प्रस, वीरगंज, १० वैशाख/
वीरगंज महानगरको नारायणी रङ्गशालामा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वीरगंज महानगरपालिकाले जितेको छ ।
वैशाख ७ र ८ गते भएको प्रतियोगितामा वीरगंजले ३३ स्वर्ण पदक जितेर उपाधि हात पारेको हो । प्रतियोगितामा दश स्वर्णसहित ठोरी गापा दोस्रो र एक स्वर्णसहित बहुदरमाई नपा तेस्रो भएका छन् । प्रतियोगितामा पर्साका १४ वटा पालिकामध्ये चारवटा पालिका मात्र सहभागी थिए ।
वीरगंज महानगरले एथलेटिक्समा १६ स्वर्ण, तेक्वान्दो र सितोरियो कराँतेमा छ/छ स्वर्ण, कबड्डीमा महिला/पुरुष दुवैमा दुई स्वर्ण र भलिबलमा महिलातर्फ एउटा स्वर्ण पदकसहित कुल ३३ वटा स्वर्ण पदक जितेको जिल्ला खेलकूद विकास समिति, पर्साका प्रशिक्षक विजय शाहले बताए ।
प्रतियोगितामा सहभागी पालिकाका विभिन्न विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिएका थिए ।