प्रस, वीरगंज, २२ चैत/
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बारा क्षेत्र नं २ मा एमालेको जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।
अखिल नेपाल पिछडावर्ग महासङ्घ (ओबिसी)को प्रथम महाधिवेशनको वीरगंजमा उद्घाटन गर्न आएका अध्यक्ष ओली बारा क्ष्Fेत्र नं २ को चुनाव प्रचारका क्रममा आजै गढीमाई नगरपालिकामा नेकपा एमाले बारा जिल्ला कमिटीले आयोजना गरेको क्षेत्रीय कार्यकर्ता प्रशिक्षण भेला कार्यक्रममा सहभागी हुँदै उनले बारा क्ष्Fेत्र नं २ बाट एमाले उम्मेदवार पुरुषोत्तम पौडेलको जीत सुनिश्चित भएको बताए ।
उनले उपेन्द्र यादवलाई लक्षित गर्दै मोरङ, सुनसरीबाट उखेलिएका यादव सप्तरीपछि अब बारा जिल्लामा आएको र यहाँका सोझासाझा जनतालाई झुक्याउने दाउ खेलिरहेको बताए । उनले अहिले बारा क्ष्Fेत्र नं २ मा जातीय नारा चर्काइएको भन्दै यसबारेमा सतर्क रहन सबैलाई सुझाए । उनले जातपात भनेर गरिने प्रेम झूटो भन्दै वर्गीय प्रेम मात्रै सही र साँचो हुने बताए । यादवले जितेर भोकै मर्नुभन्दा अरूले जितेर खानलाउन पाए भएन ? भनेर उनले क्षेत्र नं २ का जनतासँग प्रश्न गरे ।
उपेन्द्र यादव जितेर मन्त्री बन्लान्, फूलमाला लगाउलान् तर उनको जीतबाट देशको विकास हुन्छ भनेर सोच्नु गलत हुने बताए । अध्यक्ष ओलीले एमालेको एउटै उद्देश्य देशबाट गरीबीको अन्त्य रहेको बताए ।
देशमा नेकपा एमालेले कानूनी व्यवस्था, पारदर्शिता र अदालतको सम्मान चाहेको बताए । भर्खरै एकजना युवाले गृहमन्त्री पाउँदा आकाशै खस्ने गरी केही दलले अनेक मुद्दा लगाएर हटाएको आरोप लगाए । उनले अर्कोतिर जनताको मुद्दा नहेरीकन अहिले आफैं जालझेल गरेको मुद्दा हेर्न न्यायाधीशलाई भनसुन गरेको देख्दा कानूनी व्यवस्था नेपालबाट हराउँदै गएको बताए । उनले आफू सरकारमा गयो भने एक महीनाभित्र नागरिकता समस्या समाधान गर्ने बताए । मधेसी नेताहरू नागरिकताको सवालमा पटकपटक सरकारमा गएको तर सत्ता हातमा आएपछि चुप लागेर बसेकोजस्तो कार्य नेकपा एमालेले नगर्ने बताए ।
कलैया उपमहानगरका प्रमुख विनोद साहको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अच्युत मैनाली र रघुवीर महासेठले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि, वीरगंजको नगर सभागृहमा अखिल नेपाल पिछडावर्ग महासङ्घको प्रथम महाधिवेशनको उद्घाटन गर्दै उनले पिछडावर्ग महासङ्घले अरू कुनै जाति, समुदायको अधिकार खोस्नेभन्दा पनि आफ्नो अधिकार र पहिचानको लागि सङ्घर्ष गरिरहेको बताए । उनले सामाजिक कुरीति, विकृति हटाउनको लागि आन्दोलन गर्न पिछडावर्ग महासङ्घलाई सुझाए । सामाजिक आन्दोलनमा एमालेले भरपूर सहयोग र साथ दिने वचन दिए ।
अध्यक्ष ओलीले एमाले सरकारमा भएको बेला तराई–मधेसमा विकासको लहर ल्याएको दाबी गरे । साढे तीन वर्षको एमाले सरकारमा बहुप्रतीक्षित हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग, प्रत्येक पालिकामा स्वास्थ्य संस्था भवन जस्ता राष्ट्रिय गौरवका योजनाहरू ल्याएको बताए । उनले एमाले नेतृत्वको सरकारमा मधेसमा जनता आवास कार्यक्रम ल्याएर हजारौं गरीब, दलितलाई पक्की घर बनाएर दिएको बताए ।
यसैगरी, वीरगंज, जनकपुरजस्ता ठूला शहरमा चार र छ लेनको सडक पनि आफू प्रधानमन्त्री भएको बेलामा निर्माण भएको उनले बताए । एमालेलाई मधेसमा निषेध गर्ने नारा घन्काएको बेलामा एमाले नेतृत्वको सरकारले एक लाख २२ हजार हेक्टर जग्गामा सिंचाइ हुनेगरी सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना ल्याएको पनि बताए ।
ओबिसीका अध्यक्ष तेजप्रकाश निषादको अध्यक्षतामा भएको उद्घाटनसत्रमा सांसद रघुवीर महासेठ, एमाले पर्साका संयोजक डा विश्वम्भर शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।