करीब तीन दशकअघिदेखि चर्चामा रहेको बाराको निजगढमा निर्माण हुने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अति सुस्त गतिमा भइरहेको छ। धेरैपछि चर्चामा आएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा पनि आइसकेका छन्। निजगढमा तीन दशकदेखि विमानस्थल बन्ने चर्चा चलेको र डेढ दशकदेखि कैंयनपटक नेता तथा विज्ञहरूको टोलीले यो क्षेत्रको स्थलगत अवलोकन गरेर विमानस्थल बन्ने ठोकुवा गरेका थिए। सर्वाेच्च अदालतले पनि विमानस्थल निर्माण नगर्न गरेको आदेशबाट निर्माण कार्य अवरुद्ध भएकोमा आदेशको पूर्ण पाठ आएपछि अहिले विमानस्थलको निर्माण कार्यमा सहजता आएको छ। सरकारले अहिलेसम्म विमानस्थल निर्माणका लागि पटकपटक गरी ७० करोड खर्च गरिसकेको छ। तारबार अनि अन्य पूर्वतयारीका क्रममा यो रकम खर्चिए पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भने अहिलेसम्म मुख्य बाधक बनेको छ, टाँगियाबस्ती।
सङ्घीय सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, बस्ती स्थानान्तरण, मुआवजा वितरण, जग्गा संरक्षणलगायतका पूर्वतयारी कार्यका लागि यसपटक पनि बजेट छुट्टयाएको र लगानी मोडालिटी तय गरी निर्माण कार्य अघि बढाउने जनाएको छ। यसैगरी, मधेस प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका योजनाहरू सङ्घीय सरकारसँग समन्वय गरी अगाडि बढाउन जोड दिनेछ भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समेटेको छ तर अहिलेसम्म निर्माण गरिनेछ भनेर हल्ला गर्नेबाहेक सङ्घ र अहिले प्रदेश सरकारले यो विमानस्थल निर्माणका लागि मनले चासो देखाएका छैनन्।
विमानस्थल निर्माण कार्यले अब गति लिनेछ भनी सत्तारूढ दलका शीर्ष नेताहरू निजगढमा नै पुगेरै जनतालाई आश्वस्त पारेको पनि डेढ वर्ष बितिसक्यो। तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, हालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासमेतले निजगढमा विमानस्थलको निर्माण कार्यले चाँडै नै द्रुत गति लिने भनेर उद्घोष गरेका थिए। सरकारमा रहेका बेला नेताहरूले गरेको यस खाले भाषण निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हकमा भने नयाँ नौलो भने होइन।
यो विमानस्थल निर्माण शुरू भएको २९ वर्षको अवधिमा दर्जन बढी प्रधानमन्त्री र मन्त्रीले यस प्रकारका आश्वासन दिइसकेका छन्। निजगढ विमानस्थल निर्माण शुरू भएपछि थप दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने घोषणा भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। अहिले दुवै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन्। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम कछुवा गतिमा छ। अहिलेसम्म जग्गा अधिग्रहणको कार्य सकिएको छैन। टाँगियाबस्ती व्यवस्थापनको कार्य बाँकी छ। यो विमानस्थल निर्माण कार्यलाई सरकारले अहिलेसम्म न पूरा गर्न सकिरहेको छ, न त्यत्तिकै छाडेको छ।