राधेश्याम पटेल, परवानीपुर, ९ वैशाख/

वैशाख १० आइतवार बारा क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपचुनावको सबै तयारी पूरा भएको छ ।

बारा २ उपचुनावका निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार मतदान केन्द्रको तयारी, मतदान सामग्री, कर्मचारी एवं सुरक्षा प्रबन्ध सबै पूरा भइसकेको बताए ।

उपनिर्वाचनको समयतालिका अनुसार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्न गराउन सबै मतदान अधिकृतलाई निर्देशन दिइएको उनले बताए । “उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न कडा निर्देशन छ, बिहान ७ बजे शुरू गरिहाल्ने र साँझ ५ बजेभित्र मतदान केन्द्र प्रवेश गरेका मतदातालाई मात्र मतदान गराउन निर्देशन दिएको छु,” उनले भने, “यदि कुनै लापरवाही भएमा कानूनबमोजिम कर्मचारीलाई कारबाई गरिनेछ ।” बारा २ को उपनिर्वाचनमा ८२ वटा मतदानस्थल अन्तर्गत १३७ वटा मतदान केन्द्र रहेका जनाइएको छ । ८२ वटा मतदानस्थलमध्ये ६५ वटा मतदानस्थल उच्च जोखिममा तथा १७ वटा सामान्य जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार सुरक्षाका सबै तयारी पूरा भइसकेको छ । उनले बारा २ को उपचुनावलाई लक्षित गर्दै पूर्व–पश्चिम राजमार्गबाहेक बारा जिल्लामा अत्यावश्यक सवारीसाधनबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताए ।

निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायतका सुरक्षा अङ्गले समन्वय गरी सुरक्षा प्रबन्ध मिलाएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

बारा २ को उपचुनावमा एक लाख पाँच हजार मतदाता छन् भने ३४ जनाको उम्मेदवारी रहेको छ । उम्मेदवारी ३६ जनाको परे तापनि दुईजनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here