- राजेश मिश्र
“मैं तेरी दुश्मन, दुश्मन तु मेरा, मैं नागिन तु सपेरा …” गीतको धुन वादकले हारमुनियममा बजाउन थाले । ढोल, नगाडा र झालको तालमा गीतको धुन अति कर्णप्रिय थियो । नाचको प्रारम्भिक चरणमा केहीबेर विभिन्न गीतका धुनहरू बजाइन्छन् । यसले दुई प्रकारका फाइदा हुन्छ । पहिलो, नाचका पात्रहरूलाई तयार हुन समय मिल्छ । दोस्रो, नाच शुरू हुन लागेको सूचना चारैतिर प्रवाहित हुन्छ ।
समियाना र चोप
उहिले टेन्टको हकमा समियानाको विकल्प थिएन । बाक्लो कपडाको वजनदार समियानालाई बाँसको चोपले ठड्याइन्छ । समियाना ठड्याउने बाँसलाई चोप भनिन्छ । समियाना १५ देखि २४ वा सोभन्दा बढी चोपको पाइन्थ्यो । आकारमा जति ठूलो समियाना हुन्छ, त्यति बढी बाँसको चोप प्रयोग गर्नुपर्छ । चोपको सहाराले समियाना ठड्याइसकेपछि प्रत्येक चोपलाई डोरीको सहायताले तानेर भुइँमा गाडेको बाँसको खुट्टामा बाँध्नुपर्छ । यसरी सामान्य हावाहुरीमा चोप लड्दैन र समियाना खस्दैन । सीप र ज्ञानविना समियाना ठड्याउनु असम्भव छ ।
समियानामा पराल र सोमाथि दरी ओछ्याइएको थियो । समियानाभन्दा केही पर जेनेरेटर चलिरहेको थियो । समियानाका चोपहरूमा झुन्ड्याइएका ट्युबलाइटहरूको कृत्रिम प्रकाश सकेसम्म अँध्यारोमाथि हाबी हुने प्रयत्न गरिरहेको थियो । केही ट्युबलाइटहरू मानिसले आँखा झिम्काएझैं झ्याप–झ्याप गरिरहेको थियो । शायद विद्युत् भोल्टेजको कमी वा ट्युबलाइटको खराबीले यस्तो भइरहेको थियो ।
बारात ढिलो आएका थियो । त्यस कारण नाच शुरू हुन ढिला भयो । रातिको सवा बार्ह बज्न लागेको थियो । सङ्गीतमय धुन चारैतिर पुग्न थालेपछि गँवधुवा (बेहुली पक्षका गाउँवासी)हरूको ओइरो लाग्न थाल्यो । बिस्तारै भीड बढ्न थाल्यो । समियानाको ओतमा बस्नको लागि गँवधुवा र बरातीबीच होहल्ला र बहस शुरू भयो । सामान्य विवादले उग्ररूप लिन थाल्यो ।
माइकबाट गर्जनाद
“ऐ हल्ला ? शान्त रह लोगन ना त नाच बन्द होजाई ।” हातमा लठी लिएका जुङ्गाधारी ती व्यक्तिले लाउडस्पीकरमार्फत ऐलान गर्न थालेछन् । सोसँगै गाउँवासीलाई पछि हट्न र बरातीहरूलाई ठाउँ दिन सूचना प्रवाह गर्न थाले । यसले माहोल झन् उग्र बन्यो । गँवधुवाहरूको तर्फबाट मिश्रित स्वरमा प्रश्न गुञ्जायमान भयो, “हो, रात के महफिल गँवधुवा के आ दिन के बराती के ह, तोहरा थाह नइखे का हो ?” रातको महफिलमा गाउँले र भोलिपल्ट बरियतियाहरूले महफिलको अग्रपङ्क्तिमा बस्ने सदियौंदेखि स्थापित लोकमान्यता हो ।
यसको अर्थ बरियतियाहरूले रातमा नाच हेर्न पाउँदैनन् भन्ने होइन । हिन्दू मान्यता अनुसार जनमानसमा बेहुला पक्ष पश्चिमतर्फ पूर्वाभिमुख बस्ने नियम छ । सोबाहेक उत्तर, दक्षिण र पूर्वतर्फ सहमति वा अपवादबाहेक रातिको महफिलमा गँवधुवाहरूलाई हटाएर बरियतियाहरूले बस्न मिल्दैन । त्यसैगरी, दिनको महफिलमा पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी समियानाले ओगटेको क्षेत्रफलमा गँवधुवाहरूले बरियतियाहरूको सहमतिबेगर बस्न मिल्दैन । यद्यपि नियमभन्दा माथि आपसी सहमति हो ।
