बलिराम शुक्ला, बिरुवागुठी, ११ जेठ/
गाईभैंसीमा महामारीको रूपमा फैलिएको लम्पी स्किन डिजिज रोग पर्सागढी नगरपालिकामा पनि देखिएको छ ।
यहाँका पशुपालक किसानहरूले पालेका करीब आधा दर्जन गाईभैंसीमा यो रोग देखा परेको हो ।
पर्सागढी नपा–२ निवासी वीरेन्द्र महतोले पालेको गाईमा यो रोग देखा परेको छ भने वडा नं ३ र ४ मा पनि गाईभैंसीमा लम्की स्किन डिजिज देखा परेको पशुविज्ञले बताएका छन् ।
पर्सागढी नपा पशु सेवा शाखा प्रमुख डा पुष्पेन्द्रकुमार साहले अत्यधिक गर्मी शुरू भएसँगै गाईभैंसीमा लम्पी स्किन रोगको प्रकोप देखिएको बताए । उनले यसको रोकथामको लागि खोप, भेटेनरी अस्पताल र विज्ञ माग गरिएको बताए । झिंगा, भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट यो रोग सर्ने उनले बताए । रोग लागेका गाईभैंसीको शरीर तथा छालामा गिर्खा/गाँठो देखिने र पछि घाउमा परिणत हुने उनले बताए ।
उच्च ज्वरो आउने र गाईभैंसीले दूध उत्पादन कम गर्ने तथा दूध नै सुक्ने यो रोगको लक्षण रहेको उनले बताए । पशु प्राविधिकको सुझाव अनुसार उपचार गराउन र गोठको सरसफाइमा ध्यान दिने डा साहले सुझाव दिए ।