- डा शिवशङ्कर यादव
गताङ्कमा सेरीबेलमको ग्रे मैटर अर्थात् न्युक्लियसहरूको मात्र विवरण प्रस्तुत गरिएको थियो । यस अङ्कमा सेरीबेलमको ह्वाइट मैटर अर्थात् नर्भ फाइबरहरूको, सेरीबेलमको कार्य र सेरीबेलममा हुने बिमारी वा चोटपटकको के परिणाम हुन्छ त्यसको विवरण प्रस्तुत गरिने छ । पाठकवृन्द अरुचिकर विवरणले आत्तिने कुरा बिल्कुल छैन । ब्रेनको यही त खुबी हुन्छ । आद्योपान्त पढेपछि उसले ग्राह्यलाई स्मृतिमा टिपेर राख्छ र अग्राह्यलाई फालिदिन्छ । पाठक यस कारण यस लेखबाट लाभान्वित नहुने कुरै छैन ।
ह्वाइटमैटर : अहिलेसम्म हामीलाई थाहा भइसकेको कुरा हो कि ह्वाइटमैटर भनेको के हो ? ब्रेनको कुनै पनि भागमा आउनेजाने नर्भ फाइबरको जाल नै त हो ह्वाइटमैटर । न्युक्लियसहरूको रङ्ग खैरो हुने हुनाले यसको नाम ग्रेमैटर रहन गयो र नर्भ फाइबरहरूको रङ्ग सेतो भएकोले ह्वाइटमैटर नाम भयो । यी नर्भ फाइबरमा आउने नर्भलाई एफेरेन्ट र जाने नर्भलाई इफरेन्ट नर्भ भनिन्छ । एउटै नर्भ फाइबर एफेरेन्ट र इफरेन्ट दुवै हुन्छ । कसरी ? मानौं सिरेब्रमबाट एउटा नर्भ फाइबर सेरीबेलममा आउँछ । त्यो सिरेब्रमको लागि इफरेन्ट भयो किनभने त्यसबाट त्यो गइरहेको छ । सेरीबेलमको लागि त्यही फाइबर एफेरेन्ट भयो किनभने त्यसमा त्यो आइरहेको छ । सेरीबेलममा एफेरेन्ट र इफरेन्ट दुवै फाइबरहरूलाई तीन भागमा वर्गीकरण गरिन्छ : १. प्रोजेक्शन फाइबर,२. एसोसिएशन फाइबर र ३. कमिसरल फाइबर । पहिलो वर्गमा सेरीबेलमबाट बाहिर जाने वा त्यसभित्र आउने फाइबर हो जसले सिएनएसको अन्य भागसँग सेरीबेलमलाई जोड्ने काम गर्छ । यसमा एफरेन्ट र इफरेन्ट दुवै हुन्छ र सबै तीनवटा बन्डलमा सजाइएको हुन्छ ः इनफेरियर सेरीबेलम बन्डल वा पेडंकल, मिड्ल सेरीबेलम बन्डल वा पेडंकल र सुपेरियर सेरीबेलम बन्डल वा पेडंकल । पहिलो सेरीबेलम र मेड्युलाको बीच हुन्छ । यसमा मुख्यतः एफेरेन्ट फाइबर हुन्छ, जसले स्पर्श, प्रोपायोसेप्टर र भेस्टिबुलर एपेरेट्सबाट संवेदना सेरीबेलममा पु¥याउँछ । यसलाई रेस्टिफर्म बडी पनि भनिन्छ । दोस्रो बन्डल सेरीबेलम र पोन्सबीच हुन्छ । यसलाई ब्रेकियापोन्टिस पनि भनिन्छ । यसमा मुख्यतः एफेरेन्ट र कमिसरल फाइबर हुन्छ, जसले सेरीबेलमकै दुवै लोवलाई जोड्छ । र तेस्रो बन्डलले सेरीबेलम र मिडब्रेनलाई जोड्छ । यसलाई ब्रेकिया कन्जक्टिभाइटी पनि भनिन्छ । यसमा मुख्यतः इफरेन्ट फाइबर हुन्छ र सेरीबेलमको सूचना आँखामा पुर्याउने काम गर्छ । यो भयो प्रोजेक्शन फाइबरको विवरण । २. एशोसिएशन फाइबर : यसले सेमसाइडको सेरीबेलमको विभिन्न भागलाई जोड्ने काम गर्छ । ३. कमीसरल फाइबर : यसले सेरीबेलमको दुवैतिरको भागलाई जोड्ने काम गर्छ ।
