प्रस, वीरगंज, १३ असार/
औषधी व्यवस्था क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख किरण बज्राचार्यले फर्माकेम प्रालि वीरगंजमा छापा मारी सोसम्बन्धी प्रतिवेदन विभागमा पठाइसकेको बताएका छन् ।
यही असार १ गते औषधी व्यवस्था विभाग र वीरगंजस्थित क्षेत्रीय कार्यालयले रक्त क्यान्सरको उपचारमा प्रयोग हुने रिटक्सइरेल खोप आयातकर्ता कम्पनी फर्माकेम प्रालिको काठमाडौंस्थित कार्यालय र वीरगंजस्थित फर्माकेम प्रालिको केन्द्रीय कार्यालयमा एकैसाथ छापामारी गरेको थियो । छापामारीको क्रममा विभागको टोलीले २०७८ साल माघदेखि फर्माकेम प्रालिले बिक्री गरेको रिटक्सइरेल खोपको बिलबिजक नियन्त्रणमा लिएको थियो ।
क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख बज्राचार्यले आफ्नो अनुसन्धानमा भारतीय कम्पनी रिलायन्स लाइफ साइन्सले औषधीमा भारु ३५ हजार अधिकतम बिक्री मूल्य तोकेको र सोको परिधिमा रहेर आयातकर्ताले औषधी बिक्री गरेको र सोही अनुरूपको प्रतिवेदन पठाइएको बताए । आयातकर्ता वीरगंजस्थित फर्माकेमले भने ०७८ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आयात गरेर ल्याउने रिटक्सइरेल खोपको मूल्य नेरु १६,५६० र भारु १०,३५० कायम गरी प्रज्ञापनपत्र भरेको थियो । तर औषधी व्यवस्था विभागले आयात भएर आएको औषधीको बट्टामा प्रिन्ट भएको दर अनुसार सो खोप अधिकतम ६१ हजार ६६६ मा बिक्री गर्न इजाजत दिएको थियो ।
विभागले आयातकर्ताले भन्सार प्रज्ञापनभन्दा २७२ प्रतिशत बढी मूल्यमा बिक्री इजाजत लिएको खुलासा भएपछि डेढ वर्ष अघिको यो घटना सम्बन्धमा छानबीन शुरू भएको हो । असार १ गते छापामारी गरी फर्माकेमको बिलबिजक नियन्त्रणमा लिएको छ । तर भन्सारमा आयातकर्ताले दाबी गरेको रकम र खोप बट्टामा प्रिन्ट रहेको दररेटभन्दा निकै फरक देखिएपछि औषधी विभागले यसबारे अनुसन्धान शुरू गरेको हो ।
औषधी व्यवस्था विभागले आज करीब दुई साता बितिसक्दा पनि अनुसन्धानबारे सार्वजनिक गरेको छैन । समान्यतया औषधी उत्पादक कम्पनीले तोकेको दररेटमा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन ।
तर विभागले नै भन्सार प्रज्ञापन नहेरेर आयात कम्पनीको बट्टामा तोकिएको दररेटका आधारमा क्यान्सर जस्तो संवेदनशील रोगको औषधी बिक्री गर्न अधिकतम मूल्य ६१ हजार ६६६ तोकेपछि आयातकर्ता फर्माकेमले सोही अनुरूप औषधी बिक्री गरेको देखिन्छ । यसबारे फर्माकेमले विभागले अधिकतम मूल्य ६१ हजार ६६६ तोके पनि आफूहरूले २५ हजारभन्दा बढीमा खोप बिक्री नगरेको दाबी गरेको छ ।
भन्सार प्रज्ञापनका अनुसार कम मूल्यको औषधीमा पौने तीन सय प्रतिशत बढी मुनाफा लिएर बिक्री गरेको कसूरमा फस्ने भयले फर्माकेम विभागले तोकेभन्दा कम मूल्यमा बिक्री गरेको दाबी गरिरहेको छ । विभाग भने भन्सार प्रज्ञापन अनुसार दररेट कायम गर्न चुकेकोले औषधीको बट्टामा उल्लेख भएको दररेट अनुसार अधिकतम मूल्य ६१ हजार ६६६ तोकेको भनेर जोगिने प्रयास गर्दैछ र यही खेलबीच आर्थिक चलखेलको कुराहरू भइरहेको स्रोतको दाबी छ ।