- श्रीमन्नारायण
गाउँ, समाज एवं राष्ट्रका निम्ति आफ्नो जीवन तथा सर्वस्व समर्पित गर्ने वीर सपूतहरू मरेर गए पनि समय–समयमा तिनको नाम श्रद्धा एवं आदरका साथ स्मरण गरिन्छ । नेपाली राजनीतिक क्षितिजमा जाज्वल्यमान एक यस्तै ताराका रूपमा गजेन्द्रनारायण सिंहलाई स्मरण गर्न सकिन्छ । २२ वर्ष अघि उनको निधन हुँदा देशको राष्ट्रिय राजनीतिमा अशान्ति, असुरक्ष्Fा एवं अस्थिरताको वातावरण थियो तर उनी जस्ता नेताहरूकै निरन्तर त्याग एवं समर्पणका कारण देश अग्रगमनको बाटोमा लम्किरहेको छ । इमानदारी, त्याग, समर्पण, सहिष्णुता एवं लोकतन्त्रको उच्च आदर्शलाई आत्मसात् गर्दै देशमा सामाजिक न्याय स्थापनाका निम्ति उनले चलाएको अहिंसक एवं शान्तिपूर्ण आन्दोलनका कारण नै उनले चर्चामा ल्याएको सङ्घीयता, समावेशिता (आरक्षण) तथा सामाजिक न्यायलगायत क्षेत्रमा उल्लेखनीय काम भएको छ । उनी मरेर गए पनि देशको राष्ट्रिय राजनीति अहिले पनि उनले उठाएका राजनीतिक मुद्दाकै वरिपरि केन्द्रित छ भन्दा अतिशयोक्ति नहोला । नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष र कुशल सामाजिक अभियन्ता गजेन्द्रनारायण सिंहको राजनीतिक यात्रालाई तीन चरणमा विभाजित गर्न सकिन्छ । पहिलो एउटा युवा, विद्रोही एवं कुशल सङ्गठनकर्ता, दोस्रो जेलयात्रा र निर्वाचनका कठिन समय तथा तेस्रोमा सद्भावना आन्दोलनको नेतृत्वदायी भूमिका ।
सप्तरी जिल्लाको एक उच्च मध्यम वर्गीय जमीनदार परिवारमा जन्मेका गजेन्द्रनारायण सिंहले लोकतन्त्र, सामाजिक न्याय तथा समानताको निम्ति आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका थिए । विद्यालयस्तरको अध्ययनका बखत नै दक्षिणी छिमेकी भारतमा जारी स्वाधीनता आन्दोलन तथा स्वयं आफ्नो देशमा जारी राणा विरोधी आन्दोलनको गहिरो प्रभाव उनको मन–मस्तिष्कमा परेको थियो । त्यति बेलाका भारतका चर्चित नेताहरू महात्मा गाँधी, पण्डित जवाहरलाल नेहरू, डा राममनोहर लोहिया, जयप्रकाश नारायण र आचार्य नरेन्द्रदेवबाट र राणाविरोधी आन्दोलनमा सहभागी विपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरूबाट पनि उनी निकै प्रभावित थिए । नेपाली नेताहरूकै प्रेरणामा उनी पनि राणाविरोधी आन्दोलनमा होमिए । नेपाली काङ्ग्रेस सप्तरीको जिल्ला अध्यक्ष भएर काम गरेका उनले आफ्नो जीवनको अधिकांश समय नेपाली काङ्ग्रेसमैं बिताए । नेपाली काङ्ग्रेसमा रहँदा हतियार उठाउनेदेखि जेलनेलको कठोर यातना एवं निर्वासनसमेत भोगे । उनी जेलमैं छँदा उनको आमाको निधन भएको थियो । जेलमा हुँदा उनले आफ्नो एकमात्र छोराको निधनको समाचार सुन्नुपर्यो । सन्तानविहीन भएर नै उनले बाँच्नुपरेको थियो । नेपाली काङ्ग्रेसमा हुँदा उनी सुवर्ण शम्शेरबाट बढी प्रभावित थिए । सुवर्ण शम्शेरको निधनपश्चात् नेपाली काङ्ग्रेसकै नेता भद्रकाली मिश्रसित मिलेर उनले पूर्वाञ्चल काङ्ग्रेस स्थापना गरे । २०३६ सालमा भएको जनमत सङ्ग्रहको घोषणामा उनी बहुदलीय संसदीय व्यवस्थाको पक्षमा खुलेर लागे तर त्यस निर्वाचनमा पञ्चायती व्यवस्थाकै पक्ष्Fमा अभिमत भएको हुँदा निर्वाचनमार्फत जनताका समस्या समाधान गर्ने रणनीति बनाए तर उनले पराजय भोग्नुपरेको थियो ।
