- डा शिवशङ्कर यादव
अहिलेसम्म हामीले ब्रेनलाई प्राणीको हरेक गतिविधि कमान्ड गर्ने केन्द्रको रूपमा बुझ्यौं । र यो पनि हेर्यो कि यी केन्द्रहरू ब्रेनका विभिन्न भागमा छरिएका हुन्छन् । यही केन्द्रहरू आपसमा एकअर्काको सहयोग र साथले विभिन्न कार्यको सम्पादन गर्छन् । यसमा सबैभन्दा सुपर क्लिस्ट र सहयोगात्मक कार्य हो, बुद्धिमत्ताको सम्पादन । प्रायः सबै केन्द्रको सहयोगले मात्र बुद्धि, विवेक र प्रत्युत्पन्नमतित्व प्राप्त हुन्छ । यी सबै उच्चतर कार्य सबै प्राणीमा पाइन्छन् तर मानिसमा यी सबैभन्दा बढी विकसित पाइएको छ । अन्य प्राणीभन्दा भिन्न मानिस यस मानेमा छ कि मानिसले बोल्न सक्ने र वाक्यको निर्माण गर्न सक्छ, त्यसलाई लेख्न सक्छ र लेखेकोलाई अन्य मानिसले पनि जस्ताको त्यस्तै बोल्न, बुझ्न र फेरि लेख्न सक्छ अथवा त्यसलाई आफूअनुरूप व्याख्या गर्न सक्छ । यतिमात्र होइन, उसले लेखेको कुरालाई अन्य दुरस्त स्थानमा पठाएर सम्पे्रषण पनि गर्न सक्छ । यस सम्प्रेषणको काम पहिले चिठीपत्रद्वारा हुन्थ्यो भने आजभोलि लेखेका सबै एकसाथ आफूले बनाएको मेशिनद्वारा एकैसाथ जस्ताको त्यस्तै संसारका प्रत्येक कुनामा पठाउन सक्छ । यतिमात्र होइन, मानिसले आफ्नै जस्तो हूबहू सबै कार्य सम्पादन गर्न सक्ने कम्प्युटरको पनि निर्माण गरिसकेको छ, जसलाई एआई भनिन्छ । यी सबै मानिसको ब्रेनको उच्चतर कार्यसम्पादन अन्तर्गत आउँछन् तर यसका आधारभूत कुरा भने केवल तीन चीज हुन्– लर्निङ अथवा सिकाइ, मेमोरी अथवा स्मरण र स्पीच अथवा बोल्ने शक्ति वा भाषा । आज हामीले यी तीनवटै आधारभूत कुराको विवेचना गर्नेछौं । लर्निङ वा सिकाइ त्यो प्रक्रिया हो जसद्वारा मानिसले नयाँ सूचना प्राप्त गर्छ र आफ्नो व्यक्तित्वमा निखार ल्याउँछ । स्मरणद्वारा मानिसले प्राप्त सूचनाको सञ्चय गरी फेरिफेरि प्रकट गर्न सक्ने शक्ति हो भने बोली त्यो घटना हो, जसद्वार मानिसले प्राप्त गरेको सूचनालाई बोलेर, लेखेर वा पढेर व्यक्त गर्न सक्छ । आज हामी यिनै तीन उच्चतर बौद्धिक कार्यको सङ्क्षेपमा वर्णन गर्नेछौं ।
लर्निङ वा सिकाइ ननएशोसिएटिभ र एशोसिएटिभ दुर्ई प्रकारको हुन्छ । ननएशोसिएटिभ, सिकाइको त्यो रूप हो, जसमा प्रतिक्रिया केवल एक स्टिमुलसप्रति हुन्छ । जसरी हामी खाना खान्छौं र र्याल मुखमा आउँछ । यहाँ खाना केवल एउटा मात्र स्टिमुलस हो । एशोसिएटिभ एउटा जटिल प्रक्रिया हो, जो एक स्टिमुलसको अर्को स्टिमुलसको सम्बन्धले व्यक्त हुन्छ । यो पछि स्पष्ट हुँदै जान्छ । ननएशोसिएटिभ सिकाइ दुर्ईटा कुरामा निर्भर हुन्छ– हेबिचुएशन अथवा आदतीकरण र सेन्सिटाइजेशन अथवा चैत्यनीकरण । जब कुनै उत्तेजनालाई बारम्बार दोहराइन्छ, तब पहिले त उसले मानिसमा प्रभाव पार्छ तर पछि प्रभाव कम हुँदै