प्रस, पोखरिया, ११ चैत/
उद्योग, पर्यटन तथा वनमन्त्री रहबर अन्सारीले गाउँका शिक्षित व्यक्ति अहिले ठेकेदार भएको बताएका छन् ।
अजिज मियाँ मावि धोबिनीले शनिवार आयोजना गरेको कार्यक्रममा उनले शिक्षाको नीति परिवर्तन गर्नुभन्दा शिक्षित व्यक्तिको मानसिकता परिवर्तन हुनुपर्ने बताए ।
गाउँका शिक्षित व्यक्तिहरूले आफैं सबै जान्ने र अरू कोही व्यक्ति शिक्षा नपाओस् भन्ने मानसिकता बोकी हिंडेका कारण शिक्षामा आशाप्रद प्रगति हुन नसकेको उनले बताए ।
उनले वातावरण संरक्षणका लागि सबैलाई बोटबिरुवा रोप्न सुझाए । उनले पहाडका जनताले बोटबिरुवा रोपी हरियाली बढाउने तर तराईका जनताले बोटबिरुवा नष्ट गरेर उर्वर भूमिलाई मरुभूमिमा परिणत गरिरहेको दोषारोपण लगाए ।
वडाध्यक्ष मनवर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा शेख चाँदतारा, वडाध्यक्ष बन्धु साह, सलाउद्दीन अहमद, प्रअ जीतेन्द्र राम, वाइसिएलका केन्द्रीय सदस्य सन्तोष पटेल, सरोज पटेल, दुगड गु्रपका अधिकृत सन्तोष यादव, इन्जिनीयर रामबाबू पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दुगड ग्रुपका अधिकृत यादवले विद्यालयलाई रु ५१ हजार सहयोग गरेका थिए ।
कार्यक्रमको सहजीकरण आरिफ अन्सारीले गरेका थिए भने स्वागत धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवाज हुसेनले गरेका थिए ।