• बैधनाथ श्रमजीवी

यसमा कुनै सन्देह छैन कि मानवको उत्पत्ति विकासको क्रममा स्तनधारी जीव नएअर्थडल समूहको बाँदरबाट भएको हो । लाखौं वर्ष मानवले ज्ञान शून्य भएर अन्धकारमा जीवन बिताउनुपर्दा जीवन व्यवहारमा भोगेका कठिनाइले सिकाएका सङ्घर्ष र प्राप्त गरेका अनुभवले तत्कालीन प्राकृतिक आपदाहरूको सम्बोधनको क्रममा थुप्रै कुराको विकास हुन पुग्यो । तिनै कुराहरूमध्ये जीवन र जगत्सँग सरोकार राख्ने एक हो– दर्शन । वास्तवमा दर्शन के हो त ?

यतिबेला हाम्रो समाजमा दर्शन भन्ने शब्द जीवन व्यवहारमा निकै पटक सुन्ने गरिन्छ । आफूसँग उमेरमा वा ओहदामा रहेका ठूलाबडा मान्छेलाई भेटघाट हुँदा दर्शन भनेर ढोगभेट गर्ने चलन पुरानै रहेको छ । निकै समयको अन्तरालमा कोही भेट हुँदा भन्ने गरिन्छ– निकै पछि दर्शन दिनुभयो । त्यसैगरी, मन्दिरमा देउताको  समेत दर्शन गर्ने चलन रहिआएको छ । वास्तवमा दर्शन भनेको के हो त आउनुहोस्, यसबारे थोरै चर्चा गरौं ।

अहिलेसम्म दर्शन भनेको यही नै हो भनेर कुनै सर्वमान्य परिभाषा छैन । विभिन्न विद्वान्हरूले दर्शनको परिभाषा आआफ्नो हिसाबले गरेको देखिन्छ । साधारणतः दर्शन भन्नाले कुनै व्यक्ति वा विशेष समूहको विचार, सोच र मानसिकता भन्ने बुझिन्छ । जस्तो कि युनानी दार्शनिक एरिस्टोटलका अनुसार पारलौकिक वस्तुहरूको वास्तविक प्रकृति पत्ता लगाउने विज्ञान दर्शन हो । त्यसैगरी, सिसेरोका अनुसार सम्पूर्ण कालाको जननी र दिमागको सच्चा औषधि दर्शन हो । रसलका अनुसार विज्ञानका आधारहरूको तार्किक अध्ययन नै दर्शन हो । त्यसैगरी, जर्मनका दार्शनिक कार्ल माक्र्सका अनुसार हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो ।

यसरी हामी भन्न सक्छौं कि दर्शन भनेको जीवन र जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । अर्थात्  प्रकृति र मानव समाजको भित्री आँखा हो । मानिसहरूले यही आखाले हरेक वस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो धारणा र जीवन व्यवहार निर्धारण गर्छन् ।

शाब्दिक उत्पत्तिको हिसाबले हेर्दा ग्रीक भाषाको एजष्यिक र क्यउजष्ब (प्रेम र विवेक)बाट अङ्ग्रेजीमा एजष्यिकयउजथ हुँदै दर्शन शब्दको व्युत्पत्ति भएको देखिन्छ । मानवदर्शन करीब अढाई हजारदेखि तीन हजार वर्षअघि युनानबाट प्रारम्भ भएको हो । दर्शन शब्दको प्रथम प्रयोगकर्ता पाइथागोरस हुन् भने आदर्शवादी दर्शनको जन्मदाता प्लेटो हुन् । थेल्स प्रथम प्रकृतिवादी युनानी दार्शनिक थिए ।

यस अन्तर्गत हेराक्लिट्स, पाइथागोरस र डेमोक्रेट्सलगायतका दार्शनिकहरू पर्छन् ।

हेगेल अध्यात्मवादमा आधारित द्वन्द्ववादी दार्शनिक थिए भने फायरवाख अधिभूतवादी भौतिकवादी थिए ।

