• प्रवीण मिश्र

एकअर्कासँग कुराकानी गर्नको लागि भाषा अत्यावश्यक माध्यम हो । संसारमा अनेकौं भाषा छन् । फरक भाषाभाषीबीच दुवै पक्षले बुझ्न र बोल्न सक्ने भाषा संवादको माध्यम बन्दछ ।

भाषासँग सम्बन्धित तीतामीठा मनोविज्ञान साझा गर्ने प्रयत्न गरेको छु । बोलेर, पढेर वा लेखेर कुनै विषयमा आफ्नो विचार प्रकट गर्नु सामान्य कुरो होइन । यो आलेख लेखिरहँदा बोध भयो । पढाइबाहेक अतिरिक्त क्रियाकलापको रूपमा आफूले जानेको कुरा लेख्नुपर्छ, बुबाले सधैं भन्नुहुन्छ । बुबा राजेश मिश्र प्रतीक दैनिकका नियमित स्तम्भकार हुनुहुन्छ । उहाँको प्रत्येक लेख म पढ्छु । साथीहरू पनि बुबाको लेख पढ्छन् र मसँग बुबाको प्रशंसा गर्छन् । यी कुराहरूले म बुबाको लेख्ने बानीप्रति आकर्षित र प्रेरित पनि भएको छु । म र बुबाबीच समसामयिक विषयमा छलफल र बहस हुने गर्छ । शायद त्यसैको प्रतिफल आजको यो मेरो प्रथम प्रयास हो ।

नेपालको अभिन्न अङ्ग मधेस मेरो जन्मथलो हो । मातृभाषा भोजपुरी हो । अहिले म बनारस हिन्दू विश्वविद्यालय, वाराणसीमा अध्ययनरत छु । बाल्यकालमा भोजपुरी सुन्दै र त्यसैमा तोते बोली बोल्दै हुर्किएँ । समयक्रममा बुझ्ने, बोल्ने र लेख्ने क्षमता विकसित भयो ।

घरपरिवारमा भोजपुरी भाषामा संवाद हुन्छ । बाल्यकालमा विद्यालयमा भर्ना भएपछि नेपाली र अङ्ग्रेजी भाषामा पढ्ने, लेख्ने र बोल्ने अवसर प्राप्त भयो । हिन्दी भाषा सिनेमा र सिरियल आदि विभिन्न माध्यमबाट सिक्ने अवसर पाइयो । मैथिलीभाषी साथीहरूको सङ्गतले अलिअलि मैथिली बुझ्छु, तर फर्काउन कठिन हुन्छ । बोल्न र बुझ्न नसक्ने भाषाभाषीबीच हुने संवाद नबुझे पनि प्रभावित हुनेगरी मलाई कर्णप्रिय लाग्छ । विभिन्न भाषा बोल्न र उच्चारण गर्न मलाई मन पर्छ ।

कक्षा १२ सम्म वीरगंजमा पढें । काठमाडौं, पोखरा, नारायणघाट आदि शहरहरूको यात्रा गरिसकेको छु । भाषिक उच्चारणकै कारण यात्राको क्रममा कतिपय नमीठा भोगाइसँग पनि साक्षात्कार भएको छ । अहिले वाराणसी बसाइमा छुट्टीको अवसरलाई भारतका विभिन्न राज्यको भ्रमणमा उपयोग गर्न भ्याएको छु । यात्राको क्रममा विभिन्न भाषाभाषी र तिनका लोकसंस्कृति आदिको सौन्दर्य महसूस गर्न र नजीकबाट बुझ्न पाइन्छ ।

भाषाको उच्चारण नितान्त क्षेत्रीय भाषा/मातृभाषामा निर्भर गर्दछ । भारतका हरेक राज्यमा भाषाको उच्चारण गर्ने तरीका फरक पाइन्छ । उदाहरणका लागि हिन्दी भाषाको पञ्जाबमा बेग्लै बोली र उच्चारणहरू छन् । त्यसैगरी, हरियाणा, दिल्ली, कर्नाटक र तमिलनाडू आदि प्रदेशहरूमा उच्चारण गर्ने शैली त्यहाँको भाषाको समतुल्य पाइन्छ ।

