प्रस, रौतहट, २८ वैशाख/
आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले विशुद्धरूपमा पत्रकारिता गर्न सुझाव दिएका छन् ।
रामा यादव स्मृति प्रतिष्ठानद्वारा गौरमा आयोजित रामा यादव स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष यादवले पत्रकारितासँगै विभिन्न पेशामा रहेका पत्रकारहरूले एउटा मात्र पेशा अँगाल्न आग्रह गरे । उनले वर्तमान अवस्थामा पत्रकारितामा विभिन्न खाले विकृति–विसङ्गतिहरू मौलाउन थालेकामा चिन्ता व्यक्त गर्दै नियन्त्रण गर्नुपर्ने बताए । उनले हालसम्म १५० जना महिला पत्रकारको प्राधिकरणले स्वास्थ्य बीमा गरिसकेको र आगामी दिनमा मधेस प्रदेशका सबै पत्रकारको स्वास्थ्य बीमा गर्ने योजना रहेको बताए ।
जोखिम सहेर पनि पत्रकारिता गर्दै आएका कतिपय सञ्चारकर्मीहरूले ज्यान गुमाउनुपरेको दुःखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई हटाउन आफूबाट इमानदार प्रयास गरिने बताए । उनले पुरस्कारको माध्यमबाट पनि पत्रकारितामा देखा परेका विकृति हटाउन सकिने र त्यसका लागि मूलरूपमा पत्रकारिता गर्दै आएकालाई पुरस्कृत गर्न सुझाए ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सञ्चारकर्मीहरूको काँधमा ठूलो जिम्मेवारी रहेको हुँदा सत्यतथ्यलाई ख्याल गर्दै समाचार सम्पे्रषण गर्न आग्रह गरे ।
रामा यादव स्मृति प्रतिष्ठानका संयोजक जयप्रकाश यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका सदस्य शैलेन्द्र झा, पत्रकार प्रभातकुमार झाले आम सञ्चारकर्मीहरूले भोग्नुपरेका पीडालाई पोख्दै कोभिडकालको समयमा भएको क्षतिको हालसम्म राज्यबाट उचित सम्बोधन हुन नसकेको बताए । उनीहरूले पत्रकारले गर्नुपर्ने काम, कर्तव्यलाई बुझेर मात्रै पत्रकारिता गर्न सुझाए ।
कार्यक्रममा प्रहरी उपरीक्षक वीरबहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दन झा, नेपाल पत्रकार महासङ्घ रौतहटका उपाध्यक्ष प्रवीण शर्मा, सचिव मदन ठाकुर, दिनेश यादव, राकेश यादव, किशोरी यादव, चञ्चल झालगायत सञ्चारकर्मीहरूको सहभागिता थियो ।
रेड टेलिभिजनकी संस्थापक स्वर्गीय रामादेवी यादवको पुण्यतिथिको अवसरमा प्रदान गरिने रु २६ हजार पाँच सय राशिको सो पुरस्कार–२०८० बाट प्राइम टेलिभिजनकी सञ्चारकर्मी सिर्जना कार्की र २०७९ सालको सोही पुरस्कार पोखराकी पत्रकार अनिषा जयन्ती श्रेष्ठलाई प्रदान गरिएको थियो ।
प्राधिकरणका अध्यक्ष यादव, रेड टेलिभिजनका संयोजक जयप्रकाश यादव र प्रजिअ मिश्रले पत्रकारद्वय कार्की र श्रेष्ठलाई संयुक्तरूपमा पुरस्कार प्रदान गरेका थिए ।