धर्मेन्द्र चौरसिया, पोखरिया, २८ जेठ/
पर्सा जिल्लाको गण्डक नहरदेखि उत्तर थरूहट क्षेत्रमा वैकल्पिक सिंचाइबाट धानको बीउ छर्ने काम भइरहेको छ भने नहरको दक्षिणतर्फ बजियानमा सिंचाइ अभावको कारण यहाँका किसानले धानको बीउ छरेका छैनन् ।
लामो समयदेखि पानी नपर्दा वर्षाको भरमा रहेका बजियानका किसानहरूले बीउ छर्नको लागि खेत सम्याउने कामसम्म गर्न सकेका छैनन् । पानीको अभावमा यहाँका खेतहरू सुक्खा छन् । ट्याक्टर, हलो चलाएर जग्गा सम्याउने काम नभएको स्थानीय किसान श्यामसुन्दर चौहानले बताए । उनले बीउ छरेको २२ दिनपछि रोपाइँ हुने भए पनि यसपटक अहिलेसम्म बीउ छर्न नसकेको गुनासो गरे । उनले बजियान क्षेत्रमा वैकल्पिक सिंचाइको व्यवस्था नभएको कारण किसानहरूले दुःख पाउनुपरेको गुनासो गरे ।
गण्डक नहरमा पानी छैन, वर्षा भएको छैन, स्थानीय पालिकाले वैकल्पिक सिंचाइको व्यवस्था नगरेको कारण किसानहरूले समयमा बीउ छर्न नसकेको र यसको असर रोपाइँ र धान उत्पादनमा हुने बताए । उनले यथावस्थामा यस वर्ष धान खेती र उब्जनी औसत कम हुने बताए । डिप बोरिङ बजियान क्षेत्रमा नगण्य बराबर छ । गण्डक नहर र वर्षाको भरमा यहाँका किसानले बाली सपार्दै आएका छन् । यसपटक मौसम विभागले औसत वर्षा कम हुने पूर्वसूचना दिएपछि यहाँका किसानहरू झनै चिन्तित छन् ।
ओमप्रकाश चौधरी, सेढवा/
नहरदेखि उत्तरतर्फ थरूहट क्षेत्रमा भने सिंचाइको वैकल्पिक व्यवस्था भएको कारण धान खेतीको लागि बीउ छर्ने काम भइरहेको छ ।
यो क्षेत्रमा गण्डक नहरका साथै कुलो, पैनी, डिप बोरिङ आदिबाट सिंचाइ सुविधा भएकोले किसानहरूले १४४४ धान खेती पनि गरेका छन् । यो खेती गरेका किसानहरूले अबको केही दिनमैं पानी परेको खण्डमा धान भिœयाउन सकिने बताएका छन् ।
अर्काथरी किसान चैते धान भिœयाएर भदैया धान रोपाइँको तयारीमा छन् । बीउ छरेका किसानहरू पानी परेलगत्तै धान रोपाइँ गर्ने तयारीमा रहेको देखिन्छन् । भदैया धान अन्तर्गत सोना सारो, मनी मन्सुरी, हाइब्रिड र कात्तिक मङ्सिरमा भिœयाउने गरी सोना मन्सुलीको बीउ पनि छरेका छन् ।
बीउ रोपेका किसानहरूलाई पानी नपर्दा समस्या भएको छ । अहिले अधिकांश ठाउँमा दमकल चलाएर बीउ जोगाइरहेका छन् । थरूहट क्षेत्र अन्तर्गत ठोरी गापामा भने सिंचाइको समस्या छ । त्यहाँ मुहान सुकेको कारण पानीको समस्या छ र बीउ छर्न सकिएको छैन ।