प्रस, परवानीपुर, २ वैशाख/

वीरगंजका एकजना युवकको भारतमा रहस्यमय हत्या भएको छ। वीरगंज–१ छपकैया सिसौंबारीका गणेश राउत कुर्मीका जेठा छोरा सोनालाल राउत कुर्मीको एक साताअगाडि रहस्यमय तरीकाले हत्या भएको खबर प्रकाशमा आएको छ।

३२ वर्षीय सोनालाल गत चैत २३ गते दिउँसो १ बजेपछि सम्पर्कविहीन भएका थिए। उनको शव चैत २६ गते बिहान महाराष्ट्रको मुम्बईस्थित कुर्ला स्टेशनबाट रक्सौल–मुम्बई जाने रेलबाट फेला परेको थियो। कुर्ला प्रहरीका अनुसार उनको घाँटी थिचेर टाउकोमा प्रहार गरी हत्या गरिएको थियो। मृतक सोनालालको शवको शल्यपरीक्षण प्रतिवेदन आउन बाँकी छ। शव बरामद भएपछि सोनालालका बुबा गणेश राउतसहित छजना परिवारजन सोमवार मुम्बई गएर शव सनाखत गरी दाहसंस्कार गरेर फर्केका थिए।

परिवारजनले स्थानीय प्रहरीमा छोरा बेपत्ता भएको प्रारम्भिक जानकारी गराइसकेको तर जाहेरी किटानी दिन बाँकी रहेको बुझिएको छ। सोनालालका भाइ सुनीलले दाइको हत्यामा वीरगंज–१ छपकैयाकै ३२ वर्षीय सरफुल्लाह मियाँ पवरिया र ३० वर्षीय रेयाजुल मियाँ अन्सारीको संलग्नता रहेको दाबी गरेका छन्।

सोनालालका यी दुवै साथी अहिले फरार छन्। उनीहरू भारतमैं लुकेर बसेको पीडित परिवारजनको आरोप छ। मृतक सोनालाल पूर्वलागूऔषध प्रयोगकर्ता हुन् र मुम्बई जान रेलमा बस्नुअघि चैत २२ गते बुधवारका दिन दिउँसो तीनैजना खानपिन गरी सोनालालको रु १५ हजार पनि खोसिएको सोनालालकी आमा सरस्वती देवी बताउँछिन्।

मृतक सोनालालका पत्नी निभा देवी र १३ महीने छोरा आदित्य पटेल छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घटनाबारे आफूलाई जानकारी भएको तर सूक्ष्म अनुसन्धानको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here