प्रस, परवानीपुर, ११ चैत/
वीरगंज महानगरले अहिले वीरगंज महानगरपालिकाका वडा नं १ देखि ३२ सम्मका ऐलानी जग्गा पहिचान गरी नियन्त्रण्मा लिने अभियान चलाएको छ ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले शुरूमा हरि खेतान बहुमुखी क्याम्पसअगाडिको माईराम पोखरी (चिल्ड्रेन पार्क)को अतिक्रमित जग्गामा डोजर चलाएर अतिक्रमित जग्गा खाली गराउने अभियान चलाए ।
त्यसपछि उनले वीरगंजको वडा नं १७ अलौं र १९ विन्ध्यवासिनीमा करीब १६ बिघाभन्दा बढी जग्गा खाली गराए । त्यसैगरी, उनले अब वीरगंजको वडा नं १६ को नगवा–इनर्वामा गौचरणको छ बिघा पाँच कट्ठा र १८ कट्ठाको पोखरीको डिलमा निर्माण भएको अतिक्रमित जग्गा पनि खाली गराउन सूचना दिएका छन् । यही चैत १ गते सूचना टाँस गर्दै १५ दिनमा महानगरको ऐलानी जग्गा खाली गराउन निर्देशन दिएका छन् । १५ दिनमा सो ठाउँ खाली नभए महानगरले डोजर लगाएर खाली गराउने महानगरले जनाएको छ ।
वीरगंज महानगरको सूचनाले इनर्वा गाउँका सुकुमबासीहरू त्रसित बनेका छन् । कतिपय गाउँलेले ऐलानी जग्गामा घर बनाएका र उनीहरूलाई हटाए दर्जनौं परिवारको बिल्लबाठ लाग्ने अनुमान गरिएको छ । सूचनाको समयसीमा समाप्त भएपछि उक्त अतिक्रमित जग्गा खाली गराउन डोजर चलाउने वीरगंज महानगरले जनाएको छ ।