काठमाडौं, १४ वैशाख/रासस

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’को समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीवार भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह ‘ए’को विजेता बन्न सफल भयो ।

नेपाल समूह चरणमा अपराजित रह्यो । जीतसँगै नेपालले चार खेलबाट सात अङ्क जोड्यो । समूहमा ‘ए’मा रहेको ओमान छ अङ्कका साथ उपविजेता बन्यो । नेपालले पहिलो खेलमा मलेशियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । साथै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो ।

आजको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । कतारका लागि तीन खेलाडीले मात्र दोहारो अङ्कमा रन बनाए । खुर्रम शाहजाद र जाहिर इब्राहिमले समान १५/१५ रन जोडे भने अमिर फरिकले १४ रन बनाए ।

कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप  लामिछानेले पाँच विकेट लिए भने सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, ललितनारायण राजवंशीले दुर्ई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियोे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२  रनको योगदान दिए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले २७ रन, आशिफ शेखले १९ रन, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ शेखले ११/११ रन बनाए ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदले समान तीन/तीन  विकेट लिए भने गयान मुनबाराले दुर्ई विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here