जान्छ, अर्थात् मान्छेमा त्यसलाई सहन सक्ने आदत पर्छ अर्थात् मान्छेले त्यसलाई अस्वीकार गर्छ अर्थात् त्यसको असर हुँदैन । उदाहरणको लागि सडकछेउको घरमा जहाँ सवारीसाधनको उत्पात शोर हुन्छ, त्यहाँ पहिले त मान्छे सुत्न नै सक्दैन । तर केही दिनपछि उत्पात आवाजको बीच पनि मान्छे मज्जाले सुत्न सक्छ । यस्तो सिकाइको आदतीकरणको प्रभावले सम्भव हुन्छ । सेन्सिटाइजेशन वा चैतन्यीकरणको मतलब यो हो कि एक आवाजप्रति त तपाईंको आदत परेको छ तर त्यही आवाज कुनै अर्को आवाजसँग मिसिएर आउँछ, तब मान्छेले अधिक सचेतना देखाउँछ । उदाहरणको लागि कुनै महिलालाई हल्लाको बीचमा सुत्ने आदत परेकोले आरामले सुत्छ तर जब उसको बच्चा रुन्छ र त्यसको आवाज पनि त्यसमा मिसिन्छ, तब महिला तुरुन्त उठछिन् । महिला बच्चाको आवाजले सेन्सिटाइज भएकी छन् । एशोसिएशन सिकाइ भने जटिल प्रक्रिया हो, जो एक स्टिमुलसको अर्को स्टिमुलसको सम्बन्धले व्यक्त हुन्छ । उदाहरणको लागि रूसी वैज्ञानिक पेभलभको प्रयोग धेरै चर्चित छ । उनले कुकुरलाई खाना दिए । नभन्दै र्याल मुखमा निस्कियो । केही दिनपछि खानाको साथै एउटा घण्टी बजाउन थालियो । यो प्रक्रिया पनि केही दिन चल्यो । अब केवल घण्टी मात्र बजाउन थालियो, खाना दिइएन । तापनि कुकुरको र्याल उसको मुखमा खाना खाए जस्तै निस्कन थाल्यो । यसले के बुझियो भने खाना र घण्टी दुर्ई स्टिमुलसको यहाँ एशोसिएशन छ । त्यसैले यसलाई एशोसिएशन सिकाइ भनियो ।
अब आउनुस् मेमोरी अथवा स्मरणको विवेचनामा
मेमोरी ः मान्छेले प्राप्त सूचनालाई ब्रेनमा सङ्ग्रह गरी राख्ने शक्तिलाई मेमोरी वा स्मरण भनिन्छ । यो केही सेकेन्ड अथवा केही दिन, सप्ताह, महीना, वर्ष वा कहिलेकाहीं जीवनपर्यन्त पनि सङ्ग्रहित हुन्छ । मेमोरी तीन प्रकारको हुन्छ– १. फिजियोलोजिकल अथवा शरीरक्रियात्मक,२. टाइम रिलेटेड अथवा समय सम्बन्धित र ३. विभिन्न अवधिमा निर्भर । पहिलोको दुर्ई प्रकार हुन्छः एक्सप्लिसिट वा डिक्लियरेटिभ वा रिकोग्निसन र इम्प्लिसिट वा ननडिक्लियरेटिभ वा स्कील्ड मेमोरी । तपाईंलाई तीन दिन पहिले नास्ताको समयमा मनाइएको कसैको बर्थ डेको याद आयो । यो एक्सप्लिसिट मेमोरी हो, जो बाहिरीजगत्मा चारैतिर घटित हुन्छ । यसको केन्द्र ब्रेनको हिप्पोकैम्स र टेम्पोरलोवको मेडियल भागमा हुन्छ । इम्प्लिसिट मेमोरीमा चेतनाको खासै जरुरी हुँदैन र काम आफैं भइरहन्छ । साइक्लिङ, ड्राइभिङ, टाइपिङ, डान्सिङ आदि लर्निङ यसमा आउँछन् । यसमा सेन्सरी र मोटर दुवै पाथवे संलग्न हुन्छन् । २. समय सम्बन्धित मेमोरी ः दुर्ई प्रकारको हुन्छ ः सर्ट टर्म मेमोरी र लङ टर्म मेमोरी । सर्ट टर्म मेमोरीलाई रिसेन्ट अथवा ताजा मेमोरी पनि भनिन्छ, जो केही घण्टादेखि केही दिनसम्म याद रहन्छ । उदाहरणको