प्रस, वीरगंज, १४ वैशाख/

पर्सामा रहेका अधिकांश पालिकामा विवाद शुरू भएपछि सेवाग्राही मारमा परेका छन् । जनप्रतिनिधिहरू राजनीति गर्न छाडेर पैसा कमाउन थालेका छन् भने कर्मचारीहरू राजनीति गर्न थालेपछि आधा दर्जन पालिकामा विवाद देखिएको छ ।

छिपहरमाई, विन्ध्यवासिनी, धोबिनी, पकाहामैनपुर, कालिकामाई गाउँपालिका र पोखरिया नगरपालिकामा विवाद शुरू भएको छ । धोबिनी गापा कार्यालयमा उपाध्यक्ष पक्षधरका वडाध्यक्षहरूले एक सातादेखि तालाबन्दी गरेका छन्, जसले गर्दा सबै काम ठप्प भएको छ । गापाअध्यक्ष र कर्मचारी समयमा कार्यालय नआउने गरेको भन्दै वडाध्यक्षहरूले गरेको तालाबन्दी खुलाउन कसैले पहल गरेका छैनन् ।

गापाअध्यक्ष मदन चौहानले उपाध्यक्षलगायत सबै वडाध्यक्षसँग मौखिक सहमतिमा केही कर्मचारीलाई हटाएको बताए । गापामा आर्थिक भार बढ्दै गएकोले कर्मचारीहरू हटाइएको अध्यक्ष चौहानको भनाइ छ । तर अहिले विपक्षीहरूले त्यसैको मुद्दा बनाएर तालाबन्दी गरेको उनले बताए ।

विन्ध्यवासिनी गापामा पनि विवाद देखिएको छ । दोस्रो गाउँभेलामा सहमतिबेगर रकमान्तर गरिएको, केही वडाको बजेट कटौती गरिएको र गाउँसभामा एकलौटी निर्णय गरिएको कारण विवाद देखिएको छ, जसले गर्दा प्रमुख कार्यकारी अधिकृतलगायत गापा अध्यक्ष प्रमोद तिवारी कार्यालयमा गएका छैनन् । उनले घरमैं बसी कार्यालय सञ्चालन गरिरहेको कर्मचारीहरू बताउँछन् । नयाँ योजना सञ्चालन तथा भुक्तानी वीरगंजबाटै हुने गरेको बताइन्छ ।

पकाहामैनपुर गापामा यसभन्दा अघिका कार्यालय प्रमुखले राजनीति गरेको भन्दै केही महीनाअघि राज कुशवाहालाई प्रमुख कार्यकारी अधिकृत बनाइ सरुवा गर्दा ठूलै विवाद भएको थियो । जसले गर्दा केही जनप्रतिनिधिहरू अहिले पनि विपक्षीको भूमिकामा छन् ।

छिपहरमाई गापा निमित्त कार्यालय प्रमुखको भरमा चल्दै आएकोमा राकेश ओझा प्रमुख प्रशासकीय अधिकृतमा आएपछि उनी विवादमा तानिएका थिए । जसले गर्दा अहिले पनि अधिकांश जनप्रतिनिधि उनकोविरुद्धमा रहेको देखिन्छ । बहुमत विपक्षीसँग रहेको र विपक्षीको धाकले कामकाजमा अवरोध गर्ने गरेको हुँदा विवाद भइरहेको छ ।

कालिकामाई गापामा विवाद शुरू भएको दुर्ई आर्थिक वर्ष हुन थालेको छ । विवादका बीच गापाको कामकाज सञ्चालन भइरहेको छ । बजेट जथाभावी खर्च भइरहेको कर्मचारी बताउँछन् । पुरानै जनप्रतिनिधिले ल्याएको बजेट अहिले सञ्चालन भइरहेको छ तर दोस्रो गाउँसभा अहिलेसम्म हुन सकेको छैन ।

गत वर्ष सरुवा भई आउने बित्तिकै प्रमुख कार्यकारी अधिकृत अमित गिरीलाई एक पक्षले सरुवा गराउन पहल शुरू गरेपछि विवाद शुरू भएको थियो, जुन अहिलेसम्म चल्दैछ । सरुवा गराउने पक्ष पछिल्लो चुनावमा पराजित भएपछि बहुमत उनीहरूको हातमा रहेकोले सबै काममा विरोध हुँदै आएको छ । अहिलेसम्म कार्यालय प्रमुख गिरी गापाको कार्यालयमा गएका छैनन् । गापाध्यक्ष वशिष्ठ गुप्तासँग पनि उनको राम्रो सम्बन्ध छैन । विवादका कारण जथाभावी बजेट खर्च भइरहेको कर्मचारीहरूले बताएका छन् ।

पोखरिया नगरपालिकामा चालू आवमा तीनजना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्, जसले गर्दा निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ । केही समयअघि मन्त्रालयबाट सरुवा भइआएका अधिकृत नपामा रहेको भद्रगोलका कारण हिंडेका थिए । विनातोकआदेश लाखौंको भुक्तानी दिनुपरेको भन्दै लेखा अधिकृतले सरुवा लिई वीरगंज महानगरपालिकामा आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here