जीतलाल श्रेष्ठ, बारा, २३ कात्तिक/

स्वदेशी माछा उत्पादनले विदेशबाट आयात हुने माछालाई पछि पारेको छ। विगतमा भारत, बङ्गलादेश, थाइल्यान्ड, चीन, जापानलगायत देशबाट आउने माछाको आयातलाई निरुत्साहित गर्दै नेपाली माछाले बजारमा आप्mनो एकाधिकार बढाउँदै लगेको छ।

यसरी अहिले विदेशी माछाको आयातलाई झन्डै ८५ प्रतिशत घटाएको छ।

देशमा वार्षिक साढे १२ अर्बको स्वदेशी माछा बिक्री हुनेमा बारामा उत्पादित माछाको भूमिका अग्रणी छ। बारामा ६ हजार ८०० हाराहारीमा ठूला साना माछा पोखरीहरूमा माछा उत्पादन हुने गरेको छ। जिल्लाको विभिन्न स्थानमा साढे पैंतीस सय हेक्टर क्षेत्रफलमा पोखरी छन्। जसबाट वार्षिक ३१ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको जिउँदो माछा व्यवसायी सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष जङ्गबहादुर साहले बताए।

बारामा उत्पादित माछा ३ अर्बभन्दा बढीको बिक्री हुने अध्यक्ष साहले बताए। बारामा व्यावसायिकरूपमा माछापालन गर्दै आएका कृषकहरूको सङ्ख्या ४ हजार ७०० छ। बाराबाट २०६९ सालमा शुरूआत भएको जिउँदो माछा बिक्री कार्यले अहिले विदेशबाट आयात भइरहेको माछामा अघोषित रोक लागेको अध्यक्ष साहले बताए।

बारामा उत्पादित जिउँदो माछा सङ्घीय राजधानी काठमाडौंमा प्रत्येक दिन ६५ देखि ७५ क्विन्टल, पोखरामा १० देखि १५ क्विन्टल बिक्री हँुदै आएको छ। काठमाडौंमा ५८५ स्थानमा, पोखरामा १८ स्थानमा जिउँदो माछा बिक्री पसल सञ्चालनमा रहेको उनले बताए।

जिउँदो माछा ग्राहकको मुख्य रोजाइमा परेको छ। यसको आर्कषण दिन प्रतिदिन बढ्दै गएको उनले बताए। स्वदेशी जिउँदो माछाको बिक्री अघि भारतको आन्ध्र प्रदेशको माछा आउने गरेको थियो। वीरगंज नाकासम्म तीन दिन लाग्ने र त्यसपछि दुई तीन दिन राजधानीलगायत ठाउँमा पु–याउन समय लाग्ने गरेको थियो।

देशभर ८० हजारदेखि ८५ हजार मेट्रिक टन माछा खपत भइरहेको छ। जिउँदो माछा किसानले पोखरीबाट प्रतिकेजी थोकमा रहु, ग्रास, कमन ३५० देखि ३८० रुपियाँ, बिग्रेड, नैनी २६०, सानो नैनी १८० देखि १९० , सिल्वर कार्प २३० देखि २५० रुपियाँ प्रतिकेजी बिक्री हुने गरेको छ। व्यापारीहरूले काठमाडौंमा रहु प्रतिकेजी ५०० मा बिक्री गर्ने गरेका छन्। यसपटक भने लकडाउनको कारण चैत, वैशाखमा पोखरीमा माछाको भुरा राख्नुपर्नेमा राख्न नसकिएको अधिकांश माछा कृषकहरूको गुनासो छ।

माछालाई चाहिने आहारा–दाना, भिटामिनलगायत वस्तु नपाउँदा समस्या थपिएको जसले गर्दा भाडामा लिएर माछा पालन गरेका कृषकहरूलाई ठूलो आर्थिक समस्या थपिएको कोल्हवी नगरपालिका– ५ का रामअयोध्या चौधरीले भने। माछा पालनलाई व्यावसायिकरूपमा अघि बढाउने कृषकहरूले सबै खर्च कटाएर प्रतिबिघा वार्षिक ५ देखि ७ लाख आम्दानी गर्छन्। प्रतिबिघा अढाई तीन लाख लागत लाग्ने माछा कृषक बताउँछन्।

माछापालक कृषकलाई स्थानीय तह, राज्यले अझै सुविधा उपलब्ध गराए यसतर्फ आकर्षण बढ्ने कोल्हवी नपा बोधवनका पुराना माछा कृषक रामप्रसाद चिमरियाले बताए।

जिउँदो माछा नपुगेको दुर्गम क्षेत्रमा बरफमा संरक्ष्Fण गरेको माछा तराईबाट लैजाने व्यवस्था मिलाउन सरकारसँग माग गर्दै आएको जिउँदो माछा व्यवसायी सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष साहले बताए।

लकडाउन अघि नेपाली माछा भारतमा ३५ प्रतिशत निर्यात हुँदै आएको तर लकडाउनपछि सीमा सिल भएपछि रोकिएको बताए। माछा बजारको स्थानीय तहलगायत राज्यका नियमनकारी निकायले अनुगमन गरी स्वदेशी उत्पादनलाई बढावा दिन सके कृषकको आर्थिक अवस्थामा थप मदत पुग्ने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here