लागि कुनै टेलिफोन नम्बर अर्को दिनसम्म याद रहन्छ तर प्रायः तेस्रो दिन बिर्सिन्छ । लङ टर्म मेमोरीलाई रिमोट मेमोरी पनि भनिन्छ । यो हप्ता, महीना, वर्ष र कहिलेकाहीं जीवनपर्यन्त पनि याद रहन सक्छ, जसरी पहिलो दिन विद्यालय गएको, हनिमुनको पहिलो दिनको अनुभव वा कुनै पिकनिक आदिको स्मरण यसमा आउँछ । यो मेमोरी बाधित हुँदैन । ३. अवधि निर्भर मेमोरी ः यसको पनि तीन प्रकार हुन्छ– सेन्सरी मेमोरी, प्राइमरी मेमोरी र सेकेन्डरी मेमोरी । सेन्सरी मेमोरी सेन्सरी सिग्नलको रूपमा ब्रेनको सेन्सरी क्षेत्रमा सङ्ग्रहित हुन्छ । यो केवल निमेष मात्रको लागि रहन्छ र एक सेकेन्डभित्र नै अर्को नयाँ सेन्सरी सिग्नलद्वारा विस्थापित भइरहन्छ । यो मेमोरीको सुरुआती दौर हो र सर्ट टर्म मेमोरी अन्तर्गत आउँछ । प्राइमरी मेमोरी तथ्य, सङ्ख्या, अक्षर वा वाक्यसँग सम्बन्धित हुन्छ, जुन केही सेकेन्ड वा मिनेटमा भित्र आउँछ र केही क्षणपछि बिर्सिन्छ । कुनै डायरेक्टरीमा टेलिफोन नम्बर हेर्नुस् । त्यो केहीबेरसम्म याद रहन्छ । डायरेक्टरीको अर्को नम्बर हेर्नासाथ पहिलोवाला बिर्सिंन्छ । मतलब यो कि दोस्रो नम्बरले पहिलो नम्बरलाई विस्थापित गरिदियो । यो पनि सर्ट टर्म मेमोरी नै हो । सेकेन्डरी मेमोरीलाई फिक्स्ड वा परमानेन्ट मेमोरी पनि भनिन्छ । यो ब्रेनको सङ्ग्रहालयमा लामो समयसम्म रहिरहन्छ र घण्टौं, महीनौं वा वर्षौंसम्म रहिरहन्छ । यही लङ टर्म मेमोरी हो ।
बेसिक अफ मेमोरी वा स्मरणका आधार ः मतलब यो कि कुन आधारमा कसरी मेमोरी सङ्ग्रह हुन्छ र याद हुन्छ । मेमोरीको यो आधार पनि तीन प्रकारको हुन्छः १. एनाटोमिकल २. फिजियोलोजिकल र केमिकल अथवा मोलिकुलर । पहिलोमा सिनेप्सको कुरा आउँछ । यो दुर्ई नर्भ फाइबरको जोडलाई भनिन्छ, जसको बारेमा पाठकलाई पहिलेको लेखद्वारा थाहा भएको कुरा हो । अरू कुराको सिनेप्सभन्दा स्मरणको सिनेप्सको बनावट फरक हुन्छ । अर्को ठाउँमा सिनेप्सको संरचनामा एकमात्र प्रिसिनेप्टिक फाइबर हुन्छ, जो पोस्टसिनेप्टिक फाइबरसित मिल्छ र सिग्नल आफूबाट त्यसमा ट्रान्सफर गर्छ । तर मेमोरीको सिनेप्समा दुईवटा प्रिसिनेप्टिक टर्मिनल हुन्छ । एउटालाई प्राइमरी सिनेप्टिक र अर्कोलाई फेसिलिटेटरी टर्मिनल भनिन्छ । प्राइमरी पोस्टसिनेप्टिक फाइबरसँग मिल्छ तर फेसिलिटेटरी प्राइमरीसँग नै मिल्छ पोस्टसिनेप्टिकसँग होइन । जसरी कुनै बिरुवा जमीनसँग मिल्छ तर बिरुवाको शाखा बिरुवासँग नै मिलेको हुन्छ, जमीनसँग होइन । यस प्रबन्धनले मेमोरी लामो समयसम्म टिकिरहन्छ । फिजियोलोजिकल आधारमा मेमोरीलाई न्युरोनल सर्किटको विकास र सिनेप्सको सङ्ख्याले निर्धारण गर्छ । जति बढी सिनेप्सको सङ्ख्या त्यति बढी न्युरोनल सर्किट र त्यही अनुपातमा मेमोरीको पनि बढी