काठमाडौं, २१ वैशाख/रासस
शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा साबिक विजेता मच्छिन्द्र फूटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीवार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रको जीतमा देवेन्द्र तामाङ, ओलावाले आफिज र विमल घर्तीमगरले एक/एक गोल गरे ।
यता सङ्कटाका लागि भने जुनियर एनकेनगुएले एक गोल फर्काए । खेलको चौथो मिनेटमा देवेन्द्रले गोल गर्दै मच्छिन्द्रलाई पहिलो अग्रता दिलाए । त्यस्तै, खेलको ६९औं मिनेटमा मच्छिन्द्रका अर्का खेलाडी ओलावाले गोल गर्दा आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।
यसैगरी, खेलको ७८औं मिनेटमा सङ्कटाका खेलाडी जुनियरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८९औ मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जीत दिलाए । यस जीतसँगै मच्छिन्द्र १४ खेलमा २१ अङ्क जोड्दै अङ्कतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान १४ खेल नै खेलेको सङ्कटाले १६ अङ्क जोड्दै अङ्कतालिकाको ११औं स्थानमा रहेको छ ।