नरेश यादव, पर्सागढी, जेठ १७/
तौलमा कम, तराजुमा बढी देखाउने पर्सागढी नगरपालिका–५ स्थित वनहर बाबा सहकारी संस्थाका सञ्चालक विनोद चौधरीलाई साढे तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।
पर्सागढी नपामा ठगी गर्ने चौधरी र गुणस्तर तथा नापतौल कार्यालय, पर्सा वीरगंजका प्रतिनिधिको रोहबरमा बुधवार भएको बैठकमा कार्यालयले चौधरीलाई रु तीन लाख ५८ हजार जरिवाना गरेको हो । उनलाई तौल कम गरेर तराजुमा बढी देखाउने कसूरमा मुद्दा चलाउने निर्णय भएको हो ।
चौधरीले युरिया मल बिक्री गर्दा हिजो ५० किलो बोरा उनको डिजिटल तराजुमा ५७ किलो देखिएको थियो । यसअघि पनि उनले कम तौलको मल बढी देखाएर बिक्री गर्दै आएको स्थानीयको आरोप छ । हिजो उनलाई स्थानीयले सो कसूरमा पक्राउ गरी एकटाँगा प्रहरी कार्यालयलाई बुझाएको थियो । पर्सागढी नपाको अनुरोधमा प्रहरीले चौधरीलाई आज नपामा सुम्पेको र त्यहाँ भएको बैठकबाट उनलाई दण्डित गरी मुद्दा चलाउने निर्णय भएको छ ।