प्रस, निजगढ, ४ जेठ/

मधेस प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले बाराको निजगढमा बिहीवारदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरू भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि स्थानीय तह स्वयम् अग्रसर हुनुपर्ने बताए । उनले स्थानीय तहले खेलकूद क्षेत्रका लागि छुट्टै कार्यविधि निर्माण गरी खेल गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए । निजगढमा आयोजना भइरहेको यस प्रतियोगिताले विश्वप्रसिद्ध गढीमाईको अन्तर्राष्ट्रियजगत्मा प्रचारप्रसार गर्न मदत पुग्नेमा आफू आशावादी रहेको बताउँदै उनले साँच्चै नै यदि खेल क्षेत्रको विकास, प्रवर्धन गर्ने हो भने स्थानीय तह इमानदारीका साथ निरन्तर अग्रसर हुनुपर्नेमा जोड दिए । विश्वप्रसिद्ध गढीमाईदेवीको नाममा यस प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन आफ्नो पालिका र आफूले तन, मन, धनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । खेलको विकासले पनि स्थानीय तहको पहिचान बढाउनेमा आफू आशावादी रहेको प्रमुख अतिथि यादवले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल तेक्वान्दो सङ्घका संस्थापक महासचिव दीपराज गुरुङले खेल क्षेत्रको विकास गर्न सङ्घीय सरकारको मुख नताकी स्थानीय तहहरूले नै बजेट विनियोजन गरी खेलाडीहरूको संरक्षण एवं प्रोत्साहन गर्दै ठूला प्रतियोगिताहरू आयोजना गर्नुपर्ने बताए । विकसित मुलुकमा स्थानीय तहहरूले नै राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गराउँदै आएकाले अब ढिलो नगरी नेपालले पनि सकारात्मक कार्यको अनुसरण गर्नुपर्ने उनले बताए । सबै कुरामा सङ्घीय सरकारको भर पर्दा खेल क्षेत्रको विकास समयमा हुन नसकेकोले स्थानीय तहहरू नै सक्रिय हुनुपर्ने महासचिव गुरुड्ढो भनाइ थियो ।

त्यसैगरी, अर्का विशिष्ट अतिथि नेपाल सितेरियो कराँते महासङ्घका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकूद परिषद्का पूर्वसदस्यसचिव युवराज लामाले खेलकूद क्षेत्रको विकासका लागि राज्यले विभेद गर्न नहुने बताउँदै खेल र खेलाडीहरूको सङ्ख्याका आधारमा सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए ।

सङ्ख्याका आधारमा रकम विनियोजित नगर्दा कतै रकम नपुग्ने, कतै बढी भएर दुरुपयोग हुने गरेको उनको भनाइ छ । खेल क्षेत्रको संरक्षण, विकाससँगै खेलाडीहरूको रोजगारको अवसर जुटाउनमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यान जान जरुरी रहेकोमा उनले जोड दिए ।

कार्यक्रममा निजगढ नपाका पूर्वप्रमुख सुरेशकुमार खनालले आफू नगरप्रमुख रहँदा तेक्वान्दो खेलको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि यस खेलसँग सम्बन्धित विभिन्न खेल सामग्रीहरू खरीद गर्न बजेट विनियोजन गरिएको र यो प्रतियोगिताको लागि पनि १८ लाख रकम आफ्नो पालामा विनियोजन गरेको उनले बताए । नगरमा अन्य क्षेत्रको विकाससँगै खेल क्षेत्रको विकासमा समेत नगर सचेत भएर लागेको उनले बताए ।

प्रतियोगिताको पहिलो खेल महिलातर्फ ४० किलो तौल समूहमा मधेस प्रदेशकी खुशी ठाकुरले सुदूरपश्चिमकी आरती विष्टलाई पराजित गर्दै अग्रता बनाएकी छन् ।

जीरोगीतर्फ पुरुष सात र महिला छ गरी १३ वटा तौल समूह र पुम्सेतर्फ जुनियर १० वर्ष सिङ्गल, १२ वर्ष डबल र १४ वर्षको समूह गरी तीन तथा सिनियरतर्फ १८ वर्ष तल र माथि महिला र पुरुष गरी चारवटा टीम गरी २० इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछन् ।

उक्त प्रतियोगिताको मुख्य निर्णायकमा राष्ट्रिय खेलकूद परिषद्का तालीम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा रहेका छन् भने निर्णायकहरूमा अन्तर्राष्ट्रिय निर्णायक रवीन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बबलु शिवाकोटी, नविना बुढाथोकी मगरलगायत रहेका छन ।

कार्यक्रममा निजगढ नपाकी पूर्वउपप्रमुख लीलादेवी लामिछाने, समाजसेवी शम्भुबहादुर बुढाथोकी, दिलबहादुर लामा, नवराज तिमल्सिना, महेशी कुमर, निजगढ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वडाध्यक्ष स्वर्ण लामा, रामचन्द्र कटुवाललगायत सहभागी थिए । दुर्ई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता रु ५९ लाखको लागतमा सम्पन्न हुने प्रतियोगिताका प्रेस संयोजक गुरुप्रसाद गौतमले जानकारी दिए ।

प्रतियोगितामा नेपालका सात प्रदेशसहित भारत, बङ्गलादेश, दक्षिण कोरिया, जापानका गरी १७५ जना खेलाडीको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिले जनाएको छ ।                   

नेपाल तेक्वान्दो सङ्घ मधेस प्रदेशका अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भाइकाजी श्रेष्ठले गरेका थिए । यता निजगढमा अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिताको उद्घाटन भइरहँदा निजगढ नपाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला सहभागी भएका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here