भेस्टिबुलोसेरीबेलम : यसले सेरीबेलमको सम्बन्ध भेस्टिबुलर अपरेटससँग गरेको हुनाले यो नाम परेको हो । विकास क्रममा पुरानो भएको हुनाले यसलाई आर्कीसेरीबेलम पनि भनिन्छ र यसले नै पोस्चर र वैलेन्सलाई मेन्टेन गर्छ ।
पैलियोसेरीबेलम वा स्पाईनोसेरीबेलम ः यो पनि विकास क्रममा पुरानो भाग नै हो । यो संवेदना ग्रहण गर्ने सेरीबेलमको मुख्य र ठूलो भाग हो । सेरीबेलमको मेडियल भाग यसको हिस्सा हो । यसका कनेक्शन निम्नलिखित हुन्– एफेरेन्टमा ः डोर्सल स्पाईनोसेरीबेलर ट्रैक्ट, लैटरल स्पाइनोसेरीबेलर ट्रैक्ट, क्युनियोसेरीबेलर ट्रैक्ट, ओलिभोसेरीबेलर ट्रैक्ट, पोन्टोसेरीबेलर ट्रैक्ट, टेक्टोसेरीबेलर ट्रैक्ट र ट्राइजेमिनोसेरीबेलर ट्रैक्ट । त्यस्तै इफरेन्ट ग्रुपमा ः फेस्टिजियाबवल्वर, सेरीबेलोरेटिकुलर र सेरीबेलोओलिभरी ट्रैक्ट पर्छ । तर भ्रम नहोस्, नर्भफाइबर जहाँबाट शुरू हुन्छ त्यसको नाम पहिले र जहाँ जान्छ त्यसको नाम अन्तमा आउँछ ।
कोर्टिकोसेरीबेलम : यसलाई नियोसेरीबेलम पनि भनिन्छ । विकास क्रममा यो सबैभन्दा नयाँ तर सेरीबेलमको सबैभन्दा ठूलो भाग हो । सिरेब्रलकार्टेक्स सँग जोडिएको हुनाले यसलाई कोर्टिकोसेरीबेलम वा सिरेब्रोसेरीबेलम पनि भनिन्छ । यसले मिहिन कामहरूको प्लानिङ, प्रोग्रामिङ र सम्पादनमा सहयोग गर्छ । सेरीबेलमको लैटेरल भाग यसको हिस्सामा पर्छ । यसका एफेरेन्ट कनेक्शनमा : पोन्टोसेरीबेलर र ओलिभोसेरीबेलर ट्रैक्ट तथा इफरेन्टमा : डेन्टेटोथैल्मिक र डेन्टेटोरूब्रल ट्रैक्ट आउँछ ।
सेरीबेलमका कार्य : गताङ्कमा हामी कसरी हिंड्छौं त्यसको तालमेल मिलाउने काम सेरीबेलमले गर्छ भन्ने थाहा पायौं । अतः विस्तारमा मुख्यतः यसको काम बुँदागतरूपमा निम्न अनुसार राख्न सकिन्छ ।
–यसले शरीरको पोस्चर मेन्टेन गर्छ, मांसपेशीको टोन अथवा कसावलाई मेन्टेन गर्छ, सेरीब्रमले शुरू गरेको कामको सुरताल मिलाउने काम गर्छ, मिहिन काम अर्थात् सिलाइबुनाइ वा सङ्गीतको राग निकाल्ने औंलाको गतिलाई नियमन गर्छ, आँखाको गति नियमन गर्छ । अतः हामी हिंड्छौं वा स्थिर उभिन्छौं वा आँखा चलाउँछौं ती सबै कामको शुरूआत त सिरेब्रमले गर्छ तर त्यसलाई लगातार चलाइराख्ने काम सेरीबेलमले गर्छ । स्पीचको नियमन गर्नुको साथै यसले डर र सुखदुःखलाई पनि नियमन गर्छ ।
