प्रस, वीरगंज, ७ जेठ/
नारायणी अस्पतालमा निर्माण हुने कोभिड भवन प्राविधिक त्रुटिले नबन्ने अवस्थामा पुगेको छ । ५० शय्याको कोभिड भवन निर्माणको लागि स्वास्थ्य मन्त्रालयले चार करोड बजेट विनियोजन गरेर नारायणी अस्पतालमा पठाएको थियो । अस्पतालले प्राविधिकबाट सोको नक्शा तयार गरेर ठेक्का पनि लगायो । तर नक्शा तयार गर्ने बेलामा माटो परीक्षण नगरिएको र अस्पतालका प्राविधिकले तयार गरेको नक्शा अनुसार भवन बनाउँदा जोखिम हुने देखिएपछि ठेकेदारले माटो परीक्षण गराएको र परीक्षण रिपोर्टको आधारमा अस्पतालले तयार गरेको नक्शा अनुसार भवन बनाउन नमिल्ने भएपछि अर्काे नक्शा तयार गरियो । पछिल्लोपटक माटो परीक्षणसहितको नक्शा बनाउँदा साबिक लागत मूल्य चार करोडमा कोभिड अस्पताल नबन्ने भएपछि यसबारेमा मन्त्रालयसँग पुनः पत्राचार गरिएको थियो । तर मन्त्रालयले यसबारेमा अहिलेसम्म कुनै जानकारी गराएको छैन । पुरानो नक्शा अनुसार बजेट विनियोजन गरिएको र सो अनुसार निर्माण नहुने भएर अर्काे नक्शा तयार गरिएकोमा लागत बढेपछि मन्त्रालय अहिलेसम्म मौन छ ।
अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले प्राविधिक त्रुटि हुन गएकोले साबिकको नक्शा अनुसार भवन बन्न नसक्ने अवस्था सिर्जना भएको र नयाँ नक्शा तयार गर्दा साबिकको बजेटभन्दा बढी हुन गएकोले यसबारेमा मन्त्रालयबाट अहिलेसम्म कुनै जानकारी नगराइएको बताए । उनले कोभिड भवनको काम त्यक्तिकै थन्किएर बसेको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले कोभिड सकिएकोले भवन नबनेको हुन सक्ने बताए । उनले यसबारेमा आफूलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिए ।
अक्सिजन प्लान्टको ओइरो
नारायणी अस्पताल वीरगंजमा अहिले अक्सिजन प्लान्टको ओइरो लागेको छ । नेपालमा कोभिड शुरू भएको २०७६ सालको अन्त्यपछि अहिलेसम्म चार वर्षमा तीनवटा अक्सिजन प्लान्ट अस्पतालमा आइसकेको छ । जसमध्ये दुईवटा प्लान्ट जडान गरिएको छ भने एउटा त्यक्तिकै थन्काएर राखिएको छ । कोभिडको प्रकोप बढेसँगै पहिलोपटक अस्पतालमा पूर्वसांसद विमलप्रसाद श्रीवास्तवले त्यतिखेर संसदीय विकास कोषबाट रु दुई करोडको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएका थिए । उनले जडान गरेको अक्सिजन प्लान्ट सञ्चालनमा आउन पनि निकै समय लागेको थियो । अस्पतालको विद्युतीय वायरिङ पुरानो भएको र त्यसले विद्युतीय भार थाम्न नसक्ने प्राविधिकले सुझाएपछि अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनको लागि अक्सिजन सप्लाई हुने अस्पतालका शाखाहरूमा नयाँ वायरिङ गराएको थियो । पूर्वसांसद श्रीवास्तवले सो प्लान्ट सञ्चालनमा ल्याएको एकाध महीनापछि एउटा आइएनजिओले अस्पतालमा अर्काे अक्सिजन प्लान्ट जडान गरेको थियो । त्यसपछि सरकारले नारायणीमा ५० शय्याको कोभिड अस्पताल बनाउने घोषणा गरेपछि मन्त्रालयले अर्को अक्सिजन प्लान्ट अस्पतालमा पठायो । गत एक वर्षदेखि सो अक्सिजन प्लान्ट अस्पतालबाहिर त्यत्तिकै काठको बक्सामा राखिएको छ । घामपानीले केही बक्साहरू टुटफुट भएर मेशिन चोरी हुन सक्ने सम्भावना बढेको छ ।
अस्पतालका सूचना अधिकारी डा सिंहले दुईवटा अक्सिजन प्लान्ट जडान भइसकेको र तेस्रो जडान हुन नसकेको बताए । कोभिड अस्पताललाई लक्षित गरेर आएको अक्सिजन प्लान्ट कोभिड अस्पताल बन्ने सम्भावना कम भएकोले जडान हुन नसकेको उनले बताए ।