प्रस, वीरगंज, २८ वैशाख/

भाषा आयोगको सहयोगमा भोजपुरी प्रतिष्ठान, वीरगंजले ‘मातृभाषा में शिक्षा के सन्दर्भ– भोजपुरी में पठनपाठन’ विषयक विमर्श गोष्ठी बिहीवार सम्पन्न गरेको छ ।

गोष्ठीको उद्घाटन गर्दै भाषा आयोग नेपालका अध्यक्ष डा गोपाल ठाकुरले प्रारम्भिक शिक्षा मातृभाषामा दिन सके सिकाइ विधि सहज हुने बताए । गोष्ठीमा उनले नेपालमा विभिन्न भाषा र भोजपुरी भाषाको इतिहासको बारेमा प्रकाश पारेका थिए ।

भाषा आयोगका सदस्य गोपाल अश्कले मातृभाषामा रोजगार सिर्जना गर्न सके मातृभाषाको विकास हुने बताए । उनले काठमाडौं महानगरपालिकाले मातृभाषाका ११५ जना शिक्षक दरबन्दी कायम गरेको उदाहरण दिंदै पर्सा जिल्लाका पालिकाहरूले पनि सो कुराको सिको गरेमा मातृभाषाप्रति लगाव बढ्ने बताए ।

महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले कुनै पनि समुदाय मातृभाषा रहुन्जेल जीवित रहने हुँदा मातृभाषाको संरक्षणमा  गम्भीरताका साथ लाग्नुपर्ने बताए । कार्यक्रममा केही सहभागीहरूले यहाँ मातृभाषाको उत्थानको कुरा भइरहँदा वीरगंज महानगरपालिकाले अङ्ग्रेजी भाषालाई मातृभाषा बनाउन खोजेको भनी आलोचना गरे ।

नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा भाषाविद् डा विश्वम्भर शर्मा, पत्रकार चन्द्रकिशोर झा, विनोद मेहता, धुव्रसिंह ठकुरी, पत्रकार साहित्यकार रामप्रसाद साह, पत्रकार प्रियङ्का पाण्डे, ललित कला केन्द्रका सदस्य अजमत अली, सलमा खातुन, ओमप्रकाश सर्राफ, तबरेज  अहमदलगायतको सहभागिता थियो ।  कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य रितेश त्रिपाठीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here