माक्र्सभन्दा अघि थोमस मेन्जर, थोमस मोर, सेन्ट साइमन, चाल्र्स फुरिए र रोबोर्ट ओवेनलगायतका काल्पनिक समाजवादी र मानवतावादी दार्शनिकहरू भेटिन्छन् ।

जर्मन शास्त्रीय दार्शनिक हेगेल र फायरवाखको एकलकाटे द्वन्द्ववाद र भौतिकवादलाई फ्युजन गरेर कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन लेखेका हुन् । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गीय दर्शन हो । यो माक्र्सवादी विश्व दृष्टिकोण पनि हो ।

जीवन र जगत्को अन्तरसम्बन्ध, पदार्थ र चेतनाको अन्तरसम्बन्ध, प्रकृति र समाजलाई सञ्चालन गर्ने चालक नियमहरूको अध्ययन नै दर्शनको क्षेत्र हो । दर्शन क्षेत्रभित्र प्रकृति र मानव समाज एवं चिन्तनका अभिनियमहरूः

पदार्थ र चेतनाबीचको अन्तरसम्बन्धका क्षेत्रहरू र सत्य

वास्तविकताको ज्ञान एवं जीवन र जगत्को विकास वा परिवर्तनका नियमहरूको समग्र पक्षहरू नै पर्दछ ।

मानिसलाई साँचो कुरा बुझ्न, सही दृष्टिकोण वा धारणा निर्माण गर्न, मानव समाज रूपान्तरणको लागि मार्गदर्शन गर्न, चिन्तनका आम नियमहरू लागू गर्न, पदार्थ र चेतनाको अन्तरसम्बन्धको अध्ययन गर्न र समाजको वास्तविकता बोध गर्न दर्शनको महत्वपूर्ण भूमिका रहेको छ । सर्वहारा वर्गीय दर्शनले संसारलाई बुझ्न, व्याख्या गर्न र बदल्न सम्भव बनाएको छ ।

पहिलो कुन हो ? पदार्थ वा चेतना । यसको टुङ्गो लगाउने काम पनि दर्शनले गर्छ ।

चिन्तन र सत्ताबीचको सम्बन्धको प्रश्न नशे दर्शनको मौलिक प्रश्न हो ।

पदार्थ र चेतनामध्ये कुन प्राथमिक हो भन्ने कुराको वकालत गर्दछ ।

विश्व बोधगम्य कि अज्ञेय छ भनेर निष्कर्षमा पुग्छ ।

भौतिक अस्तित्व वा जगत् र चेतना वा ईश्वरबीचको सम्बन्ध निरूपण गर्दछ ।

भौतिकवादीहरूले पदार्थलाई प्राथमिक, अनादि र अनन्त हुनुका साथै यसैबाट चेतनाको जन्म हुने सच्चाइलाई पेश गर्छन् । संसार बोधगम्य भएको वकालत गर्दछ ।

आदर्शवादीहरू यसको ठीक उल्टो चेतना पहिलो तथा संसार जान्न नसकिने बताउँछन् । त्यसै कारण दर्शन मूलतः दुर्ई प्रकारका छन्ः–

१) आदर्शवादी दर्शन

२) भौतिकवादी दर्शन

१) आदर्शवादी वा अध्यात्मवादी दर्शनः–

यो संसार, जगत्, विश्व ब्रह्माण्ड ईश्वर, परमात्मा वा अदृश्य शक्तिबाट पैदा भएको, चेतना वा आत्मालाई सृष्टिको आदितत्व तथा पदार्थको अस्तित्व निर्धारक स्वीकार गर्ने साथै संसारलाई बुझ्न नसकिने र अपरम्पार ठान्ने दर्शन नै आदर्शवादी वा अध्यात्मवादी दर्शन हो । यो दर्शन अनुसारः–

