बेइजिङ, १८ जेठ/एएनआई

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ ।

न्युयोर्क टाइम्सका अनुसार उनीहरू पेशागत र भावनात्मकरूपमा सङ्घर्ष गरिरहेका छन् । यद्यपि देशका शीर्ष नेता सी जिनपिङले युवाहरूलाई सामान्य काम गरिरहेको छु वा ग्रामीण इलाकामा जाँदैछु भन्ने सोच्न छोड्न आग्रह गरेका छन् ।

 “युवाहरूले ‘कठिन समयसँग जुध्न’ सिक्नुपर्छ”–सीले भने ।

द न्युयोर्क टाइम्सका अनुसार अब सरकारले उनीहरूलाई कठिनाई सहन भनिरहेको छ । गत वर्ष जूनमा स्नातकोत्तर गरेकी ग्लोरिया ली जागीर पाउन भौतारिरहेकी थिइन् । लीले भनिन्–“हामीलाई तिक्ततासँग जुध्नु भनेको छलजस्तै हो, हामी विनाशर्त आफूलाई समर्पित गर्नेछौं र उनीहरू आफैंले गर्न नचाहेको काम गर्नेछौं तर रोजगारको सहज सुनिश्चतता हुनुपर्छ ।”

न्युयोर्क टाइम्सका अनुसार मे महीनामा युवा दिवससम्बन्धी आधिकारिक पिपुल्स डेलीको पहिलो पृष्ठको लेखमा सीलाई उद्धृत गर्दै भनिएको छ–“जीवनमा सफलताका अनगिन्ती उदाहरणले के देखाउँछ भने युवावस्थामा कटुता बेहोर्नु भनेको इनाम पनि प्राप्त गर्नु हो ।” उक्त लेखमा सीले युवाहरूबाट गरेको अपेक्षाबारे चर्चा गरिएको थियो ।

सांस्कृतिक क्रान्तिको दौरान ग्रामीण इलाकामा काम गरेको आफ्नो अनुभव प्रयोग गर्दै राष्ट्रपति सीले युवाहरूलाई ‘आफैंले भोगेका कष्टहरू खोज्न’ बारम्बार आग्रह गरेका छन् ।

एक स्वतन्त्र राजनीतिक टिप्पणीकार काई शेन्कुनले एक ट्वीटर पोस्टमा लेखेका छन्–“युवाहरूले शान्तिपूर्ण र स्थिर जीवन त्यागेर दुःख भोग्नुपरोस् भन्ने उहाँ किन चाहनुहुन्छ ?” यस वर्ष एक करोड १६ लाख उच्च स्नातकहरू राष्ट्रिय जनशक्तिका लागि तयार भएका छन् तर पाँचमध्ये एक युवा बेरोजगार बन्नुपर्ने अवस्था आएको छ ।

न्युयोर्क टाइम्सका अनुसार चीनको नेतृत्वले बढ्दो समृद्धिबीच हुर्केको पुस्तालाई फरक वास्तविकता स्विकार्न तयार गराउने अपेक्षा गरेको छ । युवा बेरोजगारी दर चिनियाँ कम्युनिस्ट पार्टीले गम्भीरताका साथ लिएको तथ्याङ्क हो किनभने निष्क्रिय युवा आफ्नो शासनका लागि खतरा हुन् भन्ने विश्वास गर्दछ ।

चिनियाँ नेता माओत्सेतुङले सांस्कृतिक क्रान्तिका क्रममा सीसहित एक करोड ६० लाखभन्दा बढी शहरी युवालाई ग्रामीण क्षेत्रमा श्रम गर्न पठाएका थिए ।

सांस्कृतिक क्रान्तिपछि यी बेरोजगार युवाहरू शहरमा फर्कनुले पार्टीलाई केही हदसम्म स्वरोजगार, वा राज्य–योजनाबद्ध अर्थ व्यवस्थाभन्दा बाहिरको रोजगार अँगाल्न बाध्य बनाएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here