विसं २०४० सालमा तत्कालीन पञ्चायती सरकारले जनसङ्ख्याविद् प्राडा हर्कबहादुर गुरुड्ढो संयोजकत्वमा आन्तरिक बसाइसराइ र जनसङ्ख्या सम्बन्धी प्रतिवेदन पेश गर्न एउटा आयोग गठन गरेपछि गजेन्द्रबाबू यसको विरोधमा उभिए । पर्साका रामजनम तिवारीलाई संयोजक बनाएर उनले नेपाल सद्भावना परिषद् गठन गरे । यस संस्थाले तत्कालीन राजा श्री ५ वीरेन्द्रसमक्ष जनसङ्ख्या सम्बन्धी प्रतिवेदन लागू नगर्न बिन्तिपत्र जाहेर गरेको थियो । परिषद्का कार्यकर्ताहरूले काठमाडौंसहित तराईका विभिन्न जिल्लामा यस प्रतिवेदनको विरोधमा प्रदर्शन गरेका थिए । दर्जनौं कार्यकर्ता पक्राउ परेका थिए । अन्ततः त्यो प्रतिवेदन कार्यान्वयनमा आएन तर नेपाल सद्भावना परिषद् नामक सङ्गठनलाई भने समाप्त गरिएन ।
विसं २०४३ सालमा भएको राष्ट्रिय पञ्चायत (तत्कालीन संसद्)को निर्वाचनमा अत्यधिक मतसहित गजेन्द्रबाबू सप्तरीबाट निर्वाचित भए तर पञ्चायती शासनले उनीमाथि कहिल्यै पत्यार गरेन । उनीमाथि लोकतन्त्रवादी र व्यवस्था विरोधी आरोप लागिरह्यो । पञ्चायती शासनमा पनि उनले नागरिकता समस्याको समाधान, सबै भाषा एवं संस्कतिलाई मान्यता, जागीरमा आरक्ष्Fण र शाही सेना (नेपाली सेना)मा १० हजार मधेसी युवाको समूहगत प्रवेशको वकालत गर्ने गर्दथे । विसं. २०४६ सालमा पञ्चायतविरोधी तथा बहुदलीय व्यवस्थाको पुनः स्थापनाको लागि भएको आन्दोलनमा आफ्ना समर्थक र कार्यकर्ताहरूलाई सक्रिय भएर लाग्न प्रेरित गरे । आखिर तीन दशक लामो निर्दलीय शासन व्यवस्थाको अन्त्य पनि भयो । नेपाली काङ्ग्रेस र वामपन्थी दलहरूको साझा आन्दोलनको फलस्वरूप पञ्चायती व्यवस्था हटेको थियो । देशमा बहुदलीय संसदीय व्यवस्था पुनस्र्थापना हुनु नेपाली राजनीतिको महत्वपूर्ण अध्याय थियो । देशमा बहुदलीय व्यवस्थाको पुनः स्थापनापश्चात् गजेन्द्रनारायण सिंहले आफ्नै नेतृत्वमा त्यही नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा रूपान्तरित गरे ।
उनले स्थापना गरेको नेपाल सद्भावना पार्टीले देशको तत्कालीन सामाजिक, राजनीतिक एवं आर्थिक समस्यालाई सम्बोधन गर्नेगरी विभिन्न १० वटा माग अघि सारेको थियो । नागरिकता समस्यालाई उनले पहिलो राजनीतिक मुद्दा बनाएका थिए । २०३६ सालको जनमत सङ्ग्रहको मतदाता सूचीमा नाम भएका तथा वर्षौंदेखि नेपालमा घर बनाई बसोवास गरिरहेका सबै बालिग नेपालीलाई सहज एवं सरल रूपमा नागरिकताको प्रमाणपत्र प्रदान गरी सधैंको निम्ति यस समस्याको समाधान भएको हेर्न चाहन्थे । आखिर विभिन्न कानूनी र संवैधानिक अभ्यासपश्चात् २०६३ साल माघ १ गतेदेखि प्रत्येक नेपालीलाई तिनको गाविसमैं पुगी नागरिकता प्रमाणपत्र वितरण गर्ने काम भयो । करीब २८ लाखले (साढे २३ लाख जतिले वंशज) नागरिकता प्रमाणपत्र पनि हासिल गरे । अहिले पनि केही समस्या छ तर यसको पनि समाधान सहजरूपमा हुने निश्चित छ । नागरिकता समस्याको समाधान हुनु गजेन्द्रबाबूको एउटा ठूलो सपना साकार हुनु हो ।
