- विश्वराज अधिकारी
बन्दुक हिंसा
अमेरिकामा सामान्य किसिमको बन्दुक खरीद गर्न पाइन्छ । घरमा राख्न पाइन्छ । बन्दुक खरीद गरेर घरमा राख्नका लागि स्थानीय वा केन्द्रीय सरकार वा सम्बन्धित निकायबाट अनुमति लिनुपर्दैन । बन्दुक खरीद गर्न र आफूसँग राख्न सहज रहेकोले प्रायः धेरै व्यक्ति वा परिवारहरूले बन्दुक खरीद गरेर घरमा राखेको पाइन्छ । बन्दुकको मूल्य पनि सस्तो छ ।
बन्दुक खरीद गरेर घरमा राख्नुलाई धेरै अमेरिकी आफ्नो व्यक्तिगत स्वतन्त्रतासँग जोडेर हेर्छन् । बन्दुक खरीद गर्न र प्रयोग गर्न पाउनु आफ्नो स्वतन्त्र अधिकार हो र यो अधिकार कुण्ठित गर्न पाइँदैन भन्ने सोच धेरै अमेरिकीमा रहेको पाइन्छ । आफ्नो सुरक्षाका लागि एवं आफ्नो स्वतन्त्र अधिकार प्रयोग गर्ने उद्देश्यले, दुवै किसिमले बन्दुक राख्नु आफूहरूको हितमा रहेको मान्ने अमेरिकीहरूको सङ्ख्या ठूलो छ ।
तर आफूसँग बन्दुक राख्न पाउनु आफ्नो स्वतन्त्र अधिकार हो भन्ने सोचाइ र अभ्यासका लागि अमेरिकीहरूले ठूलो मूल्य भुक्तान गर्नुपर्छ । गर्नुपरिरहेको छ । अर्थात् ठूलो मूल्य भुक्तान गरेर अमरिकीहरूले आफ्नो यो (बन्दुक राख्न पाउने) स्वतन्त्रता उपभोग गर्न पाएका छन् । अर्थात् यो स्वतन्त्रताको सहज किसिमले उपयोग गर्न पाएका छैनन् । यो स्वतन्त्रताले अमेरिकीसँग ठूलो मूल्य खोजेको छ । कसरी ?
अमेरिकामा बन्दुक राख्न सहज रहेको र २१ वर्ष पुगेको व्यक्तिले बन्दुक खरीद गर्न पाउने व्यवस्थाले गर्दा अमेरिकामा बर्सेनि सयौं ‘बन्दुक हिंसा’ हुने गर्छ । खास उद्देश्यसहित वा उद्देश्यविहीन किसिमले पनि कुनै एक व्यक्तिले कुनै अर्काे व्यक्ति वा समूहलाई गोली हानेका घटना धेरै छन् । अमेरिकामा पारिवारिक झगडा एवं आत्महत्याका लागि पनि बन्दुकको प्रयोग निकै हुने गर्छ ।
बन्दुक हिंसा अभिलेख (न्गल ख्ष्यभिलअभ ब्चअजष्खभ)को वेबसाइटमा उल्लेख भए अनुसार बन्दुक हिंसा अन्तर्गत अमेरिकामा सन् २०२१ मा आफैंले बन्दुक चलाएर, दुष्प्रवृत्तिवश कसैमाथि बन्दुक चलाएर एवं बन्दुक चल्ने कारण दुर्घटना भएर २१ हजार नौ व्यक्तिको ज्यान गएको थियो । र आत्महत्याका कारण २६ हजार ३२८ व्यक्तिको ज्यान गएको थियो । यसैगरी, सोही वर्ष विनाउद्देश्य दुई हजार २७ वटा बन्दुक हिंसाका घटना भएका थिए ।
यो सामग्री तयारी परिरहँदासम्ममा अर्थात् सन् २०२३ को मार्च महीनाको १ देखि २७ तारिखसम्ममा अमेरिकामा बन्दुक हिंसामा १९४ व्यक्तिको ज्यान गइसकेको छ ।
यो सामग्री तयार पारिरहँदा आजको दिन (सोमवार, मार्च २७, २०२३)मा अमेरिकाको टेनेसी राज्यको एक शहर एवं यस राज्यको राजधानीसमेत रहेको नाशभिल भन्ने स्थानमा बन्दुक हिंसा भएको छ । एकजना २८ वर्षीय (समाचारहरूमा उल्लेख भए अनुसार महिला) बन्दुकधारीले चलाएको गोलीबाट छजनाको ज्यान गएको छ । मारिने छजनामध्ये तीनजनाको उमेर नौ वर्षको थियो भने तीनजनाको उमेर ६०, ६१ र ६१ वर्ष थियो ।
बिहानको १० बजेतिर भएको सो घटनामा सुरक्षाकर्मीहरू तत्काल घटनास्थलमा पुगेका थिए र उनीहरूले चलाएको गोली लागेर बन्दुकधारीको घटनास्थलमा नै मृत्यु भएको थियो । नाशभिलको एक निजी धार्मिक विद्यालयमा उक्त घटना भएको थियो । समाचारहरूले जनाए अनुसार उक्त बन्धुकधारीको साथमा दुर्ईवटा राइफल र पेस्तोल थियो । दुर्ईवटा बन्दुक भने सो बन्दुकधारीले कानूनीरूपमा नै प्राप्त गरेको पाइएको थियो । बन्धुकधारी सोही विद्यालयको पूर्व विद्यार्थी रहेको र निजको कुनै पनि किसिमको आपराधिक पृष्ठभूमि नरहेको पनि पाइएको थियो ।
विश्वका अति बन्दुक हिंसा हुने देशहरूमा अपराधप्रवृत्ति, लुटपाट र राजनीतिक कारणका साथ बन्दुक हिंसा हुन्छ भने अमेरिकामा उद्देश्यहीन एवं साधारण कारणले हुन्छ । कतिपय घटनामा हिंसा गर्ने बन्धुकधारीलाई आफूले किन अरूमाथि गोली चलाएको भन्ने (उद्देश्य) पनि थाहा हुँदैन । भेनेजुएला, एल सल्भाडोर, ग्वाटेमाला, कोलम्बिया, ब्रजील जस्ता राष्ट्रहरू विश्वमा नै सर्वाधिक बन्दुक हिंसा हुने देशहरूको सूचीमा पर्छन् ।