गँवधुवा र बरियतियाहरूबीच वादविवाद धेरैबेर टिक्न सकेन । आपसी सहमति हुन बेर लागेन । किनभने वादविवाद गरेर चर्चित र महँगो नाचको आनन्द खेर फाल्ने मनसायमा दुवै पक्ष थिएनन् । उनीहरू महफिलमा मिलिजुली बसे ।
उहिले विवाहमा नाच मनोरञ्जनको एकमात्र तथा अनिवार्य संसाधन थियो । गच्छे अनुसार नाचको साटा बाँधिन्थ्यो । सस्तो र महँगो सबै प्रकारका नाच पाइन्थ्यो । नाच हेर्नकै निम्ति मानिसहरू दूरदराजबाट नाचस्थलसम्म आइपुग्थे । कुन गाउँमा, कसको घरमा, कहाँबाट र कुन नाच आउँदैछ भन्ने कुरा एक कान दुई कान हुँदै इलाकाभरि फैलिन्थ्यो । यदि चर्चित नाच आउँदैछ भने भीड थामिनसक्नु हुन्थ्यो ।
नाचको जोकर
विभिन्न प्रकारका नृत्य र सङ्गीतसँगै बीचबीचमा हास्यरस शुरू हुन्थ्योे । हास्य कलाकारलाई मधेसमा ‘जोकर’ भनेर सम्बोधन गरिन्छ । यसै क्रममा “सुनी सुनी ए पञ्चे कवन महीना में कवन–कवन फल ना खाएके ?” कुन महीनामा कुन फल खानुहुँदैन, दाइजो, छुवाछूतलगायत विभिन्न सामाजिक विकृति उपर जनचेतनामूलक सन्देश हास्यशैलीमा प्रवाहित गरिन्छ । नाचको विशेषताहरूमध्ये यो पनि एक हो । गीत, नृत्य, सङ्गीत, हास्यव्यङ्ग्य र नाटकले भरिपूर्ण नाच मनोरञ्जनको एकमात्र संसाधन थियो ।
नृत्याङ्गना
प्रस्तोताले, “तो भाइयों और बहनों, आप सभी के सामने सुमधुर गीतके साथ आ रहीं हैं हमारे कम्पनी के सुपरडुपर अदाकारा, राधा रानी …।” यसपछि माहोल एकाएक शान्त भयो । माइकमा नाम उच्चारण भएसँगै नृत्याङ्गनाको उपस्थिति हुनुपर्ने हो । तर नृत्याङ्गनाप्रति दर्शकहरूको मनोभाव जान्नका लागि जानीजानी केहीबेर ढिलो गरिन्छ ।
प्रस्तोताले पछाडि फर्केर हेरे । राधारानी देखिइनन् । उनी दर्शकतर्फ फर्केर पुनः ठूल्ठूलो स्वरमा राधारानीको नाम शायराना अन्दाजमा उच्चारण गर्न थाले । प्रस्तोताको ध्यान दर्शकहरूमाथि केन्द्रित थियो । लगत्तै दर्शकहरूको तर्फबाट तालीको गड्गडाहट गुञ्जियो । हारमुनियम वादकको पछाडि घुङ्घटले अनुहार छोपेकी राधारानीको उपस्थिति भयो । दर्शकहरू झुम्दै ताली बजाउन थाले । प्रस्तोताले झन् उत्तेजित स्वरमा राधारानीको नाम उच्चारण गर्न थाले । माहोल उत्साहप्रद थियो । राधारानीको गीत र नृत्य सुन्न र हेर्नका लागि दर्शकहरू आतुुर थिए । दर्शकहरूमा चरमोत्कर्ष व्याप्त थियो ।
