म्यान्माको सेनाले बितेको मङ्गलवार गरेको हवाई हमलामा १३३ जना हताहत भए । मृत्यु हुनेमा महिला र बालबालिकासमेत छन् । सेनाको आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएका र ५० जनाभन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । दुई वर्षअघि सैन्य शक्तिबाट देशको शासन सत्ता कब्जा गरेको सेनाले पहिलोपटक यति घातक एवं भीषण आक्रमण गरेको हो । सैन्य सरकार विरोधी प्रजातन्त्रका पक्षधरहरूले एउटा गाउँमा आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा सैन्य विमानबाट अन्धाधुन्द बमबारी गरेको प्रजातन्त्र पक्षधरको भनाइ छ । त्यहाँका सैन्य सरकारले भने घातक हातहतियारसहित भेला भई सरकारविरोधी गतिविधि गरेकाले कारबाई गरिएको प्रस्टीकरण दिएकोे छ । सरकारविरोधी गतिविधिलाई अझ निस्तेज गरिने सेनाले चेतावनी दिएको छ ।
यसअघि म्यान्माको सैन्य सरकारका प्रमुखले देशभित्र सशस्त्र प्रतिरोध गरिरहेका समूहहरूको गतिविधिलाई “आतङ्क” को सङ्ज्ञा दिंदै उनीहरूमाथि निर्णायक कारबाही गर्ने घोषणा गरेका थिए । सेनाप्रमुख मिन ओङ ह्लाइङले म्यान्मामा मानवअधिकारको अवस्थाबारे प्रश्न उठाउने देशहरूलाई पनि “आतङ्कको मतियार” भएको आरोप लगाएका छन् । सन् २०२१ मा सेनाले देशको शासनसत्ता फेरि आफ्नो हातमा लिएपछि म्यान्मामा गृहयुद्ध चर्किएको हो । यस अवधिमा करीब पाँच हजारजनाको ज्यान गइसकेको छ । १२ लाखभन्दा बढी विस्थापित भएका छन्,भने ७० हजारभन्दा बढीले मुलुक नै छाडिसकेका छन् । जस्तोसुकै क्षति भएपनि म्यान्माको सेनाले आफ्नो शासनको विरोध गर्नेहरूविरुद्धको लडाइँ नरोक्ने चेतावनी दिएको छ । आतङ्ककारीहरूविरुद्ध लड्न महत्वपूर्ण शहरहरूमा सैन्य कानून कडाइपूर्वक लागू गर्ने त्यहाँको सेना प्रमुखले बताए लगत्तै १३३ जनाको ज्यान लिने गरी कारबाई भएको हो । निर्वाचन हुने र निर्वाचित भएर आउने पक्षलाई सत्ता हस्तान्तरण गर्ने घोषना सेना प्रमुख ह्लाइङलले गरेको भए तापनि उनको दमनकारी गतिविधिले घोषणालाई केवल कथनीमा मात्र सीमित राख्ने स्पष्ट छ । द्वन्द्वका कारण चुनाव कहिले हुने निश्चित छैन । चुनाव भइहाल्यो भने पनि सैन्य सरकारको इच्छा बमोजिमको परिणाम आउने पक्का छ । किनभने उक्त मुलुकमा अमेरिकालगायतका ठूला र शक्तिशाली राष्ट्रहरूले जति विरोध गरे पनि सैन्य सरकार टसमस गरेको छैन ।
यद्यपि, म्यान्मामा सेनाविरुद्धको प्रदर्शन जारी छ । प्रजातन्त्र खोज्दै हिंडिरहेका स्वतन्त्र नागरिकमाथि क्रूर सेनाको दमन पनि थपिंदो छ । चीन, थाइल्यान्ड, लाओस्, बङ्गलादेश र भारतजस्ता विशाल राष्ट्रले घेरिएको एउटा सुन्दर मुलुक बर्मा अर्थात् म्यान्मा, जहाँ देशभर गृहयुद्धको राँको दन्किरहेको छ । प्रजातन्त्रका पक्षधरसँगै वषौंखि स्वायत्तताका लागि लडिरहेका जातीय सशस्त्र समूह पनि युद्ध मैदानमै छन् । “म्यान्मारमा सबथोक छ, तर शान्ति र स्वतन्त्रता छैन,” भन्ने विश्वव्यापी स्लोगन नै बनिसकेको छ । सेनाविरुद्धको आन्दोलनको अग्रपङ्क्तिमा वीर गोर्खाली अर्थात् नेपालीभाषी पनि छन् । प्रदर्शनका क्रममा एक दर्जन नेपालीभाषीले पनि ज्यान गुमाइसकेका छन् । यद्यपि लोकतन्त्र पक्षधर मुलुकहरू धेरैले मौनता साँधीरहेका छन् । त्यसमध्येमा हाम्रो मुलुक नेपाल पनि पर्छ । झिक्रले मुढा डढ्छ । प्रजातन्त्रवादी मुलुकहरूले म्यानमाको नरसंहारविरुद्ध आवाज बुलन्द गर्ने हो भने उसले सोच्न बाध्य हुनेछ ।