- राजेश मिश्र
“जय माता दि …”को गुञ्जले वीरगंज धार्मिकमय भएको थियो । असार ५ गते मङ्गलवारको दिन वीरगंजमा भक्तजनहरूको ताँती हेर्न लायक थियो । गहवामाताको मन्दिरको पुरानो स्वरूप नयाँ स्वरूपमा परिणत भएको ११ वर्ष भयो । सोही अवसरमा ५ गते रथयात्रा र ६ गते भण्डारा आयोजन गरिएको थियो । भक्तजनहरूको उत्साह र उमङ्ग शब्दमा वर्णन गर्न सकिन्न । वीरगंजको लागि यो ऐतिहासिक अवसर थियो ।
अब लागौं मूल प्रसङ्गतर्फ । सनातन संस्कृतिमा देवीदेउता, पूजापाठ, जपतप, सत्य वचन र शुद्ध जीवन आदिको विशेष महत्व छ । वर्तमान परिवेशमा फोटो खिच्ने र सामाजिक सञ्जालमा तुरुन्तै पोस्ट गर्ने प्रचलन ह्वात्तै बढेको छ । मोबाइल र इन्टरनेट जस्ता आधुनिक संसाधनले धार्मिक समारोहहरूमा मानिसहरूको स्वस्फूर्त उपस्थिति बढाएको छ । यो सकारात्मक पक्ष हो । यद्यपि आफ्नो धर्म–संस्कृतिको बारेमा चासो राख्नु र अद्यावधिक हुनु पनि उत्तिकै जरुरी छ । के तपाईंलाई थाहा छ कि सनातन धर्ममा कति प्रकारका संस्कारहरू हुन्छन् ? ‘भ्यालेन्टाइन डे’ जस्ता विभिन्न प्रकारका पश्चिमा ‘डे’हरूको अवसरमा देखासिकी पोस्ट गर्ने पुस्ताले आफ्नै सनातन संस्कृतिको वैज्ञानिक महत्वबारे जानी राखौं ।
सनातन संस्कृति एक शाश्वत, प्राचीन र विज्ञानमा आधारित हिन्दू धर्म हो । सनातन संस्कृति हिन्दू धर्मका ऋषिमुनिहरूद्वारा स्थापना भएको मान्यता छ । यसको उत्पत्ति पूर्णतया वैज्ञानिक अवधारणामा आधारित छ । सनातन संस्कृतिको उद्गम भएको धेरै वर्षसम्म धर्तीमा न विज्ञान न वैज्ञानिकहरूको कुनै अस्तित्व थियो ।
प्राचीनकालमा हरेक कार्य संस्कारबाट शुरू हुन्थ्यो । त्यस बेला मानवीय जीवनमा ४० प्रकारको संस्कार ग्राह्य थियो । गौतम स्मृतिमा ४० प्रकारका संस्कार उल्लेख रहेको पाइन्छ । महर्षि अङ्गिराले यसको अन्तर्भाव २५ संस्कारमा समेट्नुभएको छ । व्यास स्मृतिमा १६ वटा संस्कारको वर्णन गरिएको पाइन्छ । त्यसैगरी, विभिन्न धार्मिक ग्रन्थहरूमा पनि मुख्यतया १६ वटा संस्कारको व्याख्या गरिएको पाइन्छ ।
१६ संस्कारमध्ये पहिलो गर्भाधान संस्कार र अन्तिम अथवा १६औं संस्कार अन्त्येष्टि अर्थात् अन्तिम संस्कार हो । गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण यी सबै संस्कार नवजात शिशुको ईश्वरीय संसारसँगको सम्बन्ध स्थापित गर्नका लागि गरिन्छ । नामकरणपछि चूडाकर्म र यज्ञोपवीत संस्कार हुन्छ । यसपछि विवाह संस्कार गरिन्छ । विवाह संस्कार गृहस्थ जीवनको सबैभन्दा महत्वपूर्ण संस्कार हो ।
गर्भाधानदेखि शिक्षाको प्रारम्भसम्मका संस्कारलाई गर्भ संस्कार पनि भनिन्छ । यिनमा पहिलो तीन (सङ्कल्पना, पुंसवन, सीमन्तोन्नयन)लाई अन्तरगर्भ संस्कार भनिन्छ र त्यसपछिका छवटा संस्कारलाई बहिरगर्भ संस्कार भनिन्छ । गर्भ संस्कारलाई दोष मार्जन वा शोधक संस्कार पनि भनिन्छ । दोष मार्जन संस्कारको अर्थ बच्चाको पूर्वजन्मबाट धर्म र कर्मसँग सम्बन्धित दोषहरू र गर्भमा हुने विकृतिहरू हटाउनका लागि अन्तर्गभ संस्कार गरिन्छ । पछिल्ला छवटा संस्कारलाई गुणधन संस्कार भनिन्छ ।