त्यसैले मैले महसूस गरेको छु कि मातृभाषाबाहेकका भाषाहरूको उच्चारण मातृभाषाकै शैलीमा स्वस्फूर्त निस्कँदो रहेछ । यो अपरिवर्तनीय शैली हो, परिवर्तन गर्न गार्हो हुन्छ । उत्तर प्रदेश र बिहारको शैलीका हिन्दी उच्चारणलाई अन्य राज्यहरूमा व्यङ्ग्यात्मक दृष्टिकोणले हेर्ने, उनीहरूको मनोभावबाट प्रस्ट झल्किन्छ ।

हामी मधेसवासीहरूको भाषिक उच्चारण सामान्यतया बिहार र उत्तर प्रदेशका मानिसहरूको उच्चारणसँग मेल खान्छ । र यसको शिकार हामी पनि कहिलेकाहीं हुने गर्छौं । मधेस र बिहार तथा उत्तर प्रदेश राज्यका भाषा, संस्कृति र परम्परा समान छन् । त्यस कारण यी तीनै राज्यबीच बिहेवारीको चलन सदियौंदेखि चल्दै आएको छ । त्यसैले दुईतर्फी बिहेवारीलाई रोटीबेटीको सम्बन्धको रूपमा परिभाषित गरिन्छ । हामी सबैलाई थाहा छ– संस्कृति, परम्परा र भाषाको उच्चारण क्षेत्र अनुसार फरकफरक हुन्छ । यहीं कारणले नेपालको तराई क्षेत्रका मानिसहरूको नेपाली भाषाको उच्चारण गर्ने शैली भोजपुरी लयमा प्रकट हुन्छ ।

तराई क्षेत्रमा भोजपुरी, मैथिली, अवधी, अङ्गिका, बज्जिका आदि विभिन्न क्षेत्रीय मातृभाषा बोलिन्छन् । वास्तवमा हेर्ने हो भने मधेसी नेपालीहरूको नेपाली भाषाको उच्चारण र स्वरमा भिन्नता भएझैं नेपाली वा अन्य भाषीहरूले भोजपुरी भाषा उच्चारण गर्दा भिन्नता हुन्छ । भाषाको उच्चारणका कारण होच्याउने वा भेदभाव गरेको पाइन्छ । यसको शिकार बढीजसो आर्थिकरूपमा पिछडिएका सामान्य वर्ग, गरीब र दैनिक ज्यालादारी गर्ने मजदूरहरू हुने गर्छन् । हामीहरू एकअर्काको भाषा र उनीहरूका शैली बुझेर सम्मान गर्नु र सिक्नुको सट्टा एकापसमा उच्चारण र शैलीमाथि औंला तेस्र्याउँछौं । यो आपत्तिजनक विषय हो । यस प्रकारको निरर्थक क्रियाकलापले समाजमा घृणा र भेदभाव मात्र फैलाउँछ । संविधानतः जातजाति, भाषाभाषी, धर्म, लिङ्ग वा कुनै पनि बहानामा कसैले कसैसँग भेदभाव गर्नु कानूनी अपराध हो ।

चलचित्रहरूमा भोजपुरी भाषालाई हाँसोको रूपमा प्रायः दर्शाउने गरिन्छ । समाजमा हरेक वर्गका मानिस बस्ने गर्छन् । ससाना बालबालिकामाथि भाषिक भेदभावले मनोवैज्ञानिक असर पार्न सक्छ । यस कारण पनि भाषिक भेदभाव सिर्जना हुने क्रियाकलाप गर्नु वा गराउनुहुँदैन ।

