प्रस, वीरगंज, २० वैशाख/
पोखरिया नगरपालिका कार्यालय योजना शाखामा कार्यरत कर्मचारीहरूले करोडौंको योजना लुकाई गोप्य सूचना प्रकाशित गरेको भन्दै निर्माण व्यवसायी सङ्घ, पर्साले आपत्ति जनाएको छ ।
योजना शाखाका प्रमुख सञ्जय पाण्डेले पर्सा जिल्लामा नआउने केन्द्रीय पत्रिका र मोफसलका अन्य जिल्लाका पत्रिकामा गोप्य टेन्डर प्रकाशित गरेर अनियमितता गर्न खोजेको निर्माण व्यवसायीहरूले आरोप लगाएका छन् ।
गोप्यरूपमा प्रकाशित सूचना प्राप्तिका लागि निर्माण व्यवसायी सङ्घले निवेदन दर्ता गराएको एक महीना बितिसकेको छ तर सूचना उपलब्ध नगराएको सहसचिव सञ्जय पटेलले बताए । नपाले सूचना नदिएकोविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी दिएको उनले बताए ।
गोप्य सूचनाको समयावधि सकिरहेको र सूचना दिने कार्यमा ढिलासुस्ती गरिएको उनले बताए । सम्बन्धित ठाउँमा उजूरी गर्दा पनि समयमा सूचना पाउने वातावरण बन्न नसकेको उनले गुनासो गरेका छन् ।
नपा कर्मचारी स्रोत अनुसार कार्यालयमा देखिएको विवाद तथा कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत टिकाउ नहुनुको फाइदा योजना प्रमुख पाण्डेले उठाउँदै आएका हुन् । उनले विभिन्न मितिमा गोप्य तरीकाबाट टेन्डर प्रकाशित गर्दै आएको बुझिएको छ ।
बजेट पुस्तिका अनुसार धेरै योजनाहरू उनले कमिशनको आधारमा अमानत र उपभोक्ता समितिमार्फत गराउँदै आएका छन् । उनकै मौखिक आदेशमा अमानत र उपभोक्ता समितिका काम हुने गरेको नपा स्रोतले जनाएको छ । यस्ता कामहरू पूरा भएको तर अमानत र उपभोक्ता समितिका मानिसले रकम भुक्तानी नपाएको अवस्था छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा भुक्तानी रोकिएको थाहा हुन आएको छ । यहाँ आउने प्रमुख प्रशासकीय अधिकृतहरूले यसरी गलत तरीकाबाट गरिएका कामको भुक्तानी नगर्दा सरुवा गराउने गरिएको एकथरीको आरोप छ । भुक्तानी गर्ने वातावरण प्रमुख प्रशासकीय अधिकृतलाई ल्याउने चलखेलका लागि पनि भइरहेको हो ।
अहिले नगरप्रमुख प्रद्युम्न चौहानसँगै योजना शाखा प्रमुख पाण्डे पनि आफू अनुकूलको प्रमुख प्रशासकीय अधिकृत बहाल गराउने प्रयासमा हाल काठमाडौंमा रहेको बताइएको छ । यद्यपि उनी पोखरिया नपा कार्यालय र कर्मचारीको सम्पर्कमा छैनन् ।
मन्त्रालयले भने प्रमुख प्रशासकीय अधिकृत पठाउँदा टिक्न नदिने, असहयोग गर्ने र राजनीतिक दाउपेंचबाट सरुवा लिएर फर्कन बाध्य पार्ने गरेको आरोप लगाएको छ । पछिल्लो समय मन्त्रालयले धर्मानन्द जोशीलाई २०७९ माघमा पोखरिया नपाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो । उनलाई डेढ महीनामैं कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना गरियो ।
एकथरी जनप्रतिनिधिहरूले नगरसभाबाटै अजय श्रीवास्तवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको थियो र उनी स्वास्थ्य विभागबाट पोखरिया नपामा आएका थिए । उनी आएको डेढ महीनामा मन्त्रालयले जोशीलाई पठाएको थियो । श्रीवास्तव अधिकृत तहका र जोशी उपसचिव तहका कर्मचारी हुन् । मन्त्रालयले महानगरमा सहसचिव, उपमहानगर/नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत तहको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय यस अघि गरेको थियो ।
यी सूचनाहरू लुकाएका हुन्
पोखरियामा योजना शाखाले गरेको गोप्य टेन्डरहरूमध्ये स्रोतका अनुसार रू १५ लाखको ग्याँस चुल्हो खरीद, वडा नं १ मा रु ४० लाख लागतमा पक्की नाला निर्माण, पोखरिया सिंचाइ कार्यालयदेखि नपाको गेटसम्म रु २५ लाख लागतमा कालोपत्र निर्माण, वडा नं ६ मा रु ४० लाख लागतमा स्वास्थ्य चौकी भवन निर्माण, वडा नं ५ मा रु १५ लाख लागतको ग्याँस, चुल्हो खरीद, रु २० लाख लागतको रोडलाइट टावर जडान, वडा नं ६ श्रीसियामा रु २५ लाख लागतमा विद्यालय भवन निर्माण, बालिकाहरूका लागि रु १५ लाखको सेनेटरी पैड खरीद, बजारटोलमा रु एक करोड लागतको सेड निर्माणलगायत योजनाहरू रहेको बताइएको छ ।