प्रस, निजगढ, १८ जेठ/
केही साता यतादेखि तराई–मधेसको बारामा पनि अत्यधिक गर्मी बढेसँगै सरकारी, सामुदायिक, निजी विद्यालयहरूको पठनपाठक केही दिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थीहरूलाई रिङटा लाग्ने, बान्ता हुने, टाउको दुख्नेलगायत स्वास्थ्य समस्या हुन थालेपछि बाराका अधिकांश स्थानीय तह गाउँपालिका, नगरपालिका र उपमहा नगरपालिकाहरूले निर्णय गरी वर्षे बिदाबाट मिलान हुनेगरी बिदा दिएका छन् ।
निजगढका विद्यालयहरूमा पनि अत्यधिक गर्मीले विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि निजगढ नगरपालिकाले दुई दिन पठनपाठन बन्द गर्न सूचना एर्व पत्राचार गरेसँगै विद्यालय बन्द गरिएको श्री गौरीशङ्कर मावि निजगढ नपा–८ का सहायक प्रअ समराज तामाङले बताए ।
विद्यार्थी, विद्यालयका कार्यालय सहयोगी नै बढ्दो गर्मीले बेहोश हुन थालेपछि नगर शिक्षा समितिको यही जेठ १७ गतेको निर्णयले तत्कालका लागि दुई दिन विद्यालय बन्द गर्ने र गर्मी यस्तै रहे पुनः विद्यालय बन्द गर्ने निजगढ नपाका शिक्षा अधिकृत उत्तम लामिछानेले जानकारी दिए ।
निजगढमा एक साता यतादेखि एकाबिहानै कम्तीमा पनि ३०/३५ डिग्री सेल्सियस तापक्रम हुने र दिउँसो ४२ देखि ४३, ४४ डिग्रीसम्म तापमान बढेको छ । मन्द पश्चिमी हावा चले पनि तातो हावाका कारण झनै गर्मी महसूस हुने गरेको छ । १०/१२ वर्ष यता अत्यधिक गर्मी बढेको निजगढ नपा–१२ थलिकी सीता खतिवाडा बताउँछिन् । तीस वर्ष अघिदेखि चुरेमा बसोवास गर्दै आएकी उनी यति बिघ्न गर्मी कहिल्यै नभएको बताउँछिन् ।
के हुन खोजेको हो ? पानी नपर्ने, परेपनि जमीन राम्ररी नभिज्ने । यस्तै हुने हो भने त माटो पनि बल्न बेर छैन, रामथलीका ७२ वर्षीय ज्ञानबहादुर दोङ भन्छन्–अचाक्लि भो, गर्मीले । एकाबिहानै उखरमाउलो गर्मी हुन्छ, रातमा पनि त्यस्तै उनी दिक्दार हुन्छन् ।
गर्मीले विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि प्रभावित भएको श्री गौरीशङ्कर मावि निजगढ–८ का प्रअ बद्रीनारायण झाले भने । चुरे उजाड, वनजङ्गलमा डढेलो, प्राकृतिक स्रोत साधन, नदीजन्य पदार्थको उत्खनन र विकासका नाउँमा सडक, भवन, घरहरू निर्माण, तर हरियाली बढाउन बोट–बिरुवा नरोप्दा अहिले यस्तो प्राकृतिक विपत्ति निम्तिएको प्रअ झा बताउँछन् ।
विद्यालयमा सङ्कलन गरी राखिएको पिउने पानी तातो हुने, विद्युत् आपूर्तिमा समस्याका कारण पनि विद्यार्थीहरूमा पर्न सक्ने थप स्वास्थ्य समस्यालाई मध्यनजर राख्दै निजगढ नगरपालिकाले आज जेठ, १८ र १९ गते, जीतपुरसिमरा उपमहा नगरपालिकाले १८ देखि २० गते र कलैया उपमहानगरपालिकालगायत जिल्लाका विभिन्न पालिकाहरूले पनि विद्यालय बन्द गर्न पत्राचार र सार्वजनिक सूचना गरेका समाजिक सञ्जालमा देख्न सकिन्छ ।
यही हो, वनजङ्गल, चुरे उजाड, प्राकृतिक स्रोत साधनहरूको विनाशको असर । यसको बेलैमा न्यूनीकरण गर्ने तर्फ मानव गतिविधि भएन भने झन् समस्या जटिल हुँदै जाने बाराका डिभिजनल अधिकृत विनोद सिंह बताउँछन् । यसको असर मानवमा मात्र नभई वन्यजन्तु, सिमसार, पानीका मूल मुहान, भूमिगत पानीको सतह घट्ने र चरम पानीको अभाव हुने, खासगरी तराई मधेसमा यसको प्रतिकूल असर पर्ने उनी बताउँछन् ।