• विश्वराज अधिकारी

भ्रमण प्रेम

अमेरिकीहरू भ्रमण गर्न अति नै मन पराउँछन् । आफ्नै देश र संसारका अनेक देश भ्रमण गर्न रुचाउने मात्र होइन, भ्रमण गर्नकै लागि आफ्नो आम्दानीको सानो अंश, सके मासिकरूपमा, छुट्र्याउँछन् पनि ।

अमेरिकीहरूको भ्रमण रुचिलाई देश भित्र र बाहिर गरेर छुट्याउन सकिन्छ । सर्वप्रथम देशभित्र हुने रुचिबारे चर्चा गरौं ।

कुनै अमेरिकीले एउटा राज्यमा नै जन्मदेखि मृत्युसम्म बसेको बिरलै देख्न पाइन्छ । कतिपयले त जीवनभरिमा आफ्नो देशको विभिन्न राज्यमा बस्ने योजनासमेत बनाएका हुन्छन् । नेपाल, भारत, पाकिस्तानजस्तै अमेरिकामा कुनै व्यक्तिलाई तपाईंको घर कहाँ हो भन्ने प्रश्न गरिंदैन । तपाईं कुन शहरमा बस्नु हुन्छ भन्ने प्रश्न गरिन्छ । अमेरिकामा कुनै व्यक्ति स्थायीरूपले एउटै राज्यमा बस्नुको सट्टा जुन राज्यमा आफ्नो अनुभव, शिक्षा वा सीप अनुसार जागीर पाइन्छ, सोही राज्यमा बस्छ । हामी दश पुस्तादेखि यो घर, यो शहरमा बसेका छौं भनेर कुनै अमेरिकीले भनेको सुन्न पाइँदैन । अमेरिकीहरू स्वभाव, संस्कृति र परिवेशले गर्दा प्रायः यायावर प्रकृतिका हुन्छन् ।

अमेरिकनहरू आफ्नै राज्यको तथा अन्य राज्यको अनेक स्थान घुम्न निकै मन पराउँछन् । घुम्न सजिलो पारिदिन अमेरिकामा उपलब्ध हुने मनोरञ्जन–सवारी (RV–Recreational Vehicle) ले पनि निकै सहयोग पुर्याउने गर्दछ । मनोरञ्जन–सवारी एक किसिमको बसजस्तो गाडी हो जसमा शौचालय, स्नानगृह, भान्सा, सुत्ने स्थान एवं बैठक कोठा हुन्छ । यस्तो गाडीमा सवार भएर यात्रा गर्दा घर सरह सुविधा उपलब्ध हुने भएकोले मनोरञ्जन–सवारी खरीद गरेर वा भाडामा लिएर, अमेरिकी आफ्नो देश एवं छिमेकी देशको यात्रामा हिंड्छन् । आफ्नै कार वा सार्वजनिक सवारीका साधन प्रयोग गरेर पनि यात्रा गर्छन् । विश्वको कुन देशका नागरिकले सर्वाधिक आफ्नो देशको भ्रमण गर्छन् भनि प्रश्न गर्ने हो भने त्यसको उत्तर पहिलो फिनल्यान्ड हो भने दोस्रो अमेरिका । सन् २०१९ मा अमेरिकीहरूले देशभित्र भ्रमण गर्दा २.३ बिलियन डलर खर्च गरेका थिए । क्रिसमस, थैंक्सगिभिङ, स्वतन्त्रता दिवसजस्ता अवसरहरूमा देश भित्र भ्रमण गर्नेहरूको सङ्ख्या ह्वात्तै वृद्धि हुन्छ । बर्सेनि करीब ३ करोड व्यक्ति अनेक स्थानको भ्रमण गर्छन् अर्थात् आफू बसेको शहरभन्दा बहिर जान्छन् ।

अब अमरिकीहरूले आफ्नो देश छाडेर विश्वका अनेक राष्ट्रहरूको भ्रमण गर्नेबारे कुरा गरौं । 

अमेरिकीहरू विश्वका अन्य देश पनि घुम्न अति रुचाउँछन् । धेरै अमेरिकीहरूले त इटाली र फ्रान्स घुम्ने सपना नै पालेका हुन्छन् । संसारभरिमा कुन देशका मानिस बढी देश–देशावर घुम्छन् भन्ने प्रश्न गर्ने हो भने उत्तर आउँछ एक नम्बरमा फिनल्यान्ड अनि दोस्रो नम्बरमा अमेरिका । अमेरिकीहरू बढी घुम्छन्, घुम्नका लागि नै भनेर घुम्छन् । जीवनमा गरिने अनेक महत्वपूर्ण कार्यमध्ये घुम्नुलाई पनि एक मान्छन् ।

सङ्ख्याको हिसाबले भने अमेरिकीहरू ठूलो सङ्ख्यामा मेक्सिको र क्यानाडाको भ्रमण गर्छन् । संयुक्त अधिराज्य, जर्मनी, थाइल्यान्ड, चीन, दक्षिण कोरिया जान पनि अमेरिकीहरू औधी रुचाउँछन् । भारतबाहेक कुन देशका नागरिक नेपाल भ्रमण गर्न, नेपालमा काम गर्न आए भनी प्रश्न गर्ने हो भने अमेरिकीहरू भन्ने उत्तर आउँछ । एउटा अमेरिकी संस्था, पिस कप्र्स (Peace Corps) को माध्यमबाट ठूलो सङ्ख्यामा अमेरिकीहरू नेपाल आएका थिए ।

देश विदेशको भ्रमण गर्न अमेरिकी समाजले पनि अमेरिकी नागरिकहरूलाई प्रेरित गर्छ । साथै अमेरिकीहरूको जिज्ञासु स्वभावले पनि भ्रमण गर्न प्रेरित गर्छ । आफ्नो यो जिज्ञासु स्वभावले गर्दा नै अमेरिकीहरू विश्वमा नै सर्वप्रथम एक ग्रहबाट अर्को ग्रह पुगेका थिए, पृथ्वीबाट चन्द्रमामा पुगेका थिए । अमेरिकी वायुयान एपोलो–११ जुलाई २०, १९६९ का दिन चन्द्रमामा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here