प्रस, परवानीपुर, २८ वैशाख/

वीरगंजमा रोजगार मेला शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र इन्टरनेशनल लेबर अर्गनाइजेशन (आइएलओ)को सहयोगमा वीरगंज उद्योग वाणिज्य सङ्घ तथा वीरगंज महानगरपालिकाको संयुक्त आयोजनामा दुई दिने रोजगार मेला वीरगंजमा शुरू भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख राजेशमान सिंहले वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा सयौं उद्योग भए तापनि नेपालीको सट्टा भारतीय कामदारले रोजगार पाउनु दुःखद भएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । उनले श्रम कार्यालय, वीरगंजका प्रमुख प्रशान्त साहको ध्यानाकर्षण गराउँदै भने, “श्रमका हाकिमहरू के गरेर बस्नुभएको छ ? वीरगंजमैं वीरगंजका युवाहरूले रोजगार पाउँदैनन् । कामदार भारतबाट ल्याइन्छ । यो सिलसिला रोक्नुपर्छ ।” उनले वीरगंज महानगरपालिकामा सञ्चालनमा रहेका उद्योगहरूमा वीरगंजका युवाहरूको लागि रोजगारको प्रत्याभूति गर्न उद्योगी–व्यवसायीहरूसँग माग गरे ।

महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले रोजगार मेलाले रोजगार खोज्ने र रोजगारदाताले पुलको काम गर्न खोजेकोमा धन्यवाद दिए ।

उनले वीरगंजमा कस्तो किसिमको दक्ष जनशक्ति चाहिएको छ, त्यस बारेमा यहाँको आवश्यकतालाई पहिचान गर्न र सोही अनुसार युवालाई शिक्षित बनाइ दक्ष जनशक्ति उपलब्ध गराउन सरोकारवालालाई परामर्श दिनुपर्ने आवश्यकता रहेको बताए ।

वीउवासङ्घका अध्यक्ष अनिल अग्रवाल (पटवारी)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घका उपाध्यक्षद्वय हेमराज ढकाल तथा ज्योत्सना श्रेष्ठ, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, घरेलु तथा साना उद्योग कार्यालय, वीरगंजका प्रमुख धनञ्जय सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण वीउवासङ्घका अधिकृत मनोज उपाध्यायले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here