प्रस, वीरगंज, २० वैशाख/

नेपाली काङ्ग्रेसका निर्वाचित वडाध्यक्ष तथा उपाध्यक्षले धोबिनी गाउँपालिकाको काम काराबाईप्रति असन्तुष्टि जनाउँदै गरेको तालाबन्दी आज १२ दिन पुगेको छ । 

तालाबन्दीको कारण सेवाग्राहीलाई सास्ती भएको छ भने कर्मचारीहरू मस्तीमा छन् । कार्यालयमा तालाबन्दी भएको भन्दै उनीहरू पर्साको सदरमुकाममा बसेका छन् । गापाबाट पाउने सेवा सुविधाहरू अवरोध भएपछि स्थानीयवासीहरू मारमा परेका छन् ।

स्थानीयले कार्यालयमा नामको तालाबन्दी भएको तथा गापाबाट दिने सेवाबाहेक विकासका सबै काम धमाधम भइरहेको बताएका छन् ।

तालाबन्दी गर्ने पक्षधरहरू वीरगंजस्थित प्रमुख प्रशासकीय अधिकृतको कोठामा पुगेर भुक्तानी लिने, ठेक्का लगाउने, सामानहरू खरीद गर्ने कार्य भइरहेको स्रोतले जनाएको छ ।

कार्यालय खुलेको दिन आलोपालो कर्मचारीहरू आउँछन्, तालाबन्दीको बहाना बनाई कर्मचारीहरू घर बस्दा राष्ट्रिय परिचयपत्रको प्रमाणित, बिरामीहरूको सिफारिशलगायत कार्य प्रभावित भएको छ ।

तालाबन्दी खोलाउन मध्यस्थकर्ताको खोजी

धोबिनी गापामा भएको तालाबन्दी अहिले दुर्ई दलको प्रतिष्ठाको विषय बनेको छ । उपाध्यक्षले कार्यालयमा तालाबन्दी गरेको तर अध्यक्ष मदन चौहानले यो विषयमा कुनै चियोचासो राखेका छैनन् । गापा अध्यक्षको मौनताले तालाबन्दी गर्ने पक्षलाई अहिले घाँडो भएको छ ।

आफैंले लगाएको ताला खोल्ने पक्षमा गापा उपाध्यक्ष देखिए पनि यसको सहज अवतरणको लागि उनी प्रतीक्षारत छिन् ।

अहिले ताला खोल्ने विषयमा सहजकर्ताको खोजी भइरहेको छ । अध्यक्ष, उपाध्यक्षबीच संवाद हुने हो भने आजै ताला खोलिने स्रोतले जनाएको छ । यस विषयमा गाउँका अगुवाहरू पनि अहिले मौन धारण गरेर बसेका छन् । आफै योजना बनाउने र चित्त नबुझेपछि गापा कार्यालयमा तालाबन्दी गर्ने गरेको कारण अगुवाहरूले पनि चासो नलिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here