• डा शिवशङ्कर यादव

गताङ्कमा हामीले फ्रोन्टललोबको अध्ययन समाप्त गरेका थियौं । फ्रोन्टललोबपछि आज हामी बाँकी रहेको पेराइटललोब, टेम्पोरलोब र अक्सिपिटललोबको अध्ययन गर्नेछौं । त्यस भन्दा पहिले फ्रोन्टललोबको इन्ज्युरीले के हुन्छ त्यसबारे पनि थोरै जानकारी लिएर अन्यत्र अग्रसर हुनेछौं ।

फ्रोन्टलबोवको इन्ज्युरीमा हुने लक्षणलाई फ्रोन्टललोब सिन्ड्रोम पनि भनिन्छ जसका लक्षणहरू निम्नलिखित छन् ः

१. यसमा भावनात्मक असन्तुलन हुन्छ, भावुकता रोक्ने शक्ति कम हुने हुँदा रोगी बेचैन र आक्रामक हुन्छ ।

२. कुनै कुराको निर्णय शक्ति क्षीण हुन्छ र कुनै कामको योजना बनाउन पनि त्रुटि हुन्छ ।

३. नयाँ स्मरण गर्न कम तर पुरानो स्मरणशक्ति रहिरहन्छ । जसरी भर्खर पढेको याद रहँदैन तर पहिलेका घटनाहरू याद रहन्छ ।

४. मान्छेको नैतिक र सामाजिक आचरण ध्वस्त हुन्छ र परिवार तथा मित्रसँग प्रेम समाप्त हुन्छ ।

५. मान्छेलाई अवस्थाको गम्भीरता थाहा हुँदैन र हवाहवाई किल्लामा विचरण गर्छ जसलाई फ्लाइट अफ आइडिया भनिन्छ । मान्छे घरी एउटा कुरा, घरी अर्कै कुरा सोच्न थाल्छ । कुनै पनि एउटा विचारमा स्थिर रहँदैन ।

५. उपरोक्त मानसिक गडबडीको साथै अरू थोक पनि देखिन्छ, जस्तै–धेरै खाने जसलाई हाइपरफेजिया भनिन्छ, पखाला र पिसाप नियन्त्रित हुँदैन, दिशा भ्रम र थोरै ट्रैमर पनि हुन्छ ।