१) चेतना पहिलो वा प्राथमिक, चेतनाले स्वयम् अस्तित्व निर्धारण गर्दछ ।

२) संसार अज्ञेय छ,

३) ईश्वर सर्वशक्तिमान, निराकार, नित्य, अविनाशी र सर्वव्यापी छन् ।

४) ज्ञान ईश्वरबाट प्राप्त हुन्छ ।

५) मानव संसार ईश्वरको रचना हो ।

६) आत्मा अमर रहन्छ, जीवनको पूर्वजन्म र पुनर्जन्म हुन्छ ।

७) धर्मशास्त्रमा लेखिएका कुराहरू सत्य हुन् ।

८) प्रतिक्रियावादी वर्गको हित र पक्षपोषण गर्दछ ।

२) भौतिकवादी दर्शनः–

भौतिक संसारमा पदार्थलाई सृष्टिको आदितत्व तथा चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने अनि संसारलाई बुझ्न विश्लेषण गर्न र बदल्न सकिन्छ भन्ने दर्शन नै भौतिकवादी दर्शन हो ।

भौतिकवादी दर्शन अनुसारः–

१) पदार्थ पहिलो वा प्राथमिक, पदार्थबाट चेतनाको निर्धारण वा विकास हुन्छ ।

२) संसार बोधगम्य वा ज्ञेय छ ।

३) ईश्वर कल्पना हो । अलौकिक र अदृश्य शक्ति छैन ।

४) ज्ञानको स्रोत व्यवहार हो ।

५) समाज वस्तुगत जगत्को विकासको परिणाम हो ।

६) यसले विज्ञानमा विश्वास गर्दछ ।

७) पूर्वजन्म र पुनर्जन्म हँुदैन ।

८) सर्वहारा वर्गको हितको प्रतिनिधित्व र पक्षपोषण गर्दछ ।

प्रत्येक दर्शनमा तीनवटा पक्ष रहने गर्छन् ः–

१)  तत्वमीमांसा ।

२) ज्ञानमीमांसा ।

३) आचार मीमांसा ।

१) तत्वमीमांसा ः–

यस अन्तर्गत जीवन र जगत्सम्बन्धी मान्यता हुन्छन् ।

२) ज्ञानमीमांसा ः–

यस अन्तर्गत ज्ञान र ज्ञानप्राप्तिसम्बन्धी मान्यता हुन्छन् ।

३) आचारमीमांसा ः–

यस अन्तर्गत उक्त दर्शन अँगालेको व्यक्तिले गर्नुपर्ने आचार–व्यवहारका मान्यता हुन्छन् ।

कुराहरू रूपमा जति धेरै भएपनि सारमा प्रत्येक दर्शनले दर्शनको आधारभूत सवालहरूलाई नै हल गर्नुपर्ने हुन्छ । अर्थात् जीवन र जगत्को निर्माण कसरी भयो ? भन्ने आधारभूत प्रश्नबाट दार्शनिक सवालहरूको विकास भएको हो ।

यस आधारभूत प्रश्नका दुर्ई पक्ष छन् ः–

१)  यो संसार कसले बनायो ?

२)  यो संसार कसरी बन्यो ?

यहाँनिर पहिलो प्रश्न कसले बनायो भन्ने प्रश्न कर्तावादी हो । यसमा कर्ताको खोजी हुन्छ र ईश्वर नामको काल्पनिक कर्तामा गएर टुङ्गिन्छ ।

दोस्रो प्रश्न कसरी बन्यो भन्ने प्रश्न कारणवादी हो । यसमा कर्ताको खोजी गरिंदैन । यसमा कारणको खोजी हुन्छ र पदार्थको गतिमा गएर टुङ्गिन्छ ।

यस प्रकार कर्तावादी चिन्तनबाट भाववादी वा अध्यात्मवादी अर्थात् आदर्शवादी दर्शनको विकास भएको र कारणवादी चिन्तनबाट भौतिकवादी वा विज्ञानलाई वा नास्तिक दर्शनको विकास भएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here