उत्पादन । यही सर्ट टर्म मेमोरीको आधार हो । जब न्युरोनल सर्किटलाई निरन्तर क्रियाशील पारिन्छ, जसरी कुनै कुरालाई दोहोराउनु, तब मेमोरी सघन भएर ब्रेनका विभिन्न क्षेत्रमा एनकोड अथवा सङ्ग्रह हुन्छ । हिप्पोकैम्पस, थैलेमस, हाइपोथैलेमस र काप्र्स स्ट्राएटम एनकोड गर्ने मुख्य हिस्सा हुन् तर सेरिब्रल कार्टेक्सको फ्रोन्टल र पेराइटल लोबमा पनि मेमोरी स्टोर हुन्छ । यो लङ टर्म मेमोरीको आधार हो । केमिकल वा मोलेकुलर आधारमा क्याल्शियमको मुख्य भूमिका हुन्छ । क्याल्शियमले निस्सृत सेरोटिनिनको मात्रा बढाइदिन्छ । यही बढेको सेरोटिनिन पोस्टसिनेप्टिक टर्मिनलमा प्रवेश गरेर अत्यधिक मेमोरीलाई सङ्ग्रह गरी राख्ने काम गर्छ ।
कन्सोलिडेशन अफ मेमोरी अथवा स्मरणको सघनीकरण ः सर्ट टर्म मेमोरीलाई लङ टर्म मेमोरीमा बदल्ने प्रक्रियालाई कन्सोलिडेशन भनिन्छ । जब कुनै सूचनालाई बारम्बार दोहोराइन्छ, तब बढी सेरोटिनिन पोस्टसिनेप्टिक टर्मिनलमा प्रवेश गर्छ र यही हो स्मरणको सघनीकरण । जसरी पानीको सघनीकरणले बरफ बन्छ र चाहिएको बेला त्यसै बरफबाट पानी प्राप्त गरिन्छ । त्यस्तै, सर्ट टर्म मेमोरीको सघनीकरणले लङ टर्म मेमोरी बन्छ र फेरि त्यसैबाट ताजा मेमोरी प्राप्त हुन्छ । मेमोरीलाई बढाउने वा फेसिलिटेट गर्ने कतिपय औषधि पनि हुन्छन्, जसमा मुख्यतः कैफिन, निकोटिन, फाइसोस्टिग्मिन र स्ट्रेकनिन आदि आउँछन् । यी सबैले यही कन्सोलिडेशनलाई बढाउँछन् ।
स्पीच वा बोली वा भाषा ः कुनै पनि विचार जसको कुनै निश्चित अर्थ हुन्छ, को आवाजद्वारा व्यक्त गर्ने प्रक्रियालाई स्पीच भनिन्छ । यो ब्रेनको सुप्रिम कार्य अन्तर्गत आउँछ र ब्रेनका विभिन्न सेन्सरी, मोटर र मनोवैज्ञानिक केन्द्रको सहयोग र साथले मात्र सम्पन्न हुन्छ, कुनै एकमात्र भागले होइन । यसरी विचारको मौखिक प्रकटीकरण स्पीच हो, भिजुअल प्रकटीकरण लेखन हो र भिजुअल र मौखिक दुवैको प्रकटीकरण रिडिङ हो ।
मेकानिज्म अफ स्पीच ः यसमा सेन्ट्रल र पेरिफेरल दुर्ई किसिमका औजारहरू हुन्छन् । सेरिब्रल हेमिस्फियर सेन्ट्रल औजार हो भने लैरिनक्स वा साउन्ड बक्स, मुख, नाक, ओठ, जिब्रो भने पेरिफेरल औजारहरू हुन् । दुवैको सम्मिलित प्रयासले मात्र स्पीच सम्भव हुन्छ । यो स्पीच नै हो, जसले मानिसलाई अन्य जनावरबाट भिन्न बनाउँछ ।
स्पीचको विकास ः यसमा दुर्ई स्टेज हुन्छ ः प्रथम र द्वितीय । पहिलोमा बाहिरी संसारबाट केही भिजुअल वा भर्बल शब्द प्राप्त भई मेमोरीको रूपमा सङ्ग्रहित हुन्छ ।
दोस्रो स्टेजमा जब त्यस शब्दको अर्थ बालकले बुझ्छ, तब त्यो सेरिब्रल कार्टेक्सको एरिया ४१ र ४४ मा सङ्ग्रहित हुन्छ । यी दुई एरियाको सहयोगले अब बच्चा त्यस शब्दलाई सस्वर उच्चारण गर्छ, जसको बारेमा गताङ्कमा बताइसकिएको छ । क्रमशः