- बैधनाथ श्रमजीवी
भर्खरै स्थानीय, प्रादेशिक, सङ्घीय तथा उपनिर्वाचन सकिएको छ । कम्युनिस्टहरूले काङ्ग्रेस, राप्रपा, लोसपालगायत घोर दक्षिणपन्थी उम्मेदवारहरूको लागि दिनरात मत मागेको देखियो । मतदाताहरू असमञ्जसमा परेका रहेछन् । पूँजीवादी व्यवस्थाका चाटुकारहरूका लागि मत माग्ने यी कस्ता कम्युनिस्ट हुन् ?
नेपालमा कम्युनिस्ट को हो भन्ने सवाल धमिलो पानीमा माछा मारेझैं भएको छ । नेपाली कम्युनिस्टहरूले आफूलाई कम्युनिस्ट भने पनि धेरैजसो नेताहरूको व्यवहार दलाली मात्रै देखिन्छ । संसद्वादमा लागेकाहरू पनि आफूलाई कम्युनिस्ट भन्छन् । दुःखी गरीबको पार्टी कम्युनिस्ट नभई पूँजीपति विचारधारा बोकेको पार्टीजस्तो देखिन्छ । कथित कम्युनिस्टहरूको दुईतिहाईको सरकारले देशमा विकास गरेर देखाउने प्रशस्त सम्भावना हुँदाहुँदै भ्रष्टाचारमा लिप्त देखिनु लज्जास्पद विषय बनेको छ । कम्युनिस्टहरूको आचरणमा खडेरी परेको बेला आउनुस् असल कम्युनिस्टबारे केही अध्ययन गरौं–
दृढ आत्मविकास
बाँच्नका लागि मानिसले प्रकृतिविरुद्ध सङ्घर्ष गर्नुपर्छ । भौतिक मूल्य उत्पादन गर्न प्रकृतिको संसाधन प्रयोग गर्नुपर्छ । प्रकृतिविरुद्ध चलाएको लामो सङ्घर्षमा मानिसबीच सामाजिक सम्बन्ध, सामाजिक सङ्गठनका रूप र उनीहरूको चेतना पनि फेरिन्छ । सामाजिक जीवन र परिवेशले मानिसको चेतना निश्चित गर्दछ, विचारधाराले भिन्न वर्गीय स्थिति र वर्गहितको प्रतिनिधित्व गर्दछ ।
कम्युनिस्टहरू आधुनिक इतिहासका सबैभन्दा अग्रगामी क्रान्तिकारी हुन् । आज समाज र विश्वलाई फेर्ने अभिभारा छ र कम्युनिस्टहरू परिवर्तनका प्रेरक शक्ति हुन् । प्रतिक्रान्तिकारीविरुद्ध अथक सङ्घर्ष गरेर नै कम्युनिस्टहरूले समाज र विश्वलाई फेर्दछन् र स्वयंलाई पनि फेर्छन् । एउटा कम्युनिस्ट क्रान्तिकारी सङ्घर्षबाट खारिन्छ र परिपक्व बन्दै जान्छ । तसर्थ कम्युनिस्टहरूमा दृढ आत्मविकास हुनुपर्छ ।
माक्र्स–लेनिनका योग्य चेला बन
असल कम्युनिस्ट बन्नु भनेको माक्र्स–लेनिनको शिक्षा ग्रहण गर्नु हो । क्रान्तिवादी कार्ल माक्र्सको जीवनबाट सिक्नु भनेको सर्वहारा वर्गको हित, सत्ता र वर्गविहीन समाजका लागि सिक्नु हो, क्रान्ति र मानव मुक्तिका लागि सिक्नु हो । स्टालिनले भनेका छन्–“हाम्रा गुरु, हाम्रा नेता लेनिनलाई सम्झ, माया गर र अध्ययन गर ।”
माक्र्सवाद–लेनिनवाद पढ्नु भनेको शब्दमा रमाउनु होइन । हाम्रा अधिकांश कामरेड माक्र्सवाद–लेनिनवाद त पढ्छन, तर त्यसका निष्कर्षमा अल्मलिन्छन्, वास्तविक जीवनमा आइपर्ने समस्याको समाधान दिन सक्दैनन् । माक्र्सवाद–लेनिनवाद अध्ययन गर्नुको अर्थ क्रान्तिको बाटो समात्नु र सङ्घर्षका लागि प्रेरित हुनु हो । क्रान्तिकारी सिद्धान्तलाई क्रान्तिकारी व्यवहारमा रूपान्तरण गर्नु हो । त्यसले समाजलाई मात्र फेर्दैन, स्वयंलाई कम्युनिस्ट क्रान्तिकारीमा रूपान्तरण गर्दछ ।
