प्रस, पर्सागढी, ३२ जेठ/
पर्सागढी नगरपालिका–४ मा भइरहेका विकास निर्माण कार्यमा वडाध्यक्ष्F शेख खुर्सेदका भाइको एकछत्र राज चलेको छ। उपभोक्ता समिति, अमानत र ठेक्का सबैजसो काममा खुर्सेदका भाइ शेख शम्शादको एकछत्र राज छ।
वडास्तरीय बजेटमा वडा नं ४ बर्वाटाँडीमा नाला निर्माण भइरहेको छ। यो काम पनि वडाध्यक्षका भाइ शेख शम्शादले गरिरहेका छन्। वडास्तरीय बजेटबाट भएको यो कामको बारेमा स्थानीय कसैलाई खोजखबर गरिएको छैन। नालाको निकास छैन तर पनि नाला बनिरहेको छ।
यसैगरी, प्रदेश सरकारको सशर्त अनुदान ५० लाखको लागतमा सोही वडामा सडक स्तरोन्नतिको काम भइरहेको छ। उपभोक्ता समितिमार्फत यो काम भइरहे पनि यसको पूर्ण रेखदेख शेख शम्शादले नै गर्दै आएका छन्। नाम मात्रको लागि सडक उपभोक्ता समिति लक्ष्मणप्रसाद पाठकको अध्यक्षतामा गठन गरिएको छ।
पर्सागढी नपाले प्रदेश सरकारको सशर्त अनुदानबाट यो सडक स्तरोन्नतिको काममा प्रFविधिक रिपोर्ट अनुसार रु ५४ लाख लागत देखाएको छ। प्रदेश सरकारले रु ५० लाख दिने र नगरपालिकाले चार लाख ९० हजार भुक्तान गर्ने तथा बाँकी रकम उपभोक्ता समितिले तिर्नुपर्ने शर्तमा कार्य भइरहे पनि यसमा तोकिएका मापदण्डका निर्माण सामग्री प्रयोग भएका छैनन्। धोएको बालुवा प्रयोग गर्नुपर्नेमा नधोएको बालुवा प्रयोग भइरहेको छ। उपभोक्ता समितिले गरेको लापरवाहीबारेमा नगरपालिकामा उजूरी परे पनि वडाध्यक्षको भाइबाट कामको रेखदेख भइरहेको कारण नपाले खासै चासो देखाएको छैन।
यसैगरी, सोही वडामा नगरस्तरीय योजनाबाट २६ लाखको लागतमा टेन्डरमार्फत कल्भर्ट निर्माणको काम भइरहेको छ। कल्भर्ट निर्माणमा पनि तोकिए अनुसारको निर्माण सामग्री प्रयोग नभएको स्थानीयको आरोप छ।
टेन्डरमार्फत यो ठेक्का पनि वडाध्यक्षका भाइ शेख शम्शादले नै गरिरहेका छन्। वडा नं ४ मा हुने सबैजसो विकास निर्माण काममा अहिले वडाध्यक्षको भाइकै हालीमुहाली छ। जसले गर्दा स्थानीयले खुलेर विरोध गर्न सकेका छैनन्। नगरपालिकामा लिखितरूपमा दिइएको उजूरीउपर कारबाई नभएका कारण स्थानीयहरू खुलेर आउन नसकेका हुन्। नपाले नै कारबाई प्रक्रिया अगाडि नबढाएकोले व्यक्तिगत दुश्मनी लिने गरी कोही पनि अगाडि सरेका छैनन्। जसले गर्दा वडास्तरीय योजनामा वडाध्यक्ष भाइको इच्छा अनुसार काम भइरहेको छ।