प्रारम्भिककालमा हिन्दू समाजमा गुरुकुल शिक्षा प्रणाली अनुसार शिक्षा प्रदान गरिन्थ्यो । गुरुकुल शिक्षा प्रणालीमा संस्कारहरूका बारेमा ज्ञान प्रदान गरिन्थ्यो । १६ संस्कारलाई हिन्दू धर्मको जरा भनिन्छ । जरा शक्तिशाली भएपछि नै हाँगाबिंगा, पात–पतिङ्गर र फलफूल आदि परिकल्पनाअनुरूप फस्टाउँछ । जरामा कीरा लागेपछि जति स्याहारसुसार गरे पनि न रूखबिरुवा फस्टाउँछ, न राम्रो फलको आस गर्न सकिन्छ । सनातन संस्कृतिमा जन्मेदेखि मृत्युसम्म गरी मनुष्यको जीवन १६ संस्कारमा निहित छ । यी १६ संस्कार निम्न अनुसार छन्–
१. गर्भधान संस्कारः
शास्त्रहरूमा मान्यताप्राप्त १६ संस्कारमध्ये गर्भाधान पहिलो संस्कार हो । यो संस्कारलाई गृहस्थ जीवनमा प्रवेश गरेपछिको पहिलो कर्तव्य मानिएको छ । गृहस्थ जीवनको मुख्य उद्देश्य श्रेष्ठ सन्तानोत्पत्ति हो । असल सन्तान प्राप्त गर्न चाहने मातापिताहरूले गर्भाधानपूर्व शरीर र मनको स्वच्छता र शुद्धताको लागि यो संस्कार अवलम्बन गर्नुपर्छ । वैदिककालमा यो संस्कार निकै महŒवपूर्ण मानिन्थ्यो ।
२. पुंसवन संस्कारः
गर्भस्थ शिशुको मानसिक विकासको दृष्टिकोणले यो संस्कार उपयोगी मानिन्छ । गर्भधारणको तेस्रो महीनामा यो संस्कार गर्ने विधान छ । हाम्रा ऋषिमुनिहरूले सन्तानोत्कर्षको उद्देश्यले गर्ने यो संस्कारलाई अनिवार्य मानेका छन् । गर्भस्थ शिशुसँग सम्बन्धित यो संस्कार शुभ नक्षत्रमा गरिन्छ । पुंसवन संस्कारको उद्देश्य स्वस्थ र उत्तम सन्ततिको जन्म दिनु हो । विशेष तिथि र ग्रहको गणनाको आधारमा मात्र गर्भधारण गर्नु उचित मानिन्छ ।
३. सीमन्तोन्नयन संस्कारः
गर्भधारणको छैटौं वा आठौं महीनामा सीमन्तोन्नयन संस्कार गरिन्छ । यस महीनामा गर्भपतन हुने सम्भावना धेरै हुन्छ वा यी महीनाहरूमा अविकसित शिशु जन्मने धेरै सम्भावना हुन्छ । गर्भवती महिलाको स्वभाव, उठ्ने, बस्ने, हिंड्ने, सुत्ने आदिमा परिवर्तन ल्याउने विधि छन् । चिकित्सा विज्ञानले पनि महिलाहरूलाई यी महीनाहरूमा विशेष सावधानी अपनाउन सल्लाह दिन्छ । यो भ्रूणको विकास र स्वस्थ बच्चाको लागि आवश्यक छ । यो संस्कारको मुख्य उद्देश्य गर्भस्थ शिशु र गर्भवती महिलाको सुरक्षा गर्नु हो । यो संस्कार गर्भवती महिलाको मन प्रसन्न गर्नको लागि गरिन्छ ।
४. जातकर्म संस्कारः
नवजात शिशुको नालच्छेदनअगाडि यो संस्कार गर्ने विधान छ । यस दिव्य संसारको प्रत्यक्ष सम्पर्कमा आउने बच्चालाई बुद्धि, बल र दीर्घायुको लागि वेद मन्त्रको जपको साथ स्वर्ण खण्डबाट मह र घ्यू चटाइन्छ । यो संस्कार विशेष मन्त्र र विधिद्वारा गरिन्छ । दुई थोपा घ्यू र छ थोपा महको समिश्रण अभिमन्त्रित गरेर शिशुलाई चटाएपछि बुबाले यज्ञ गर्छन् र नौ मन्त्रको विशेषरूपले उच्चारण गरेर बच्चाको लागि बुद्धिमान्, बलियो, स्वस्थ र दीर्घायुको कामना गर्छन् । यसपछि आमाले बच्चालाई स्तनपान गराउँछिन् ।