जनतासँग क्रान्तिकारी व्यवहार गर
चेङ्चीले भनेका थिए–“म दिनमा तीनपटक आफूमाथि विचार गर्छु ।” त्यस बखत उनले आफ्नै आत्म–परीक्षा गरिरहेका हुन्थे । जसले प्रगति गर्नुछ, उसले कठिन परिश्रम र तीव्र आत्म–विकास गर्न आवश्यक छ ।
पार्टी, जनता र क्रान्तिको विजयका लागि नै सिद्धान्त अध्ययन गर्ने हो । माओत्सेतुङ भन्छन्–“माक्र्सवाद–लेनिनवादको महान् शक्ति ठोस क्रान्तिकारी व्यवहारसित एकाकार हुनुमा छ । चीनका विशेषता र जनतासँग सम्बन्धलाई ध्यानमा नराखी माक्र्सवादको कुरा गर्छन् भने त्यो अमूर्त माक्र्सवाद, खोक्रो माक्र्सवादसिवाय केही होइन । तसर्थ सिद्धान्तलाई जनतासँग, परिस्थितिसँग र व्यवहारसँग जोड्नुपर्दछ ।”
सिद्धान्तको अध्ययन र आत्मविकासबीच एकता गर
कम्युनिस्टहरूले विचारधारात्मक आत्म–विकासबाट सैद्धान्तिक अध्ययनलाई छुट्याउनुहुँदैन । हामीले क्रान्तिकारी व्यवहार मात्र होइन, माक्र्सवाद–लेनिनवाद अध्ययन गर्न पनि आफूलाई समर्पित गर्नुपर्छ । सर्वहारावर्गीय विचारलाई मन्थन गर्नुपर्छ । सिद्धान्तमा चोखो भएपछि क्रान्तिकारी व्यवहार चाहिंदैन भन्ने सोच गलत हुन्छ । हामीले कामदार वर्गबाट आएका कति राम्रा–राम्रा पार्टी सदस्यहरू देखेका छौं, जसलाई माक्र्सवाद–लेनिनवादको पक्का ज्ञान छैन । तर सिद्धान्तप्रति गहिरो चाख राख्छन् र त्यसलाई व्यवहारमा ढाल्न कोशिश गर्छन् ।
माक्र्सवाद–लेनिनवाद सर्वहारावर्गीय क्रान्तिको विज्ञान हो, जुन विज्ञानद्वारा कामदार वर्गले समाजवाद र साम्यवादको निर्माण गर्दछ । त्यो व्यक्तिले मात्र यसलाई छिचोलेर बुझ्न सक्छ, जसले यसमाथि पूरा अख्तियार राख्छ, जसको दृढ सर्वहारावर्गीय अडान छ, जसले सर्वहारा वर्गको आदर्शलाई आफ्नै आदर्श बनाएको छ । जो सच्चा क्रान्तिकारी छैन, ह्दयदेखि नै सर्वहारावर्गीय क्रान्तिकारी होइन, उसले मानव जातिको मुक्ति सङ्घर्षमा विजय हासिल गर्न सक्दैन ।
साम्यवादको लक्ष्यप्रति दृढ बन
वर्ग सङ्घर्ष विचारधाराबीचको सङ्घर्ष हो, यसले समाजमा भएको वर्ग सङ्घर्षलाई प्रतिविम्बित गर्दछ । साम्यवादी विश्व दृष्टिकोणले गैरसाम्यवादी विश्व दृष्टिकोणमाथि विजय हासिल गर्नुपर्छ । व्यक्तिवादमाथि विजय हासिल गर्नुपर्छ र यसको उन्मूलन गर्नुपर्दछ । ससाना जीतहारबाट तरङ्गित हुने व्यक्तिले व्यक्तिवादमाथि विजय हासिल गर्न सक्दैन, कुनै पनि कम्युनिस्टका निम्ति यस्तो हुनु डरलाग्दो र खतरनाक कुरा हो ।