प्रस्तोतालाई इङ्गित गर्दै भीडबाट आवाज गुञ्जायमान भयो, “कथी चिलाइल बाड हो मरदे, तु जा ना जल्दी आ राधारानी के आवे द, नाचे द, गावे द ।” मधुर मुस्कान र मयूरको चालझैं बिस्तारै राधारानीको कदम माइकतर्फ अग्रसर भयो । प्रस्तोताले घरी राधारानी र घरी दर्शकतर्फ हेर्दै ठूल्ठूलो स्वरमा राधारानीको नाम उच्चारण गरिरहेका थिए । अन्ततः राधारानीको आगमनपछि प्रस्तोता प्रस्थान गरे । दर्शकहरू राधारानीको आवाज सुन्न आतुर थिए । यसले दर्शकहरू माझ राधारानी कति लोकप्रिय थिइन् भन्ने कुरा महसूस गर्नु कठिन थिएन । यसैबीच राधारानीले घुङ्घट थोरै माथि उचाल्दै–
“घुङ्घट की आड से दिलबर का
दिदार अधूरा रहता है
जब तक ना पडे आशिक की नजर
सिङ्गार अधूरा रहता है …।”
राधारानीको मुखारबाट गीत प्रस्फुटित भएसँगै हारमुनियम, ढोल र नगाडाको ताल शुरू भयो । यससँगै दर्शकहरूको माझबाट तालीको ठूलो गड्गडाहटले माहोल हेर्न लायक थियो । गीत सकिएसँगै भीडतर्फ औंलाले इशारा गर्दै राधारानीको मुखारबाट एक हिन्दी शायरी गुञ्जित भयो–
हम आपकी हर चीज से प्यार कर लेंगें,
आपकी हर बात पर ऐतबार कर लेंगें,
बस एक बार कह दो कि तुम सिर्फ मेरे हो,
हम जिन्दगीभर आपका इन्तजार कर लेंगें ।
यस शायरीले प्रत्येक दर्शकलाई आफूलाई नै इङ्गित गरिरहेको भन्ने लागिरहेको थियो । यो हर्कतले दर्शकहरूले मनलडु खाइरहेको जस्तो आभास भइरहेको थियो । गीत र शायरीले माहोल गरम र उत्तेजित थियो । राधारानीले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरूको ध्यान एकबद्ध गरिसकेकी थिइन् । बरियतिया र गँवधुवाहरू मनोरञ्जनको सागरमा चरम गोता लगाइरहेका थिए ।
नर्तकीको मधुर मुस्कान र दर्शकहरूको आनन्दमयी उत्तेजनाबीच प्रस्तोताको आगमन भयो । माइक प्रस्तोताको हातमा थियो । नर्तकी केही पर सरिन् । प्रस्तोताले भने, “दुलहा के पिताजी श्री विकाश शर्माजी (काल्पनिक नाम) ने राधारानीको दश रुपयेंका इनाम देते हुए कहते हैं–
हम आपकी हर चीज से प्यार कर लेंगें,
आपकी हर बात पर ऐतबार कर लेंगें,
राधारानी कह दो कि तुम सिर्फ मेरी हो,
हम जिन्दगीभर आपका इन्तजार कर लेंगें ।”
प्रस्तोताको मुखारबाट आफ्नो नाम उच्चारण भएको सुनेदेखि चिहाएका दुलहाका पिताजी शायरी सुनेर झसङ्ग भए । उनकैनजीक बसेका अनन्य मित्र दीपक जैसवालले उनको कानमा खुसखुस गर्दै भने, “का हो पाटनर, जेतने बुढातार ओतने जवानी चढता का ? गिन के देख त, मुह में कय गो दाँत बा ?” दुलहाका पिताजी अनुहारमा कृत्रिम मुस्कान प्रकट गर्दै भने, “हम सब बुझतानी इ केकर बादमाशी ह । तु पेशाब करे के बहाना से इहे करे गइल रल ह ना ?”
सोको केहीबेरको अन्तरालमा दीपकको नाम चार/पाँच पटक माइकबाट गुञ्जित भयो । अहिले दीपकको अनुहार कालो अनुहार हेर्नलायक थियो । यस्तो भयो कि एकले अर्काको नाममा पैसा दिन थाले । यो माहोल नाच पार्टीको लागि अतिरिक्त आम्दनीको स्रोत बन्यो । रमाइलोपन र हाँसोठट्टामाझ शराबी फिल्मको गीत ‘मुझे नौ लखा मंगा दे रे ओ सैंया दिवाने’को ट्रेकमा राधारानीको मनमोहक नृत्य शुरू भयो ।