नितेश कर्ण, वीरगंज, ३२ जेठ/
मलङ्गवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादवले पनि ग्रेटर नेपालको नक्शा आफ्नो कार्यकक्षमा राखेका छन्। भारतको नयाँ संसद् भवनमा नेपाली भूमि विराटनगर, लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको नक्शामा समावेश गरी भारत सरकारले सार्वजनिक गरेपछि नेपालमा यसको विरोध शुरू भएको हो।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले ग्रेटर नेपालको नक्शा सार्वजनिक गरेसँगै अहिले नेपालका विभिन्न पालिकाहरूले सो नक्शा सार्वजनिक गर्न शुरू गरेका हुन्। मलङ्गवा नपाका प्रमुख यादवले आफ्नो कक्ष्Fमा रहेको नेपालको थ्रीडी नक्शालाई हटाएर ग्रेटर नेपालको नक्शा राख्नुका साथै वडापालिकाहरूलाई पनि सोहीअनुरूप ग्रेटर नेपालको नक्शा राख्न आग्रह गरेका छन्।
उनले जताततै चाकडी गर्ने परिपाटीको अन्त्य गरी देशको भूमि रक्षाको लागि सबै एकजुट र एउटै स्वरमा अगाडि बढ्नुपर्ने बताए।
प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले सीमासँग जोडिएको विषय नपासँग सम्बन्धित नभए पनि राष्ट्रियताको सवालमा पालिका पनि गम्भीर भएको र ग्रेटर नेपालको नक्शा राखिएको बताए।