रा कम हुने, पेटमा पानी भरेर फुल्ने र यहाँसम्म कि पूरै शरीर नै सुनिने, हातखुट्टा झमझमाउने र आखिरमा डिमेन्सिया अथवा संसारको बोध नहुने कुराले समात्छ र मानिस कोमामा गएर मर्छ । यसको उपचारमा  रोगीलाई लत लागेको हुनाले रक्सी छुटाउन कठिन हुन्छ तर सकेसम्म त यो गर्नैपर्छ । टेट्राइथाइल डाइसल्फाइड नामक औषधि यस कारण दिइन्छ कि यसले अल्कोहलको मेटाबोलिज्म नै हुन दिंदैन तर यसमा खतरा यो छ कि यदि मानिसले योसँगै अलिकति पनि रक्सी लियो भने लेनाको देना पर्छ । दुवै मिलेर पल्पिटेशन बढाइदिने, बान्ता गराउने, थ्रोम्बिङ पेन र चक्कर आउने हुन्छ, जुन धेरै दिनसम्म चल्छ । यसको अलावा टेम्पोसिल दुई मिलीग्राम सिङ्गल डोज दिनहँु र एन्टिडिप्रेसेन्ट तथा सन्तुलित आहारको साथै बढी मात्रामा भिटामीनहरू दिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here