५. नामकरण संस्कारः
यो संस्कार शिशु जन्मेको ११औं दिनमा गरिन्छ । हाम्रा धर्माचार्यहरूले शिशु जन्मेको १० दिनसम्म अशौच (सूतक) मानेका छन् । त्यसैले ११औं दिनमा यो संस्कार गर्ने विधान छ । महर्षि याज्ञवल्क्यको पनि यही मत छ, तर अनेक कर्मकाण्डी विद्वान्हरूले यो संस्कार शुभ नक्षत्र वा शुभ दिनमा गर्नु उचित ठान्छन् ।
सनातन धर्ममा नामकरण संस्कारको अधिक महत्व छ । हाम्रा ऋषिहरूले नामलाई यस कारण पनि प्रभावी बताएका छन्, किनभने यसको व्यक्तित्व विकासमा सहायता हुन्छ । त्यसैले भनिन्छ रामभन्दा रामको नाम ठूलो । हाम्रा धर्मशास्त्रीहरूले धेरै अनुसन्धान गरेर नामकरण संस्कारको आविष्कार गरेका छन् । ज्योतिषशास्त्रले नामको आधारमा भविष्यको रूपरेखा तयार गर्छ ।
६. निस्क्रमण संस्कारः
दैवीजगत्सँग बालकको प्रगाढता बढोस् र ब्रह्माजीको सृष्टिसँग परिचित भई दीर्घकालसम्म धर्म र मर्यादाको रक्षा गर्दै लामो समयसम्म यस संसारको उपभोग गर्न सकियोस्, यही नै यस संस्कारको मुख्य उद्देश्य हो । यस संस्कारमा बच्चालाई सूर्य र चन्द्रमाको प्रकाश देखाउने विधान छ । सूर्यको तेज तथा चन्द्रमाको शीतलतासँग अवगत गराउनु नै यस संस्कारको मूलभूत उद्देश्य हो । बच्चालाई तेजस्वी तथा नम्र बनाउनु यस संस्कारको महत्व हो । यस दिन देवीदेवताको दर्शन गरी बच्चाको दीर्घायु र सफल जीवनको कामना गरी आशीर्वाद लिइन्छ । यो संस्कार जन्मेको चौथो महीनामा गर्ने चलन छ । बच्चाको शरीर जन्मेको तीन महीनासम्म बाहिरी वातावरण जस्तै कडा घाम र तेज हावा आदिको अनुकूल हुँदैन । त्यसैले लगभग तीन महीनासम्म बच्चालाई सावधानीपूर्वक घरमा राख्नुपर्छ । यसपछि, बिस्तारै बाह्य वातावरणको सम्पर्कमा आउन दिनुपर्छ । यस संस्कारको तात्पर्य यो हो कि बच्चा समाजको सम्पर्कमा आएर सामाजिक परिस्थितिहरूसँग परिचित होस् ।
७. अन्नप्राशन संस्कारः
यस संस्कारको उद्देश्य बच्चाको शारीरिक र मानसिक विकासमा ध्यान केन्द्रित गर्नु हो । अन्नप्राशनको प्रस्ट अर्थ यो हो कि अहिलेसम्म पेय पदार्थ विशेषगरी दूधमा आश्रित बच्चाले अब खाना ग्रहण गरेर आफूलाई शारीरिक र मानसिकरूपमा बलियो र प्रबुद्ध बनाउनुपर्छ, जसलाई शास्त्रमा प्राणशक्ति भनिएको छ । शरीर र दिमागलाई बलियो बनाउन खानाको सबैभन्दा बढी योगदान हुन्छ । शुद्ध, सात्विक र पौष्टिक आहारले मात्र तन स्वस्थ रहन्छ र स्वस्थ तनमा स्वस्थ मनको वास हुन्छ । आहार शुद्ध भयो भने मात्र अन्तःकरण शुद्ध र मन, बुद्धि तथा आत्मा सबैको पोषण हुन्छ । त्यसैले हाम्रो जीवनमा अन्नप्राशन संस्कारको विशेष महत्व छ ।
जन्मदेखि छैटौं महीनालाई अन्नप्राशनका लागि उपयुक्त मानिएको छ । यो संस्कार जन्मदेखि छैटौं महीनाको शुभ नक्षत्र र शुभ दिनमा गर्नुपर्छ । खीर र मिठाइसँग शिशुको अन्नग्रहण शुभ मानिन्छ । ‘अमृतः क्षीरभोजनम्’ अर्थात् शास्त्रहरूमा खीरलाई अमृततुल्य मानिएको छ । क्रमशः