अब आउनुस् पेराइटललोबको विवरणमा–

पेराइटललोब ः यसको तीनवटा कार्यक्षेत्र हुन्छ १. सोमेस्थेटिक एरिया प्रथम २. सोमेस्थेटिक एरिया द्वितीय र ३. सोमेस्थेटिक एसोसिएशन एरिया र साथै सेन्सरी मोटर एरियाको एक भाग । पहिलोमा एरिया ३,१,२ आउँछ जसलाई प्राइमरी सेन्सरी एरिया पनि भनिन्छ । यसले थैलेमसबाट एफेरेन्ट सेन्सरी फाइबर प्राप्त गर्छ । यो छालाबाट प्राप्त स्पर्श, दबाब, दुःखाइ, टेम्परेचर तथा प्रायोसेप्टर संवेदना प्राप्त गरी काइनस्थेटिक संवेदनाको लागि जिम्मेवार हुन्छ । एरिया १ ले संवेदना प्राप्त गर्छ र एरिया २ र ३ ले त्यसलाई जोड्छ । यसले प्रिमोटर एरियालाई फिडबैक दिन्छ । यो आँखा र टाउकोको गति सित पनि सम्बन्धित हुन्छ । यसको अतिरिक्त यसले विश्लेषण गरेर संवेदनाको स्थान निर्धारण गर्छ र विभिन्न स्थान छुट्याउन सक्छ । अर्थात् कहाँ छोइएको छ ठ्याकै स्थान र यदि दुई वा दुईभन्दा बढी ठाउँमा छोइएको छ भने ती बिन्दुलाई पनि छुट्याउन सक्छ । यसले पैसिभ गति पहिचान गर्नुका साथै संवेदनाको तीव्रता पनि चाल पाउँछ । पैसिभको मतलब तपाईं स्वयंले खुट्टा वा अन्य अङ्ग नउचाली अरूले उचालिदिएको हुन्छ । यसले त्यसको पनि पहिचान र तीव्रताको चाल पाउँछ । संवेदनाको फरकपन पनि यसले पहिचान गर्छ जसरी स्पर्श र दुःखाइको पहिचान आदि । सोमेस्थेटिक एरिया प्रथमलाई उत्तेजित पार्यो भने चीसो र झमझम महसूस हुन्छ । यसमा बिमारी भयो वा चोटपटक लाग्यो र थैलेमस प्रभावित भएको छैन भने सेन्सेसन रहिरहन्छ तर भिन्नता पत्ता लाग्न सक्दैन अर्थात् संवेदना डिसक्रिमिनेट गर्न सकिंदैन । यदि सँगसँगै थैलेमस पनि प्रभावित भएको छ भने अपोजिट साइडको पूरै सेन्सेसन समाप्त हुन्छ । २. सोमेस्थेटिक एरिया द्वितीय ः यो सोमेस्थेटिक एरिया प्रथमको तल अवस्थित हुन्छ । यसलाई सोमेटोसेन्सरी एरीया द्वितीय पनि भनिन्छ । यसले सीधै सोमेस्थेटिक एरिया प्रथम र थैलेमसबाट सेन्सेरी संवेदना प्राप्त गर्छ । यसको ठीक भूमिका थाहा छैन । ३. सोमेस्थेटिक एसोसिएशन एरिया ः यसको नामै एसोसिएशन अथवा सहयोगीको हो । यसमा दुई एरिया आउँछ । यसले सोमेस्थेटिक एरिया प्रथमबाट प्राप्त संवेदनाको संश्लेषण गर्छ । यस कारण यसलाई संवेदनाको कम्बाइन्ड सेन्टर भनिन्छ । उदाहरणको लागि स्टेरियोग्नोसी । यसको बिमारी वा चोटपटकमा एस्टेरियोग्नोसिस रोग लाग्छ । सेन्सेरी एरिया केवल पेराइटललोबमा मात्र सीमित रहँदैन बरु फ्रोन्टललोबको प्रिसेन्ट्रल एरियासम्म पनि जान्छ । उता फाइबर पोस्टसेन्ट्रलमा पनि जान्छ । यसरी प्रिसेन्ट्रल र पोस्टसेन्ट्रल भाग एसोसिएशन फाइबरद्वारा आपसमा जोडिएको हुन्छ । यसै कारण यसलाई सेन्सेरीमोटर एरिया भनिन्छ । यसले नियोसेरिबेलमद्वारा योजनाबद्ध र मिहिन कामको गतिविधिको टाइमिङ र प्रोग्रामिङ स्टोर गर्छ । यसको बिमारी वा चोटपटकमा अर्को साइडको कार्टिकल सेन्सेसनमा गडबडी, काइनस्थेटिक सेन्सेसनको गडबडी तथा स्पर्शको लोकलाइजेशन र डिस्क्रिमिनेशन समाप्त भएर जान्छ ।

