राधेश्याम पटेल, बारा, १० वैशाख/
बारा क्षेत्र नं २ को उपनिर्वाचन आइतवार शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजे समापन भएको र अनुमानित ६४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए ।
उनले मतदानस्थलबाट मतपेटिकाहरू आउने क्रम जारी रहेको र ६४ प्रतिशत मतदान भएको बताए । मतदान सकिएको र मतपेटिका सङ्कलन भएपछि कलैया उपमहानगरपालिकास्थित शैक्षिक तालीम केन्द्र, गङ्गापुरमा मतगणना हुने निर्वाचन अधिकृत उपाध्यायले बताए ।
यो क्षेत्रमा एक लाख पाँच हजार ११ जना मतदाता छन् । आजको मतदानमा ६८ हजार ८८७ जनाले मतदान गरेको उनले जानकारी गराएका छन । यस क्षेत्रमा कोल्हवी नगरपालिकाको ८ नं वडा, महागढीमाई, पचरौता नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गाउँपालिका गरी छवटा पालिका छन् । यो क्षेत्रमा १३७ वटा मतदान केन्द्र र ८२ वटा मतदानस्थल छन् । उपनिर्वाचनमा ३६ जनाले उम्मेदवारी दिएका थिए भने दुईजनाले उम्मेदवारी फिर्ता लिएका थिए । अहिले राजनीतिक दलबाट १२ जना र स्वतन्त्र २२ जना गरी ३४ जना चुनावी मैदानमा छन् तर उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीको चर्चा छ । यीबाहेकका उम्मेदवारहरूको मतदाताले नाम पनि लिएको पाइएन ।
मतदानको क्रममा दिउँसो जसपाका नेता तथा जिल्ला समन्वय समिति, बाराका सदस्य रामसागर यादवलाई प्रहरीले देवताल गापा–७ पिपराजब्दी मतदान केन्द्रबाट पक्राउ गरेको थियो । सोही क्षेत्रका मतदाता रहेका यादवले मतदानपश्चात् नमूना मतपत्रसमेत मतपेटिकामा खसाउन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी, देवताल गापा–७ बाट प्रहरीले पाँचजना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरू सिराहा, सप्तरीका मैथिलीभाषी भएको बुझिन आएको छ । चुनावमा उपद्रव गर्ने मनसायले उनीहरूको आगमन भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच, निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विज्ञप्ति जारी गरेका छन् । उनले बारा क्षेत्र नं २ मा निष्पक्ष, भयरहित निर्वाचन गराउन मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको र सोबाहेकका आरोपहरू निराधार भएको बताएका छन् ।
जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सामाजिक सञ्जालमार्फत बारा क्षेत्र नं २ को उपनिर्वाचनमा छ स्थानमा बुथ कब्जा हुन सक्ने र प्रहरी प्रशासनको मिलेमतो रहेको आरोप लगाएका थिए । उनको आरोपपछि निर्वाचन आयोगले निष्पक्ष, भयरहित निर्वाचन सम्पन्न गराउन मधेस प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सो क्षेत्रका उम्मेदवार रमेश खरेलले भने निर्वाचन निष्पक्ष भएको बताएका छन् । उपनिर्वाचनको क्रममा आज उनले आफ्नो क्षेत्रमा निर्वाचन निष्पक्षरूपमा भएको बताए । उनले केही मृतक र विदेशिएका मानिसहरूको नाममा मत खसाएको गुनसाो आएको र यसबारे आफूले प्रहरी प्रशासनलाई जानकारी गराएको बताए ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पनि उपनिर्वाचनमा केही ठाउँमा प्रहरी प्रशासनको मिलेमतोमा धाँधली भएको आरोप लगाएका छन् । उनले महागढीमाई नपाका केही बुथ, देवताल गापा, पचरौता नपा–२ गम्हरियामा प्रहरी प्रशासनको मिलेमतोमा सत्तारूढ दलका उम्मेदवारलाई जिताउन धाँधली गरिएको आरोप लगाएका छन् ।