नरेश यादव, पर्सागढी, ३० वैशाख/
सखुवाप्रसौनी गाउँपालिका–१ सखुनिया गाउँनजीकैको वन क्षेत्रको आज निरीक्षण गरिएको छ ।
सो वन क्षेत्र अतिक्रमण गरेर भौतिक संरचनाहरू तैयार भएको र तारबार लगाइएको क्षेत्रमा स्थानीयले खेतीपाती गरेको समाचार प्रतीक दैनिकमा प्रकाशित भएपछि शनिवार सो स्थानको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दास, वन अधिकृत फरमान मियाँलगायतले अनुगमन गरेका थिए ।
वन क्षेत्रको करीब ९० बिघा जग्गा स्थानीयहरूले अतिक्रमण गरेर पक्की घरटहरा बनाएको, खेतीपाती गरेको र अतिक्रमणको अभिप्रायले पक्की पर्खालसमेत निर्माण गरिएको प्रतीक दैनिकमा समाचार प्रकाशित भएको थियो ।
वन क्षेत्रको सो जग्गा सहायक वन अधिकारी शशिकान्त तिवारीको मिलेमतोमा अतिक्रमण गरिएको र उनले सो क्षेत्रबाट अनधिकृत रकम उठाउने गरेको अडियो बाहिरिएपछि उनलाई निलम्बन गरिएको छ ।
सो क्षेत्रमा अतिक्रमण बढेपछि त्यसलाई रोक्न मधेस प्रदेश सरकारले वन संरक्षणका लागि आव २०७७/७८ मा ६० लाख ७५ हजार त्यसपछि २५ लाख, लगत्तै १८ लाख ८० हजार र अहिले पुनः १० लाख वन कार्यालयलाई बजेट निकासा गरिसकेको छ ।
वन क्षेत्रको जग्गा संरक्षणका लागि आयोजित तालीम गोष्ठीमा लाखौं रुपियाँ खर्च भइसकेको छ । मधेस प्रदेश, हरित प्रदेशको नाममा आएको रकम पनि वन कर्मचारीहरूले भ्रष्टाचार गरेको आरोप छ । निलम्बनमा परेका तिवारीले यस सम्बन्धमा सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले वन अतिक्रमण हुन नदिन अन्तरिम आदेश जारी गरेको थियो । तर सो क्षेत्रको वन सर्वोच्चको आदेशपश्चात् पनि अतिक्रमणको शिकार हुँदै आएको छ ।
आज अनुगमनमा गएको टोली पनि रित्तो हात फर्किएको छ । सो क्षेत्रमा अतिक्रमण हटाउन वन कार्यालयले पटकपटक प्रयास गरेको जनाए पनि अहिलेसम्म सो ठाउँमा थुप्रै सङ्ख्यामा घर बनेका छन् भने खेतीपाती पनि हुँदै आएको छ । वनले तारबार लगाएको क्षेत्रमा पनि खेतीपाती भएको छ ।
वनले हरित प्रदेशको नाममा आएको बजेट वृक्षारोपण र तारबारमा खर्च गरेको जनाए पनि एउटै वृक्ष पनि त्यहाँ देखिंदैन, तारबार भने छ ।