कम्युनिस्ट पार्टीका सदस्यको मूल कर्तव्य साम्यवाद प्राप्त गर्नु हो । साम्यवादी विश्व मात्र त्यस्तो विश्व हो, जसले शोषण व्यवस्थाबाट उब्जने अन्धकार, अज्ञानता, पछौटेपन अन्त्य गर्नेछ । समाजमा भौतिक मूल्य र नैतिक मूल्यबीच मिलन हुनेछ । त्यसभित्र सबै मानिसका खाँचो पूरा हुन्छ । त्यस बखत सारा मानवजाति निस्स्वार्थ, बुद्धिमान, सुसंस्कार र शिल्पयुक्त कम्युनिस्ट कामदार हुनेछ, मानिसहरूबीच पारस्परिक सहयोग र स्नेह हुनेछ । त्यस बेला पारस्परिक शङ्का, धोका, हानि–नोक्सानी, हत्या र युद्धजस्ता अनुचति व्यवहार हुने छैन । यो निश्चय नै मानव इतिहासमा सबैभन्दा राम्रो, सबैभन्दा सुन्दर र सबैभन्दा विकसित समाज हुनेछ ।
व्यक्तिका हित पार्टीको अधीनमा राख
साम्यवादी पार्टी सर्वहारा वर्गको पार्टी हो, सर्वहारा वर्गको मुक्तिबाहेक यसको अर्को उद्देश्य छैन । सर्वहारा वर्गको मुक्ति नै सम्पूर्ण मानवजातिको मुक्तिको पूर्वशर्त हो । माओत्सेतुङ भन्छन्–“कहिल्यै पनि र कुनै पनि हालतमा साम्यवादीले आफ्ना व्यक्तिगत हितलाई प्राथमिकता दिनुहुँदैन, उसले तिनलाई राष्ट्र र आम जनताका हितको अधीन राख्नुपर्छ । सारा शक्तिले काम गर्नु, सार्वजनिक जीवनमा दिलोज्यानले लाग्नु र परिश्रमी बन्नु साम्यवादीको विशेषता हो ।
कम्युनिस्टमा उच्च साम्यवादी नैतिकता हुन्छ । दृढ सर्वहारा वर्गीय अडान हुुनुपर्छ, आफूलाई उत्पीडितको ठाउँमा राखेर हेर्न सक्ने हुनुपर्छ । ऊ अरूको मर्म बुझ्न सक्ने, कामदार वर्गप्रति सद्भाव र प्रेम दर्शाउन सक्ने, खुला दिलले उनीहरूलाई सघाउन सक्ने हुनुपर्छ । ऊ मानव जातिका सम्पूर्ण शत्रुसँग डटेर मुकाबिला गर्न र मुक्ति सङ्घर्षमा आफूलाई अविचलित राख्न सक्ने हुनुपर्छ । समग्रमा एउटा साम्यवादी, व्यक्तिवादविरुद्ध उभिन सक्ने हुनुपर्छ ।
गलत विचारधाराविरुद्ध लड
पार्टीभित्र केही गलत विचार छन्, ती विचारले साम्यवादी लक्ष्यको सेवा गर्दैन । धेरैले साम्यवाद ल्याउने भनेर सर्वहारा वर्ग र मानवजातिको मुक्तिका लागि भनेर सङ्घर्ष गर्छन् । तर केही कामरेडहरू छन्, जसले साम्यवादको लक्ष्यको कुरा गरे पनि काममा त्यसो गर्दैनन् । किसान पृष्ठभूमिका केही कामरेडहरू साम्यवाद भनेको स्थानीय किसानलाई नङ्ग्याउनु र जमीनको बाँडफाँड गर्नु हो भन्ने ठान्छन् ।
कतिपय अन्य कुनै उपाय नदेखेर कम्युनिस्ट पार्टीमा लागेका छन्, कामबाट निकालिएर, अध्ययन गर्ने साधन नपाएर, कुनै निश्चित पेशा नभएर, पारिवारिक बोझ खप्न नसकेर, करकापमा बिहे गर्नुपरेकोले पनि कम्युनिस्ट पार्टीमा आएका छन्, थोरै त्यस्ता व्यक्ति पनि आउँछन्, जो आफ्नो कर घटाउन पार्टीको सहारा खोज्छन् । यस्ता थुप्रै गलत विचार पार्टीमा भित्रिन्छन् । त्यसैगरी पार्टीभित्र गुटवादी, विभागवादी, पृथकतावादी, फुटपरस्त विचार पनि भित्रिन्छन्, दुस्साहसवादी, महत्वाकाङ्क्षी विचार पनि त्यत्तिकै हुन्छन्, यी सबैविरुद्ध लडेर साम्यवादी लक्ष्यमा हिंड्नु कम्युनिस्टको उच्च दायित्व हो ।
