प्रस, निजगढ, ९ जेठ/

गत वर्ष कोल्हवी नगरपालिकाले लगाएको नदीजन्य पदार्थ (दहत्तर बहत्तर) को ठेक्का सकार गर्ने ठेकेदार कम्पनीले कानूनविपरित नदीजन्य पदार्थ थुपारेर वन क्षेत्रमा घाटगड्डी गरिरहे पनि डिभिजन वन कार्यालय, बारा मौन रहेको छ ।

डिभिजन वन कार्यालय, बारा मातहतको निजगढस्थित बकैया पुल दक्षिण–पश्चिमतर्फ र तामागढी सबडिभिजन वन कार्यालय, निजगढ पूर्वतर्फ बकैया खोलानजीकैको राष्ट्रिय वन क्षेत्रमा वनको इजाजतविना गैरकानूनीरूपमा वन क्षेत्रलाई घाटगड्डी स्थलको रूपमा ठेकेदारले प्रयोग गर्दै आइरहेको छ । उक्त थुपारिएको ग्राभेल सो सबडिभिजन वन कार्यालयदेखि बढीमा ५० मिटर दूरीमा छ ।

वन क्षेत्रमा नदीजन्य पदार्थ थुपार्न वा घाटगड्डी गर्न डिभिजन वन कार्यालय, बाराले अनुमति नदिएको,  विनाअनुमति वन क्षेत्रमा थुपारिएका नदीजन्य पदार्थ हटाउन तत्कालै पत्राचार गर्ने डिवका, बाराका प्रवक्ता एवं सहायक वन अधिकृत जवाहरलालप्रसाद कुर्मीले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७८/८९ मा कोल्हवी नगरपालिकाले बकैया खोलामा नदीजन्य पदार्थ उत्खननको ठेक्का बन्दोबस्तीपछि ठेक्का सकार गर्ने ठेकेदार कम्पनीले बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन गरिराखेको हो । वन क्षेत्रमा राखिएका नदीजन्य पदार्थ चार सय टिपर अर्थात् एक लाख ६९ हजार ३४४ घनफिट रहेको अनुमान छ । गत वर्ष कोल्हवी नपाले लगाएको नदीजन्य पदार्थ उत्खननको ठेक्का कोल्हवीको महालक्ष्मी निर्माण सेवा सकार गरेको कोल्हवी नगरपालिका कार्यालयले जनाएको छ । करीब ८२ लाख ५० हजार घनफिट नदीजन्य पदार्थ उत्खनन गर्न मूअकरसहित छ करोड ४५ लाखमा सकार गरेको ठेकेदार सुबोध कुँवरले बताए ।

उक्त नदीजन्य पदार्थको जिल्ला समन्वय समिति, बाराबाट स्टक प्रमाणित भएको र त्यस बेला करचुक्ता नभएकोले तत्कालै सो नदीजन्य पदार्थ उठाउन नसकिए पनि अहिले करचुक्ता भइसकेकोले असार मसान्तभित्रमा उक्त ग्राभेल उठाउने ठेकेदार कुँवरले जानकारी दिए ।

यता निजगढस्थित तामागढी वन क्षेत्रमा राखिएको नदीजन्य पदार्थको स्टक प्रमाणित ठेकेदारले जिससबाट गराइसकेको लेखा अधिकृत सुरेन्द्र चौधरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here