- विश्वराज अधिकारी
गएको चार/पाँच महीनादेखि हप्ताको दुई/दिन पटक फेसबूकको मेसेन्जरमा उमाशङ्कर द्विवेदी ‘दधीचि’जीसँग एक किसिमले नियमित जस्तो कुराकानी हुन्थ्यो । हामीबीच कुराकानी हुँदा उहाँले मलाई भोजपुरी भाषामा एक संस्मरण पुस्तक लेख्न जहिले पनि आग्रह गर्नुहुन्थ्यो । मैले वीरगंजमा बाल्य र युवाकाल बिताएको उहाँलाई राम्ररी थाहा थियो । मैले माध्यमिक, उच्च माध्यमिक र उच्च शिक्षा पनि वीरगंजमा नै पाएको उहाँलाई राम्रो गरी थाहा थियो । यो कारणले मैले भोजपुरीभाषी समाजलाई राम्रो गरी बुझेको र यो समाजमा विगतमा भएका घटनाहरूलाई मेरो संस्मरणमार्फत मैले राम्रो गरी लिपिबद्ध गर्न सक्छु भन्ने उहाँलाई लागेको थियो ।
संयोग पनि कस्तो १ म र उमाशङ्कर द्विवेदी एउटै विद्यालयमा पढेका थियौं । र त्यो विद्यालय हो, वीरगंजको श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ मावि । एउटै विद्यालयमा पढेकाले हाम्रो भोगाइ र अनुभव समान हुनु स्वाभाविक हो । अनुभव र भोगाइ समान हुनु र हामी दुवै भोजपुरी समाजमा हुर्केका (द्विवेदी जन्मेको)ले हामीबीच कुरा हुँदा, फेसबूकको मेसेन्जरमा नै भए तापनि, लामो कुराकानी हुन्थ्यो । वीरगंजको रेलवे स्टेशन, हिमालय लज, कीर्ति सिनेमा हल, झुलन, अमृत केबिन, हिमाञ्चल केबिन, मीनाबजार आदि आदिलाई विगतबाट तानेर ल्याएर, त्यस उपर कल्पनाले अनेक चित्रहरू बनाएर, त्यस चित्रहरूउपर हामी लामो कुराकानी गथ्र्याैं । कुराकानी गर्दा लाग्थ्यो, हामी वीरगंजको इतिहासको एउटा सानो नै भएपनि, तर हिसा भने हौं ।
‘पूर्ववीरगंजबारे हामीलाई धेरै थाहा भएकाले हामीले उसबेलाको वीरगंजबारे लेख्नुपर्छ । हामीले वीरगंजको इतिहासलाई संरक्षण गर्नुपर्छ । आजको ५० वर्षपछि वीरगंजमा कुनै समयमा रेलवे स्टेशन थियो भन्ने कसैलाई थाहा पनि हुनेछैन ।’ यस्तै–यस्तै हामीबीच कुराकानी हुन्थ्यो । तपाईंको त्यो सपना मैले पूरा गर्न सक्छु वा सक्तिनँ, आउने समयले भन्नेछ । तर वीरगंजबारे भोजपुरीमा एउटा संस्मरण लेख्ने मेरो तीव्र इच्छा भने छ ।
एक वर्ष पहिलेको कुरा हो, म वीरगंज पुगेको थिएँ, अमेरिकाबाट । म अति व्यस्त थिए, अनेक कार्यक्रमहरूमा भाग लिनु थियो, वीरगंजमा । प्रतीक प्रकाशनले नै मेरोलागि एउटा कार्यक्रमको आयोजना गरेको थियो । त्यसका लागि म प्रतीक प्रकाशन समूहका प्रधानसम्पादक जगदीशप्रसाद शर्मा (दाइ)को ऋणी छु ।
त्यसै बेलाको कुरा हो, मलाई उमाशङ्कर द्विवेदीको फोन आयो, “जसरी भएपनि मेरो घर बहुअरी आउनुहोस्, विश्वराजजी, तपाईंसँग कुरा गर्ने इच्छा छ ।”
हामी बहुअरी पुग्यौं । भेटघाट भयो । उहाँले खाजाको व्यवस्था गर्नुभएको थियो । हामी खाजा खान थाल्यौं । सबैजना खाजा खाइरहेका थियौं तर द्विवेदीले हामीसँग खान मान्नुभएन । मैले किन भनेर प्रश्न गरें, उहाँले भन्नुभयो, “हाम्रो संस्कार अनुसार अति प्रिय अतिथिसँग खानुहुँदैन । अति प्रिय अतिथिले खाएको हेर्नुपर्छ । हेरेर प्रसन्न हुनुपर्छ । म त्यही प्रसन्नता प्राप्त गर्दैछु । र यो प्रसन्नताले मलाई सन्तुष्टि दिइरहेको छ ।” धन्य उमाशङ्कर, साँच्चिकै उमाशङ्कर १
उमाशङ्कर द्विवेदीजीले महाप्रस्थान गर्नु केवल एक दिनपूर्व उहाँ र मबीच लामो कुराकानी भएको थियो । “यो पटक पनि मलाई भेट्न जसरी पनि बहुअरी आउनुहोला । र राति मेरो घरमा नै बस्नुहोला,” उहाँले भन्नुभएको थियो । “म त साथमा केही साथीहरू पनि लिएर हिंड्ने गर्छु नि,” मैल भन्दा उहाँले भन्नुभएको थियो, “आउनुहोस्, मकहाँ सुत्ने जति पनि ठाउँ छन् ।” उहाँसँग भएको यो कुरा नै अन्तिम थियो । म सन् २०२३ को जूनमा नेपाल आउँदैछु भन्ने कुरा उहाँलाई थाहा थियो ।
अन्तिम कुरा भएको भोलिपल्ट साँझमा उहाँलाई फेसबूकको मेसेन्जरबाट फोन गरेको थिएँ । फोन उठेन । फोन उठ्नु पनि कसरी ? उमाशङ्कर द्विवेदीले परमपद प्राप्त गरिसक्नुभएको थियो । यो दुःखी संसारलाई त्यागी सक्नुभएको थियो । परमात्मामा लीन भइसक्नुभएको थियो ।
उमाशङ्कर द्विवेदीले, मुमुक्षु दधीचिले, मोक्ष पाउनुहोस् ।