राजेश केशरीवाल, रक्सौल, १५ वैशाख/
सीमावर्ती भारतीय क्षेत्रमा अहिले डाँकाको डरले स्थानीय त्रसित भएका छन् ।
घोडासहन, भेलाही, रक्सौलस्थित महादेवा, पचपोखरियालगायतका क्षेत्रमा विगतका दिनमा लगातार भइरहेका डाँकाका घटनासँगै रक्सौललगायत सीमावर्ती क्षेत्रका बासिन्दाहरू राति जाग्राम बसी आआफ्नो जानमालको सुरक्षा गरिरहेका छन् ।
प्राप्त सूचना अनुसार बुधवार राति १ बजेको समयमा सीमावर्ती क्षेत्र भेलाहीमा घनञ्जय गुप्ताको घरमा ५०–६० जनाको डाँका समूहले लुटपाट गरेको छ । घरधनी गुप्तालगायत परिवारजनलाई बन्धन बनाइ ग्याँस कटरको माध्यमबाट ढोका फोडेर प्रवेश गरेका डाँकाहरूले करीब रु ४५ लाखको लुटपाट गरेका छन् । घटनामा १५ लाख नगद र ३० लाख बराबरका गरगहनासहित करीब ४५ लाखको सम्पत्ति लुटिएको घरधनी गुप्ताले बताए ।
करीब ४० मिनेटसम्म लुटपाट गरेका डाँकाहरूको भाग्ने क्रममा स्थानीय प्रहरी प्रशासनसँग भिडन्त भएको थियो । प्रहरी र डाँकाहरूबीच गोली हनाहन भएको थियो तर बम प्रहार गरी डाँकाहरू नेपाली सीमातर्फ भाग्न सफल भए ।
सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र बिहार पुलिसको तैनाथी छ । तर पनि निर्धक्क लगातार भइरहेका डकैतीका घटनाबाट स्थानीयहरूबीच भयको वातावरण व्याप्त भएको स्थानीयले बताउँछन् ।
घटनाको सिसिटिभी फुटेजको आधारमा घटनामा संलग्न डकैतहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हाफ पाइन्ट र भेस्टमा डाँकाहरू घरभित्र प्रवेश गरेका धरधनी गुप्ताले बताए ।
घटना सम्बन्धमा पूर्वी चम्पारण जिल्लाका एसपी कन्तेशकुमार मिश्र, डिएसपी धीरेन्द्र कुमारले घरधनी गुप्तासँग गरेको पूछताछमा डकैतहरूले हिन्दी र नेपालीमा आपसी कुराकानी गरेको पाइएको छ । सोधपुछको आधारमा डकैतहरूलाई पक्राउ गर्न विशेष टोली गठन भएको एसपी मिश्रले बताए ।