प्रस, वीरगंज, २२ चैत/
नेपाल टेलिकमले भत्किएको सडक, फूटपाथको मरम्मत कार्य बुधवारदेखि शुरू गरेपछि वीरगंज महानगरले पनि टेलिकम परिसरमा फालेको फोहर उठाएको छ ।
सडक, फूटपाथ मरम्मत नगरेको विरोधमा वीरगंज महानगरपालिकाले नेपाल टेलिकम प्रादेशिक कार्यालय श्रीपुर, वीरगंज कार्यालय परिसरमा मङ्गलवार फोहोर थुपारेर विरोध गरेको थियो । टेलिकमले सडक फूटपाथ मरम्मत कार्य शुरू गरेपछि बुधवार वीरगंज मनपाले पनि टेलिकममा थुपारेको फोहर उठाएको हो ।
वीरगंजको बाइपास सडकमा अप्टिकल फाइबर तार बिछ्याउने क्रममा टेलिकमले कालोपत्रे सडक र फूटपाथ खनेर महीनौंदेखि अलपत्र छाडेको आक्रोशमा मङ्गलवार वीमनपाले सात ट्याक्टर फोहोर टेलिकमको कार्यालय परिसरभित्र लगेर फालेको थियो । महानगरको उक्त कदमपछि टेलिकमले खनेर छाडिएका सडक र फूटपाथ बुधवार बिहानैदेखि मर्मत गर्न थालेको नगरप्रमुख राजेशमान सिंहले बताए ।
मङ्गलवार साँझ टेलिकम प्रादेशिक कार्यालयका प्रमुख अनन्तप्रकाश मल्लिकले महानगरको कार्यालयमा पुगेर सडक र फूटपाथको बाँकी रहेको मर्मत कार्य चैत २७ गतेभित्र पूरा गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।
मल्लिकका अनुसार बाइपास सडकखण्ड अन्तर्गत गण्डक चोकदेखि रजतजयन्ती चोकसम्म तीन सय मिटर फूटपाथ मर्मत गर्न बाँकी रहेको छ । उक्त कार्य चैत २७ भित्र सक्ने गरी मर्मतको ठेक्का सकारेको पाइनस/वनके जेभी कन्स्ट्रक्सनले लिखितरूपमा प्रतिबद्धता जनाएको जानकारी पनि मल्लिकले महानगरपालिकाको कार्यालयलाई गराएका थिए । सोही प्रतिबद्धता अनुसार रोकिएको मर्मत कार्य बुधवार बिहानैदेखि शुरू गरिएको मल्लिकले बताए ।
सडक र फूटपाथ मर्मतको काम शुरू भएपछि टेलिकम परिसरभित्र थुपारेको फोहोर पनि महानगरले बुधवार हटाएको नगरप्रमुख सिंहले बताए ।