पर्सा जिल्लामा चैते धानखेती गरेका किसानहरू अहिले खुशी मनाइरहेका छन् । उनीहरूले लगाएको धानबालीको उचित मूल्य पाएको र असारको दोस्रो साता बित्न लाग्दा पनि वर्षा नभएकोले चैत धान सुकाउन र भण्डारण गर्न सजिलो भएको कारण यो धानखेती गरेका किसानहरू खुशी भएका हुन् । आफूले लगाएको बालि सप्रनुका साथै उचित बजार पाएर समयमा बिक्री भई उचित मूल्य पाएपछि किसानहरू खुशी हुनु स्वाभाविक हो । कसैले पनि आफूले गरेको कर्मको फल प्राप्त गर्छ भने उसमा खुशीको सीमा हुँदैन । पर्सा जिल्लाको हकमा नहरदेखि उत्तर जङ्गल क्षेत्रसँग जोडिएका थरूहट क्षेत्रका गाउँपालिकाहरू ठोरी, पटेर्वासुगौली, जगरनाथपुर, जीराभवानी, पर्सागढी र वीरगंज महानगरको एकाध वडाहरूमा चैते धानखेती हुने गरेको छ । वर्षाका साथै गण्डक नहर, जङ्गलबाट पानीको मुहान, डिप बोरिङ आदिको सिंचाइ सुविधा भएको कारण सो क्षेत्रमा चैते धान खेती हुँदै आएको छ । चैते धानबाली प्रतिकठ्ठा पौने तीन क्विन्टलसम्म उत्पादन भएको र प्रति क्विन्टल पच्चीस सयसम्म बजार मूल्य पाएको कारण किसानहरू यस वर्ष चैते धानबालीबाट निकै खुशी भएका हुन् ।
चैते धानखेतीको तुलनामा भदैया धानबाली भने निकै बढी गरिन्छ । गण्डक नहरको उत्तर र दक्षिण सबै भागमा भदैया धानबाली गरिन्छ । तर यसपटक भदैया धानबालीका लागि औसत वर्षा कम भएकोले किसानहरूमा निराशा छ । गण्डक नहरमा पानी छैन, आकाशे सिंचाइको भरमा रहेका गण्डक नहरदेखि दक्षिणतर्फ बजियान क्षेत्रका किसानहरू अहिलेसम्म भदैया धानखेतीका लागि आवश्यक बीउ छर्न सकेका छैनन् । केहीले जेनतेन पम्पसेट प्रयोग गरेर कृत्रिम सिंचाइद्वारा बीउ रोपेपनि उनीहरूको बीउ खेतमा सुक्न थालेको छ र रोपाइँसम्म काम नलाग्ने भइदिएको खण्डमा रोपाइँ लम्बिने चिन्ताले ग्रस्त छन् । थरूहट क्षेत्रमा भने भदैया धानका लागि पनि बीउ छर्ने काम प्रायः सकिसकेको छ । उनीहरू चैते धानबाली भिœयाएर खेत खनजोत गरी भदैया धानबाली लगाउने तयारीमा छन् । एउटा बाली भिœयाएर अर्काे बाली गर्ने तयारीमा रहेका थरूहट क्षेत्रका किसानहरू जहाँ खुशी छन्, त्यो खुशी बजियान क्षेत्रका किसानहरूमा छैन । अहिले स्थानीय तहहरूमध्ये धेरैले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् । बजियान क्षेत्रका पालिकाहरूले यसपटकको खडेरीका कारण वैकल्पिक सिंचाइका लागि किसानहरूलाई डिप बोरिड्ढो प्रस्ताव अगाडि सारेका छन् । गण्डक नहरसँग जोडिएका खेत र सिंचाइको लागि पोखरी, कुलोको व्यवस्था भन्दा टाढा रहेका किसानहरूलाई लक्षित गरेर त्यस्ता खेतहरूमा वैकल्पिक सिंचाइका लागि डिप बोरिङ गर्ने हो भने सिंचाइबाट वञ्चित किसानहरूलाई कृषि कर्मका लागि सजिलो हुनेछ ।
तर नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेका पालिकाहरूले इमानदारिताका साथ कृषि व्यावसायमा लागेका किसानहरूको हकमा मात्र डिप बोरिङ् गर्नेछन् भन्ने कुरामा भने सन्देह छ । अहिलेसम्म सेवा सुविधाहरू लक्षित वर्गसम्म पुर्याउने कुरामा हाम्रा जनप्रतिनिधिहरू इमानदार कम, बेइमान बढी देखिएका छन् । भरसक सबै सेवा आफैंले उपभोग गर्ने, विरोध गर्नेहरूको मुख बन्द गर्न प्रयोग गर्ने अनि कार्यकर्ता, शुभचिन्तक लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिने कार्यले विकासमा बाधा पुर्याउने काम हुँदै आएको छ ।