कतिपय मान्छेले कम्युनिस्टहरूलाई एकदमै असल र आदर्शवादीका रूपमा मात्र सोच्छन् । उनीहरू ठान्छन्– “साम्यवादीहरू भएभरका न्यायोचित पक्षको कुरा लिन्छन्, साम्यवादी सबैभन्दा असल मानिस हुन् । यस्तो पार्टीमा खराब र घिनलाग्दा मानिस किन राखेको ?” पार्टीमा लाग्नु अघि समाजका जुन घिनलाग्दा मानिससँग उनीहरू वाक्क थिए, पार्टीमा पनि त्यस्तै मानिसहरू देखेपछि उनीहरू टोलाउँछन् र निराश हुन्छन् ।
अन्तर्पार्टी सङ्घर्षमा क्रान्तिकारी पक्षधरता
पार्टीभित्रको अन्तर्सङ्घर्षलाई पनि गतिशीलरूपमा हेर्नुपर्छ । तर कतिपयले यसलाई गतिहीनरूपमा हेर्छन् । पार्टीभित्र बहस र फरक मत हुनु ठूलो कुरा होइन । त्यस्तो सङ्घर्ष सधैं रहन्छ । तर मूल कुरा त्यसको समाधान कसरी गर्ने ? कस्तो पद्धति अवलम्बन गर्ने, विकृति र गैरसाम्यवादी कुरा कसरी हटाउने ? त्यसमा जोड दिनुपर्छ । अन्तर्सङ्घर्ष नै त्यस्तो विधि हो, जसले गैरसाम्यवादी विचार र चिन्तनलाई पराजित गर्न शक्ति प्रदान गर्दछ ।
विकासको आवश्यकता र वस्तुगत नियम अनुसार नै कम्युनिस्ट पार्टीमा समस्याहरू आउँछन् । तिनको समाधान यान्त्रिक र मनोगत तरीकाले सम्भव हुँदैन । अन्तर्सङ्घर्षमा वामपन्थी अवसरवाद पनि निकै खतरनाक हुन्छ, त्यसले सधैं फाइदा उठाउने कोशिश गर्छ । उनीहरूले यान्त्रिक र उत्ताउलो तरीकाले सङ्घर्ष चर्काउँछन्, जानीबुझी पार्टीमा विवाद सिर्जना गर्छन् र नेतृत्वको पक्षमा उभिएर आफू क्रान्तिकारी बन्न कोशिश गर्छन् । एउटा साम्यवादीले यी सबै अतिवादविरुद्ध सङ्घर्ष गर्न सक्नुपर्छ ।
गलत विचार कस्तो हुन्छ, लड्ने कसरी ?
सबैभन्दा पहिले पार्टीमा आएका विभिन्न विचारहरूको पृष्ठभूमि, सङ्गति, परिस्थिति र पक्षधरता बुझ्नुपर्दछ । त्यसका आधारमा सही र गलतको फैसला गर्न सक्नुपर्दछ । पार्टीमा एकाग्रताको भावना विकसित गर्नुपर्दछ, गलत विचारधारासँग सम्झौता गर्नुहुँदैन ।
सुधार्न सकिने कमरेडहरूलाई सच्याउने कोशिश गर्नुपर्छ, सबै सम्बन्ध र सङ्घर्षहरू रूपान्तरणमा आधारित हुनुपर्छ । आलोचना गर, मन्थन गर र नयाँ साँचोमा ढाल । तर सङ्घर्षको नशा सेवन नगर । अन्तर्पार्टी सङ्घर्षलाई प्रतिष्ठाको विषय बनाउनुहुँदैन । तर सुधार्न नसकिने कमरेडहरूलाई पार्टीबाट निष्कासनसम्म गर्न तयार रहनुपर्दछ । एउटा कम्युनिस्टले पार्टीभित्र सधैं माक्र्सवादी–लेनिनवादी प्रवृत्ति लिनुपर्छ । ध्वंसात्मक र उग्र उदारवादी प्रवृत्तिबाट मुक्त भएर सङ्घर्ष गर भन्ने पद्धतिलाई आत्मसात् गर्नुपर्दछ ।