रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवाद हुँदा दुर्ई पक्षबीच गोली चलेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।
गोली लागेर स्थानीय राजकुमारराय यादवको मृत्यु भएको छ। उनलाई उपचारका लागि वीरगंज पठाउने क्रममा बाटोमा नै मृत्यु भएको प्रउ बुढामगरले बताए। गोली कसले चलायो सोको अनुसन्धान भइरहेको उनले बताए।
गढीमाई नपाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ। गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन्।
प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा पाँचजनालाई नियन्त्रणमा लिएको प्रउ बुढामगरले बताए। घटनामा प्रयोग भएको बन्दूक प्रहरीले बरामद गरेको छ भने घटनाको अनुसन्धान भइरहेको उनले बताए।