अर्को पाटोतर्फ विचार गर्ने हो भने भोजपुरी भाषाप्रति भोजपुरीभाषीहरू नै बढी गैरजिम्मेवार देखिन्छन् । कतिपय मधेसी परिवारमा भोजपुरीबाहेक भाषा प्रयोग भएको देखेको छु । त्यस्तै, आजको समयमा पढाइ वा रोजगार आदि विभिन्न कारणले युवावर्ग आफ्नो वातावरणभन्दा टाढा बस्छन् । उनीहरू घर आउँदा त यस्तो लाग्छ कि मातृभाषा बिर्सिसकेका छन् । भोजपुरीभाषीसँग अन्य भाषामा संवाद गरेर के सिद्ध गर्न खोज्छन्, उनीहरू नै जानून् ! यसलाई आफ्नै भाषाप्रति आफैंले अन्याय गरेको किन नमान्ने ? एकजना भोजपुरीभाषीले अर्को भोजपुरीभाषीसँग मातृभाषामा कुरा गर्नु गर्वको विषय हो । सोविपरीत हुनु दुर्भाग्यपूर्ण हो । नेपाल, भारतलगायत देशमा भोजपुरीभाषीहरूको बाहुल्यता छ । यति धेरै भोजपुरीभाषी हुँदाहँुदै भाषाको प्रवद्र्धनतर्फ अग्रसर हुनु सबै पक्षको जिम्मेवारी हो । एकपटक भोजपुरी भाषाको दायरा सङ्कुचित पार्ने कारक तत्व म पनि हुँ कि, आफैसँग प्रश्न गरौं त !

हामी आफ्नो मातृभाषाप्रति गर्व गर्नुको सट्टा आफ्नो भाषा बिर्सेर भोजपुरी भाषाका शत्रु हामी आफैं बन्दैछौंजस्तो लाग्छ । भविष्यमा भोजपुरी भाषा विभिन्न कारणले ओरालो लाग्ने खतरा महसूस गर्दैछु । यसको बढी जिम्मेवार अहिलेको पुस्तालाई भविष्यले ठहर गर्ने सम्भावना प्रबल छ ।

मातृभाषासँग प्रेम गर्नुको अर्थ अरू भाषाभाषीप्रति माया नहुनु कदापि होइन । बरु मातृभाषाबाहेक अन्य भाषा बोल्ने र सिक्ने चेष्टा गर्नुपर्दछ । अर्कोतर्फ मातृभाषा प्रिय भएन भने सुनको लङ्का लोप भएजस्तै हाम्रो भोजपुरी भाषा लोप हुँदैन भन्न सकिन्न । त्यस कारण भोजपुरी भाषाको संरक्षणप्रति सचेष्ट हुनैपर्छ ।

मलाई लाग्छ प्रत्येक भाषा र तिनका उच्चारण अद्भुत र कर्णप्रिय हुन्छन् । कुनै पनि राज्य, भाषा वा देशका जनताले कसैलाई उच्चारण र भाषा अनुसार नराम्रो बोलेर अपमानित गर्नुहँुदैन । देशमा भाषिक विविधता हुनु गर्वको विषय हो । शिक्षित, समृद्ध र सुन्दर शान्त नेपालको चित्र मनमा बनाउनुभन्दा पहिले भाषाको विविधता बुझ्नु एकदमै आवश्यक छ । गोपाल योञ्जनले लेखेको गीतका पङ्क्तिहरू स्मरण गदै बिदा लिन चाहन्छु–

पश्चिम कोही पूर्व घर, आँगन तर एउटै हो,

छरिएर बसे के भो, सन्तान त एउटै हो ।

कर्णाली, महाकाली, कोशी कहीं बाग्मती,

हिमालकै जलधारा एउटैको छ नाम कति ।

चाखी हेर हर खोली, पानी सब एउटै हो,

छरिएर बसे के भो, सन्तान त एउटै हो … ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here