देशलाई सङ्घीय ढाँचामा लैजाने उनको दोस्रो माग थियो । उनी भौगोलिक, सामाजिक एवं सांस्कृतिक एकरूपताको आधारमा पूर्वी पहाड, पूर्वी तराई, काठमाडौं उपत्यका, पश्चिमी पहाड र पश्चिमी तराई गरी ५ प्रादेशिक एकाइसहितको प्रादेशिक संरचना हेर्न चाहेका थिए । देशमा अहिले सातवटा प्रादेशिक एकाइ छन् र मधेस प्रदेशमा लगातार दोस्रोपटक मधेसी दलकै नेतृत्वमा सरकार गठन पनि भएको छ । देश सङ्घीय ढाँचामा जानु गजेन्द्रबाबूको दोस्रो ठूलो राजनीतिक मुद्दाको समाधान हुनु हो । तर उनले देशमा ५ प्रदेशको कल्पना मात्रै गरेका थिए ।
उनले जागीरमा आरक्षण (समानुपातिक समावेशिता)को विषयलाई उठाएका थिए । जनान्दोलन–२ को सफलतापश्चात् त्यो पनि लागू गर्ने काम भइरहेको छ । जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र गठनसम्बन्धी गजेन्द्रबाबूको पार्टीले उठाएको चौथो ठूलो माग पूरा भइसकेको छ । नेपाली सेनामा मधेसीको प्रवेशका लागि एउटा गुल्म गठन भएको छ र आवश्यक प्रक्रिया पूरा गरेर मधेसी युवाहरू पनि सेनामा भर्ना भइरहेका छन् । छठ, होली, इद, बकरीदलगायत पर्वहरूमा सार्वजनिक बिदा दिने काम भइरहेको छ भने मातृभाषामा प्राथमिकता शिक्ष्Fा लागू गर्ने दिशामा पनि ठोस एवं सार्थक पहल भएको छ । एक किसिमले भन्नुपर्दा गजेन्द्रनारायण सिंहले उठाएका प्रायः सबै राजनीतिक मुद्दाको समाधान देशका सबै राजनीतिक दलहरूको सहयोग, समर्थन एवं सद्भावनाबाट भएको छ । यसमा कुनै एक दल मात्र योगदान छैन । तर जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूमा इमानदारिता, सिद्धान्तनिष्ठ राजनीति, व्यापक सोच, राष्ट्रप्रेम, समभाव भएन भने सङ्घीयता आए, नआएको कुनै अर्थ हुँदैन । अहिले चारैतिर सङ्घीयताको औचित्यमाथि प्रश्न उठाउने काम भइरहेको छ । यसको औचित्यबारे बोल्न कुनै मधेसी दल तयार छैन ।
गजेन्द्रबाबूको निधनपश्चात् मधेसको नाममा नयाँ–नयाँ दलहरू खुल्ने काम भयो । ती सबै जातिवाद, परिवारवाद र भ्रष्टाचारमैं लिप्त भए । गजेन्द्रबाबू लोकतन्त्रवादी थिए । उनले सबैखाले समस्याको समाधान शान्तिपूर्ण एवं अहिंसक आन्दोलनमार्फत नै खोजेका थिए । उनले प्रतीकात्मक राजनीतिमा विश्वास गरेनन् । आफूलाई अख्तियारले बयान लिन बोलाएमा पदबाट राजीनामा गरेर जाने तर मन्त्रीको झन्डा हल्लाउँदै नजाने भनेका थिए । तर अहिले त मन्त्री, मुख्यमन्त्रीहरू सूर्यास्तपछि कालो शीशा लगाएको गाडीमा चढेर बयान दिने घटना सामान्य भइसकेको छ । मधेसवादी दलका दर्जनौं पूर्व र वर्तमान मन्त्रीहरू अख्तियारको तारिख बोकिरहेका छन् । नेपालको संविधान २०७२ को निर्माणमा मधेसी दलको भूमिका थिएन । उनीहरू संविधान निर्माण गर्ने शैलीका विरोधी थिए तर संविधान जारी भएपछि चुनावमा भने भाग लिए । त्यही संरचना अन्तर्गतको प्रदेशसभा निर्वाचनमा भाग पनि लिए । अहिले त्यसको लाभ लिइ नै रहेका छन् । मधेसी दल अहिले मुद्दाविहीन छन् । देशको आर्थिक, सामाजिक, विदेश नीतिबारे खासै भिजन रहेको पाइँदैन । केवल सत्ता राजनीति मात्रै अन्तिम लक्ष्य रहन गएको छ ।