टेम्पोरलबोव ः यो टेम्पोरल बोनसँग टाँसिएको भाग हो । यसमा पनि तीनवटा नै फंक्शनल एरिया हुन्छ ः प्राइमरी औडिटरी एरिया, औडिटोसाइकिक एरिया र इक्विलिब्रियम अथवा सन्तुलनको एरिया । प्राइमरी औडिटरी एरिया अन्तर्गत एरिया ४१, ४२ र वर्निक एरिया पर्छ । यसको एफेरेन्ट कनेक्शन मेडियल जेनिकुलेट बडी भाया औडिटरी रेडिएशन र थैलेमसको पल्भिनारसँग हुन्छ तथा इफरेन्ट फाइबर यहाँबाट मेडियल जेनिकुलेट बडी, सुपेरियर कालिकुलस र पल्भिनारमा जान्छ । एरिया ४१ र ४२ ले आवाजको संवेदना प्राप्त गर्ने, त्यसको विश्लेषण गर्ने, तीव्रता र सोर्स पहिचान गर्ने काम गर्छ । प्राइमरी औडिटरी एरियाले आवाजको केवल पहिचान मात्र गर्छ । यसको इन्टरप्रेटेशन भने वर्निक एरिया र औडिटोसाइकिक एरिया दुवै मिलेर गर्छन् । औडिटोसाइकिक एरिया, एरिया २२ हो जुन वर्निक्स एरिया सँग मिलेर यसले आवाजको इन्टरप्रेटेशन गर्छ । वर्निक एरिया एरिया २२ को नै पोस्टेरियर भाग हो जसको पत्ता एकजना जर्मन न्युरोलोजिस्ट र साइकोलोजिस्ट कार्ल वर्निकले लगाएकाले उनैको नाममा राखिएको छ । यसैगरी सन्तुलनको एरियाले शरीरको सन्तुलन कायम गर्छ । यसलाई उत्तेजित पारियो भने रिङटा लाग्छ, शरीर हल्लिने र अन्ततः मान्छे भुईंमा खस्छ ।

टेम्पोरललोबको चोटपटक वा बिमारीमा हुने लक्षणलाई टेम्पोरल सिन्ड्रोम वा क्लवर वकी सिन्ड्रोम भनिन्छ । हेनरिक क्लवर एकजना प्रसिद्ध न्युरोसाइकोलाजिस्ट र वकी एक मशहुर न्युरोसर्जन थिए, जसले १९३७ मा टेम्पोरललोबलाई अलग पारेर हुने लक्षणको संयुक्त अध्ययन गरेका थिए । अतः टेम्पोरललोब सिन्ड्रोमलाई उनकै नाम दिइएको छ । यसका लक्षणहरू निम्नलिखित छन् ः

१. बोल्नमा गडबडी जसलाई एफेजिया भनिन्छ ।

२. विनास्रोत आवाज आउने जसलाई औडिटरी हाFलिसिनेशन भनिन्छ ।

३. कान बज्ने गर्छ र भुनभुनाहट जस्तो आवाज आउने गर्छ ।

४. सुँघ्न र स्वादमा पनि गडबडी हुन्छ ।

५. मान्छे कुनै कामप्रति लापरवाह हुन्छ र जीवन सारभूत महसूस हुँदैन ।

६. यस्ता व्यक्तिमा दृष्टिभ्रम अथवा भिजुअल हाFलिसिनेशन पनि पाइन्छ ।

अब आउनुस् आक्सिपिटललोबमा ः

आक्सिपिटललोब ः सिरेब्रल कार्टेक्सको सबैभन्दा पछाडिको भाग अथवा आक्सिपिटल बोनतिरको भागलाई आक्सिपिटललोब भनिन्छ । यसलाई भिजुअल कार्टेक्स पनि भनिन्छ । यसका पनि तीन भाग हुन्छन् ः एरिया १७, १८ र १९ । १७ लाई प्राइमरी भिजुअल एरिया  १८ लाई एसोसिएशन भिजुअल एरिया र १९ लाई आक्सिपिटल आई फिल्ड भनिन्छ । यसको एफेरेन्ट कनेक्शन मेडियल जेनिकुलेटबडी र इफरेन्ट कनेक्शन सुपेरियर कालिकुलस तथा लैटरल जेनिकुलेटबडीसँग हुन्छ । एरिया १७ ले भिजुअल इम्पल्स प्राप्त गर्छ, १८ ले त्यसलाई इन्टरप्रेट गर्छ । एरिया १९ भने आँखाको गतिसँग सम्बन्धित हुन्छ । यसको बिमारी वा चोटपटकमा यदि एउटै साइड प्रभावित भएको छ भने हेमिएनोपिया अर्थात् आधा अन्धोपन अर्थात् कुनै कुराको केवल आधा मात्र भाग हेर्न सकिने हुन्छ र यदि दुवै साइड प्रभावित छ भने पूर्ण अन्धोपन हुन्छ । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here