अब हामी यो हेर्नेछौं कि सेरीबेलमको बिमारी र दुर्घटना आदि कसरी र उसका के के मुख्य परिणाम हुन्छ ? सेरीबेलमको कार्यमा कमी ट्युमर,अब्सेस र दुर्घटनामा देखिन्छ । धेरै अल्कोहल लिनु र बुढ्यौलीमा सेरीबेलर न्युक्लियस, पेडंकल र स्पाइनोसेरीबेलर ट्रैक्टको डिजेनेरेशनले पनि हुन्छ । सामान्यतः यसले गर्दा पोस्चर, सन्तुलन र गतिशीलतामा बदलाव देखिन्छ । यो बदलाव, इन्ज्युरी भएकै साइडमा हुन्छ किनभने सेरीबेलमको कन्ट्रोल इप्सिलैटरल अर्थात् सेमसाइडका अङ्गमा हुन्छ जबकि सेरीब्रमको कमान्ड कन्टेरालैटरल अर्थात अर्को साइडमा हुन्छ । मतलब यो कि सेरेब्रमको बायाँ भाग प्रभावित भएमा शरीरको दाहिने भागमा लकवा हुन्छ तर सेरीबेलमको बायाँ भाग प्रभावित भएमा शरीरको बायाँ भागमा नै लकवा हुन्छ ।
१. पोस्चर र मांसपेशीको टोन अथवा कसावमा बदलाव : यसमा मांसपेशीको टोन बिल्कुलै खत्म हुन्छ अथवा केही कम हुन्छ । पहिलोलाई एटोनिया र दोस्रोलाई हाइपोटोनिया भनिन्छ ।
२. एटिच्युड अथवा भावभङ्गिमाको बदलावः केवल एक साइडमा बिमारी भएमा ः टाउको प्रभावित नभएको भागतिर झुक्छ । सोल्डरज्वाइन्ट बिमारी भएको साइडमा तल झरेर जान्छ । खुट्टाको एब्डक्शन हुन्छ अर्थात् दुवै खुट्टा बाहिरतिर फैलिन्छ । आँखा बन्द गरेर पाखुरा पसार्यो भने प्रभावित अङ्गतिरको पाखुरा केन्द्रतिर ल्याउन सकिंदैन । अर्थात् प्रभावित पाखुरालाई प्रभावित नभएको पाखुरासित मिलाउन सकिंदैन । पूरै शरीर प्रभावित भागतिर झुक्छ, जसलाई स्कोलियोसिस भनिन्छ । घुँडालाई हैमरले हिर्कायो भने खुट्टा मास्तिर जान्छ तर स्वाभाविकरूपले पुनः पूर्व स्थानमा आउनु पर्नेमा त्यसो हुँदैन बरु माथि नै पेन्डुलम जस्तो घुमिरहन्छ । ३. सन्तुलनमा बदलाव ः सीधा खडा हुँदा खुट्टा फट्टिन्छ र हिंड्दा अत्यधिक रक्सी खाएको मान्छेजस्तो चाल हुन्छ । ४. गतिशीलतामा बदलाव ः हिंड्दा कुनै सुरताल मिल्दैन जसलाई एटेक्सिया भनिन्छ । मांसपेशीको कमजोरीले छिट्टै थकाइ लाग्छ, जसलाई एस्थेनिया भनिन्छ । सेरीबेलमले नै ठीक कति बल र शक्तिले पाइला चाल्नुपर्ने कुराको नियमन गर्छ । बिमारीले गर्दा यो शक्ति कम हुने ठाउँमा बढी र बढी हुनुपर्नेमा कम भएर जान्छ । कम भएको अवस्थालाई हाइपोमेट्रिया र बढीलाई हाइपरमेट्रिया भनिन्छ । यसको अतिरिक्त मान्छे राम्ररी बोल्न सक्दैन, जसलाई डिस्थेरिया भनिन्छ । मान्छेले हत्केलालाई माथि तल घुमाउन सक्दैन अर्थात् सुपाइनेशन र प्रोनेशन गर्न सक्दैन । यसको अलावा इन्टेन्शन ट्रेमर पनि देखिन्छ । मतलब जबजब तपाईं हातले कुनै काम गर्न चाहनुहुन्छ तबतब हात र औंला काम्न थाल्छ । काम गर्न चाहनुहुन्छ तर गर्न सक्नुहुन्न । त्यसकारण यसलाई इन्टेन्शन ट्रेमर भनिन्छ । अस्तु !